दक्षिण कोरियामा १५ लाख श्रमिक तलब पाउनबाट वञ्चित
साउल । रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियामा १५ लाखभन्दा बढी मजदुरले तलब पाउन नसकेको तथ्यांक सार्वजनिक भएको छ ।
यहाँको श्रम मन्त्रालयको तथ्यांक अनुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको तलब हिसाब गर्दा ७.१७ ट्रिलियन वोन हुन आउँछ । सन् २०१६ मा मात्र ३ लाख २५ हजार ४३० जनाले नपाएको ज्याला १.४३ ट्रिलियन पुगेको थियो ।
यसैगरी, सन् २०१९ मा ३ लाख ४४ हजार ९७७ जनाले पाउनुपर्ने १.७२ ट्रिलियन वोन पुगेको छ । त्यसैगरी, सन् २०२० को ८ महिनामा कामदारलाई नदिएको ज्याला ८९० बिलियन वोन छ ।
यसरी ज्याला नपाउने कामदारमा सबैभन्दा धेरै उत्पादनमूलक कम्पनीमा छन् भने दोस्रो स्थानमा निर्माण, खुद्रा व्यापार, होटल, रेस्टुराँमा छन् । सन् २०१९ मा मात्र ५ जना वा सोभन्दा कम कामदार भएका कम्पनीमा बाँकी ज्याला ५४५.६ मिलियन वोन छ भने ५०० भन्दा धेरै कामदार भएका ठूला कम्पनीबाट तिर्न बाँकी रहेको ज्याला ६० बिलियन पुगेको छ ।
पछिल्लो समय कामदारको ज्याला रोकिनुमा विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस पनि प्रमुख कारण देखिएको छ । यसले विश्व अर्थतन्त्रमा मन्दी आएको छ ।
आर्थिक संकट झेलिरहेका कम्पनीलाई सरकारले आर्थिक सहयोग गरेर भए पनि कामदारले पाउनुपर्ने ज्याला नरोक्न सुझाव दिएका छन् । यहाँको रिपब्लिक जनशक्ति पार्टीका नेता किम सुङ–वानले कामदारको ज्याला समयमा भुक्तानी नगर्ने रोजगारदातालाई जरिवाना समेत तिराउनुपर्ने सुझाव दिएका छन् ।
यो तथ्यांक बाहिरए पनि झण्डै ५० हजार बढी नेपालीले रोजगारी गरिरहेको देश दक्षिण कोरियामा नेपालीहरू हालसम्म बेतलबी बस्नुपरेको त्यस्तो उल्लेख्य घटना देखिएको छैन । तथापि, अहिलेसम्म कोरियामा काम गरिरहेका नेपाली कामदारले भने तलब नपाएका खासै गुनासा आएका छैनन् । रासस























