आणविक ऊर्जा विशेषज्ञता विकास गर्दै सिङ्गापुर
सिङ्गापुरले ऊर्जा उत्पादनका लागि उन्नत आणविक प्रविधिको उपयुक्तता मूल्याङ्कन गर्दै यस क्षेत्रमा स्थानीय विशेषज्ञता विकास गर्न जनशक्ति विकाससम्बन्धी तीन योजना सुरु गरेको छ।
सिङ्गापुरको ऊर्जा, व्यापार तथा उद्योग मन्त्रालय र ऊर्जा बजार प्राधिकरणले सोमबार जारी गरेको संयुक्त विज्ञप्तिअनुसार, यी योजनाले सन् २०२७ मा अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को एकीकृत आणविक पूर्वाधार समीक्षा मिसनका लागि देशलाई तयार पार्नसमेत सहयोग गर्नेछन्।
सिङ्गापुरले आणविक ऊर्जा अपनाउने वा नअपनाउने भन्ने निर्णय गरिसकेको छैन। यद्यपि, यससम्बन्धी आन्तरिक क्षमता विकास गर्नु र नागरिक प्रयोजनका लागि आणविक ऊर्जा प्रविधिको विकासबारे जानकारी हासिल गर्नु सूचित निर्णय लिन महत्वपूर्ण रहेको दुवै निकायले जनाएका छन्।
तीन योजनामध्ये सिङ्गापुर आणविक जनशक्ति विकास कार्यक्रम सन् २०२७ मा सुरु हुनेछ। यस कार्यक्रमले व्यवस्थित जनशक्ति विकासका माध्यमबाट सरकारी निकाय र प्रमुख अन्तरराष्ट्रिय आणविक संस्थाबीच क्षमता अभिवृद्धिसम्बन्धी साझेदारी स्थापना गर्नेछ। कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयन गरिनेछ।
त्यसैगरी, आणविक जनशक्ति विकास कार्यक्रम (उद्योग) अन्तर्गत सिङ्गापुरमा रहेका छनोट गरिएका कम्पनीका कर्मचारीलाई अन्तरराष्ट्रिय साझेदारसँगको तालिम तथा उद्योगसम्बन्धी कार्यक्रममा सहभागी हुन आर्थिक सहयोग उपलब्ध गराइनेछ। कर्मचारीलाई निमन्त्रणाका आधारमा छनोट गरिनेछ ।
तेस्रो योजना सिङ्गापुर फ्युचर इनर्जी फेलोसिप हो। यसअन्तर्गत अन्तरराष्ट्रिय ऊर्जा क्षेत्रका विज्ञहरूलाई सिङ्गापुरमा आमन्त्रण गरी दीर्घकालीन ऊर्जा नीति तथा आणविक ऊर्जासहित न्यून कार्बन उत्सर्जन गर्ने प्रविधिबारे स्वतन्त्र रणनीतिक परामर्श उपलब्ध गराइनेछ।






















