मेलानिया ट्रम्पलाई युक्रेनको सर्वोच्च महिला सम्मान
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पलाई देशको सर्वोच्च महिला सम्मान प्रदान गरेका छन् ।
राष्ट्रपति जेलेन्स्कीको आदेशअनुसार मेलानिया ट्रम्पलाई ‘अर्डर अफ प्रिन्सेस ओल्गा’ प्रथम श्रेणीको सम्मानबाट विभूषित गरिएको हो ।
युक्रेनमा मानवीय सहायता पुर्याउन उनले गरेको महत्त्वपूर्ण व्यक्तिगत योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको जनाइएको छ ।
यो घटनाक्रम युक्रेनको दक्षिणी क्षेत्र खेरसोनमा युद्धविराम समाप्त भएपछि सार्वजनिक भएको हो । युद्धविरामका क्रममा रुसको कब्जामा रहेको ओलेश्की सहरबाट सयौँ मानिसलाई सुरक्षित उद्धार गरिएको थियो ।
मेलानिया ट्रम्पको निमन्त्रणामा रुस र युक्रेनका प्रतिनिधिमण्डल बिहीबार ह्वाइट हाउसमा भेटवार्ता गर्ने भएका छन् । बैठकमा नागरिकको उद्धार अभियानमा सहभागी सदस्यहरूका साथै दुवै देशका वरिष्ठ अधिकारीहरू पनि सहभागी हुनेछन् ।
ह्वाइट हाउसका अनुसार मेलानिया ट्रम्पले युद्धमा संलग्न दुवै देशबीच संवादको पहल स्वतन्त्र रूपमा गरेकी थिइन् र युद्धविराम गराउन सफल भएकी थिइन् ।
ह्वाइट हाउसले यसलाई कुनै अमेरिकी प्रथम महिलाले गरेको उत्कृष्ट कूटनीतिक पहलको संज्ञा दिएको छ । रुस र युक्रेन दुवै पक्षले युद्धविराम गराउन मेलानिया ट्रम्पको भूमिकाका लागि पटक९पटक धन्यवाद दिएका छन् ।























