बैंकहरूले असाेज महिनामा पनि ब्याज दर घटाए
काठमाडौं । असोज महिनाका लागि वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर घटेर ४.०८ प्रतिशत कायम गरेका छन। १६ वटा वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन।
कुमारी बैंक, नबिल बैंक, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने ब्याज दर घटाएका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर प्रभु बैंकले दिएकाे छ भने कुमारी बैंकले सबैभन्दा कम ३.७३ प्रतिशत ब्याजदर दिने भएको छ। बैंकिङ प्रणालीमा १५ खर्बभन्दा बढी ऋणयोग्य रकम थुप्रिए पनि कर्जा माग नबढ्दा अधिक तरलताकाे अवस्था घट्न सकेको छैन।
बैंकिङ स्राेतका अनुसार असोज महिनाका लागि वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर घटेको छ । भदौ महिनामा ४.१३ प्रतिशत रहेको वाणिज्य बैंकहरुमा निक्षेपको औसत ब्याजदर ४.०८ प्रतिशत कायम भएको छ ।
बैंकहरुले हरेक महिनाको अन्तिम दिन आगामी महिनाका लागि ब्याजदरको सूची प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएकाे छ । सोही व्यवस्थाअनुसार बैंकहरुले आज असाेज १ गतेदेखि लागू हुनेगरि ब्याजदर प्रकाशित गरेका छन् ।
जसमा १६ बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर राखेका छन् । ४ वटा बैंकले ब्याजदर घटाएकाे ती बैंकहरूले प्रकाशित गरेकाे सुचनाबाट देखिन्छ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिइरहेकोभन्दा एक प्रतिशत बिन्दुले बढी ब्याज रेमिट्यान्स निक्षेपमा दिन पाउने सुविधा राष्ट्र बैंकले यसअघि नै निर्देशन दिएको छ ।
नयाँ ब्याज दरअनुसार असोजमा निक्षेपकर्ताले वाणिज्य बैंकहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर अधिकतम ४.५५ प्रतिशत ब्याज पाउनेछन् ।
सबैभन्दा धेरै ब्याज दिने बैंकमा प्रभु बैंक देखिएकाे छ । कुमारी बैंकले निक्षेपमा सबैभन्दा कम ३.७३ प्रतिशत मात्रै ब्याजदर दिएको छ ।
विगत तीन वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलता रकम थुप्रिएको छ । तरलता व्यवस्थापन लागि नेपाल राष्ट्र बैंकले निरन्तर बजारबाट पैसा तान्दै आएको छ ।
यद्यपि अहिले पनि बैंक तथा वित्तीय संस्थामा १५ खर्बभन्दा बढी ऋण दिनयाेग्य निक्षेप रकम थुप्रिएको छ । विगत दुई वर्षदेखि नेपालमा निक्षेप र कर्जाकाे ब्याजदर इतिहासकै न्यून हुँदा पनि कर्जा माग बढ्न नसक्दा अधिक तरलता कायम छ । आर्थिक गतिविधि सुस्त हुँदा र लागत खर्च बढदा अर्थतन्त्र शिथिल छ।























