Everest Bank
nabil bank
national life
stcnepal long ad

सार्वजनिक प्रशासनको मूल्यबोध

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरेको ३६औं आधारभूत प्रशासनिक तालिम (ब्याट) का कर्णाली समूहका प्रशिक्षार्थीहरूसँग निजामती सेवामा रहँदा मैले लिएको मूल्य र अनुभव सेयर गर्ने अवसर दिइएको थियो ।

कर्णाली समूहका प्रशिक्षार्थीहरूले समूहगत छलफलबाट निजामती सेवाका व्यावसायिकता, परिवर्तनशीलता, नागरिक सन्तुष्टि, सक्षमता र प्रभावकारिता तथा नवपरिवर्तनशीलता जस्ता समष्टिपरक मूल्यहरू पहिचान गरेका थिए । पाँच शीर्षकभित्र प्रशिक्षार्थीहरूले मेहनतसाथ निजामती सेवाका गुढ मूल्यहरू अटाएका थिए ।

उनीहरूको ज्ञानले मलाई सन्तुष्ट बनायो र भविष्यप्रति आशा पनि जगायो । उनीहरूको साथमा सवा एक घण्टाजति मैले मेरो समग्र अनुभवलाई प्रशासनिक मूल्यको विकास, परिवर्तन र द्वन्द्व गरी तीन शीर्षकमा प्रस्तुत गरेको थिएँ ।

सार्वजनिक मूल्यको चिनारीः

सार्वजनिक मूल्यको विकास सार्वजनिक जीवनको पहिलो दिनबाटै सुरु हुन्छ । मैले २०४५ सालको ब्याटबाट नै निजामती सेवाका मूल्यहरू सिकेको थिएँ । वास्तवमा, सार्वजनिक प्रशासन मूल्यमा आधारित प्रशासन प्रणाली हो । मूल्य व्यक्ति, समूह र संगठनको व्यवहारलाई मार्गनिर्देशन गर्ने आधारभूत तत्वहरू हुन् ।

सार्वजनिक मूल्यको सर्वमान्य परिभाषा पाइँदैन । मूल्यमा त्यस्तो गुण हुन्छ, जसले व्यक्ति, पदाधिकारी वा समूहलाई ठीक र बेठीक कार्यका लागि प्रेरित गरिरहेको हुन्छ । सार्वजनिक मूल्य, आचरण, नैतिकता र संगठनात्मक संस्कृति व्यक्ति, संगठन र समाजको व्यवहारलाई मार्गनिर्देशन गर्ने सिद्धान्तहरू हुन् ।

सार्वजनिक सेवामा प्रवेश गरेर सार्वजनिक कुर्सीमा बसेपछि कर्मचारीलाई सार्वजनिक जिम्मेवारी, सार्वजनिक अधिकार, सार्वजनिक पैसा, सार्वजनिक सूचना र सार्वजनिक समय एकसाथ प्राप्त हुने गर्छ । कर्मचारीले बोकेको मूल्यले उसको कार्यसम्पादन प्रक्रिया र क्षमतालाई गाइड गर्छ । वास्तवमा कर्मचारीले लिएको मूल्यले नै कर्मचारीको महत्व उजागर गर्छ र एउटा अलग पहिचान दिन्छ ।

कर्मचारीले बोकेको मूल्यले उसको कार्यसम्पादन प्रक्रिया र क्षमतालाई गाइड गर्ने भएकाले नै एउटा अलग पहिचान दिन्छ

म्याक्स वेवरको वेवरियन कर्मचारीतन्त्रले पदसोपान, निष्पक्षता, इमान्दारिता, तटस्थता, योग्यता, अवैयक्तिकता, नामरहितता, गोप्यता, सक्षमता, कार्यविधितताजस्ता मूल्यहरू जन्मँदा नै लिएर आएका थिए । कर्णले कानमा कुण्डल ल्याए झै, हरेक उद्देश्य प्राप्तिका लागि गरिने प्रत्येक उद्यममा मूल्यसँगै टाँसिएर रहेको हुन्छ ।

हरेक व्यक्तिका आआफ्ना व्यक्तिगत मूल्यहरू हुन्छन् । कोही कमजोरलाई सहयोग गर्ने ‘दयालुपन’का हुन्छन् भने कोही आफ्नो तर्कमा अडान राख्ने ‘अडिलो’ हुन्छन् । कोही ‘जसोजसो बाहुन बाजे उसोउसो स्वाहा’ गर्ने निर्देशन पालक हुन्छन् । कसैलाई ‘आफ्नोलाई भनेपछि नियम कानुन केही पालना गर्नैपर्दैन’ भन्ने लाग्छ । कोही विधि र प्रक्रियामा अलिकति पनि लचकता नल्याउने ‘कानुन्ची’ खालका हुन्छन् ।

हरेक संगठनका आफ्नै आदर्श मूल्यहरू रहेका हुन्छन् । कुनै पनि संगठनले भ्रष्ट हुन, समय पालना नगर्न वा नराम्रो व्यवहार गर्न सिकाउँदैन । मूल्यहरूमा सदैव सकारात्मक चरित्र रहेको हुन्छ । सार्वजनिक मूल्य हरेक पेसा र हरेक निकायमा फरकफरक हुन्छन् ।

डाक्टरको, वकिलको, शिक्षकको र सरकारी कर्मचारीको मूल्य फरकफरक हुन्छन् । सार्वजनिक प्रशासनका हरेक मन्त्रालय, निकायका मूल्यहरू पनि फरकफरक हुन्छन् । गृह मन्त्रालयले शान्तिसुरक्षा कायम गर्न गर्ने कार्य र महिला मन्त्रालयले गर्ने कार्य फरक हुन्छ ।

अर्थ मन्त्रालय, गृह मन्त्रालय, महिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी, जिम्मेवारी पूरा गर्ने प्रक्रिया र सरोकारवालाको पृष्ठभूमिमा मूल्यहरू फरक पाइन्छन् । विकास कार्यालयहरूले साझेदारी, सहकार्यको मूल्य विकास गरेका हुन्छन् । महिला मन्त्रालयले गैरसरकारी निकाय, समुदायसँग साझेदारी र सहकार्यमा कार्यक्रमहरू सञ्चालन गर्छन् भने गृह मन्त्रालयले आफ्नो जिम्मेवारी पूरा गर्न प्रहरी प्रशासन परिचालन गर्ने गर्छ ।

सुशासनका खम्बाहरू सार्वजनिक प्रशासनका मूल्यहरू हुन् । सार्वजनिक प्रशासनका लागि अमेरिकी समाजले प्रशासनिक मूल्यहरूका व्यक्तिगत मूल्य, संगठनात्मक मूल्य, पेसागत मूल्य, कानुनी मूल्य तथा नागरिक चाख मूल्य गरी पाँचवटा स्रोत पहिचान गरेको देखिन्छ ।

त्यस्तै, क्यानेडियन सार्वजनिक प्रशासनले नैतिकता, प्रजातान्त्रिक, व्यावसायिक तथा कर्मचारीमूलक मूल्यहरू गरी प्रशासनिक मूल्यहरूलाई मुख्य चार भागमा बाँडेको पाइन्छ । नैतिक मूल्यअन्तर्गत निष्ठा, निष्पक्षता, उत्तरदायित्व, लगनशीलता, श्रेष्ठता, सम्मान, इमान्दारिता तथा सत्यता जस्ता मूल्यहरू पर्छन् ।

प्रजातान्त्रिक मूल्यअन्तर्गत विधिको शासन, तटस्थता, समानता, खुलापन, उत्तरदायित्व, प्रतिनिधित्व र वैधानिकताजस्ता मूल्यहरू पर्छन् । व्यावसायिक मूल्यअन्तर्गत सक्षमता, प्रभावकारिता, नवपरिवर्तन, गुणस्तर, सिर्जनशीलता, उत्तरदायित्व र श्रेष्ठता पर्छन् । यसैगरी, कर्मचारीका लागि हेरचाह गर्ने, शालीनता, सहनशील, निष्पक्ष, करूणा, साहसिक परोपकारी र मानवीय भावजस्ता मूल्यहरू पर्छन् । सबै सार्वजनिक प्रशासन यिनै मूल्यहरूको सेरोफेरोमा चल्ने गर्छन् ।

सार्वजनिक मूल्यको महत्वः
सार्वजनिक प्रशासन अर्थात् व्यावसायिक जीवनमा मूल्यहरूको महत्व अहम् र गहन हुन्छ । सार्वजनिक मूल्य व्यक्ति तथा संगठन दुवैको चिनारी हो । संगठनमा मूल्यमा आधारित आचरण विकास गरिएका हुन्छन् । आचरणले हरेक कर्मचारीलाई मूल्यअनुरूप कार्यसम्पादन र व्यवहार प्रदर्शन गर्न प्रेरित गर्छन् ।

सार्वजनिक मूल्यहरूले प्रशासनलाई अनुशासित, इमान्दार, नैतिकवान् र कर्तव्यपरायण बनाउँछ । स्वःसचेत बनाइ निर्णयात्मक एवं नैतिक द्विविधा हटाउँछ । सार्वजनिक सेवाको अर्थ दिन्छ । प्रशासनप्रति नागरिकको विश्वास बढाउँछ । मूल्यले कार्यसम्पादनलाई प्रत्यक्ष वा परोक्ष रूपमा सकारात्मक रूपमा प्रभावित गर्छन् ।

कार्यसम्पादनको दौरान राजनीतिक, आर्थिक तथा सामाजिक मूल्यहरूबीच अन्तक्र्रिया हुन्छ । त्यतिबेला सुपेरियर अधिकारले मूल्यलाई डोमिनेट गरेको अनुभूति हुन जान्छ । व्यक्तिमा शक्तिको अगाडि एउटा मूल्य र आफू शक्तिशाली भएको अवस्थामा अर्को मूल्य देखाउने द्वैधमूल्य चरित्र रहने अनुभव पनि गर्न पाइन्छ ।

साथै, अवसरको अगाडि मूल्य समर्पण गर्ने प्रवृत्ति पनि व्यक्तिमा पाइन्छ । सार्वजनिक जीवन अर्थात् पदमा रहेको व्यक्ति आफ्नो कर्म र व्यवहारप्रति सधैं उत्तरदायी हुनुपर्छ । अर्थात्, मूल्यले प्राप्त सार्वजनिक अधिकार, पैसा, सूचना र समय प्रयोग तथा प्रयोग गर्दा देखाउने व्यवहारप्रति प्रयोगकर्ता स्वयं उत्तरदायी र जवाफदेही हुनुपर्ने माग गर्छ ।

सार्वजनिक मूल्यको विकास र स्थानान्तरणः
मानव जीवनमा मात्र नभएर संगठनको जीवनमा पनि ‘मूल्य विकास’ र ‘स्थानान्तरण’ निरन्तर चलिरहने प्रक्रिया हो । मूल्यको जननी घरपरिवार हो । व्यक्तिले घर, समूह र समाजसँगको संगत र अन्तक्र्रियाबाट मूल्यहरू सिक्ने र स्थानान्तरण हुने गर्छ । प्रचलित कानुन, सामाजिक तथा संगठनात्मक संस्कृति र आचरणजस्ता तत्वहरूबाट पनि मूल्य सिक्ने, सर्ने गर्छ । मूल्य व्यक्तिगत, समुदाय र समाजको आफ्नै प्रकारको हुन्छ ।

पेसाहरूको पेसागत मूल्य हुन्छ । सार्वजनिक सेवामा प्रवेश गर्दा कर्मचारीले आफ्ना मूल्य मान्यता लिएर प्रवेश गरेको हुन्छ । कुन मूल्य ग्रहण गर्ने र कुन मूल्य पालना गर्ने भन्ने विषय नितान्त व्यक्तिगत विषय हो । व्यक्तिले आफ्ना मूल्यहरूका अतिरिक्त संगठनमा प्रवेश गरेपछि साथीहरूसँगै बसेर विभिन्न समूहगत र सार्वजनिक मूल्यहरू सिक्ने, आन्तरिकीकरण गर्ने, पालना गर्ने र अभ्यास गर्ने गर्छ ।

परिवर्तनशील सार्वजनिक मूल्यः
सामान्यतया सार्वजनिक मूल्यहरू कठोर र स्थायी हुन्छन् । सार्वजनिक प्रशासनले काम गर्ने वातावरण परिवर्तनशील भएकाले मूल्यहरू पनि गतिशील एवं परिवर्तनशील हुन्छन् । शासन व्यवस्था, कानुन, सामाजिक सांस्कृतिक अवस्था, सूचना सञ्चार प्रविधि तथा नागरिक चेतना, नागरिकको चाहना आवश्यकता र मागमा आउने परिवर्तन, विश्वव्यापीकरण, प्रशासन सुधार तथा सार्वजनिक प्रशासनको सैद्धान्तिक परिवर्तन, बजारतन्त्रमा आधारित सुधार, कार्यसम्पादन प्रक्रियामा आउने परिवर्तन तथा नैतिकताको खोजीे जस्ता तत्वहरूले सार्वजनिक प्रशासनका मूल्यहरू पनि परिवर्तन भएको पाइन्छ ।

प्रशासनिक मूल्य विकास झै मूल्य परिवर्तन पनि निरन्तर चलिरहन्छ । नेपालको सार्वजनिक प्रशासनमा राणाकालमा प्रशासन शासकमुखी मूल्य लिएर बाँचेको थियो । पञ्चायतकालमा शासन व्यवस्थाप्रति प्रतिबद्ध मूल्य लिएर हुर्कियो ।

प्रजातान्त्रिक शासन व्यवस्थामा पारदर्शिता, उत्तरदायित्व, सहभागिता, विविधताको सम्मान, कानुनको शासन, उपलब्धिमूलक प्रशासनजस्ता मूल्यहरू विकास भए । नयाँ सार्वजनिक व्यवस्थापनको अवलम्बन तथा प्रजातन्त्रमा बजार प्रणाली मिसिएपछि ‘भ्यालु अफ मनी’ ९सार्वजनिक बजेटको मूल्य०, प्रभावकारिता र सक्षमताजस्ता मूल्यहरू अगाडि आए । विश्वव्यापीकरणले अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्नुपर्ने भएपछि ग्लोबल मूल्यहरू सिक्नु र काम गर्नुपर्ने बनायो ।

नयाँ सार्वजनिक सेवाले सेवाग्राहीको तुलनामा नागरिकको मूल्य उठायो । गणतन्त्र र संघीयता शासन प्रणालीमा आइपुग्दा सार्वजनिक प्रशासनमा समानुपातिक समावेशी, विविधता व्यवस्थापन, नागरिकको सम्मान, ज्ञान व्यवस्थापन, नैतिकता प्रवद्र्धन, कार्यक्षेत्रमा आध्यात्मिकता, इनोभेशनजस्ता मूल्यहरू थपिँदै र अभ्यास हुँदै गयो ।

सार्वजनिक मूल्यमा पाइने द्वन्द्व र चुनौतिः

विभिन्न परिस्थितिमा राजनीतिक, आर्थिक तथा सामाजिक मूल्यहरू र पेसागत मूल्यहरूबीच द्वन्द्व हुन जान्छ । मूल्य द्वन्द्व खासगरी व्यक्ति आफैंभित्र, अन्तरव्यक्ति तथा व्यक्ति र संगठनबीच हुने गर्छ । द्वन्द्वको पहिलो कारण कर्मचारीको व्यक्तिगत मूल्य र संगठनको मूल्यबीचको फरकपन हो । दोस्रो, निर्वाचित राजनीतिज्ञले इमोसनल मूल्य लिएर आउने र नियुक्त कर्मचारीका विधिमूलक मूल्य हुने कारण मूल्य टकराव हुन्छ । निर्वाचित पदाधिकारी आफ्नो मूल्यमा अडिग रहने र कर्मचारी सहजै आफ्नो र पेसागत मूल्य छाड्न वा सम्झौता गर्न नचाहने वातावरणमा द्वन्द्व हुन्छ ।

तेस्रो कारण, राजनीतिको स्वार्थ र प्रशासनको स्वार्थ मिलेन भने पनि द्वन्द्व हुन्छ । भिन्नभिन्न मूल्यबीचको द्वन्द्वले प्रशासनिक कार्यसम्पादनमा नकारात्मक प्रभाव पार्छ । मूल्य द्वन्द्वको व्यवस्थापन गर्न नयाँ वा साझा मूल्य विकास गर्ने गरिन्छ । साझा मूल्यले संगठनमा साझा शक्ति निर्माण गर्छ र संगठनलाई ऊर्जावान् र उत्पादक बनाउँछ ।

मूल्य द्वन्द्वसँगसँगै मूल्य चुनौतिहरू पनि हुन्छन् । संगठनात्मक मूल्यको विकास, परिमार्जन र वितरण तथा मूल्यको पालना गर्नु/गराउनु पहिलो चुनौति हो । परम्परागत प्रशासन प्रणालीदेखि आधुनिक डिजिटल युगसम्म आइपुग्दा निजामती सेवाको अगाडि मूल्यहरूको चाङ बनेको छ । मूल्यहरूको साङ्लोमा प्रशासन जकडिन पुग्यो भने कार्यसम्पादन राम्रोसँग गर्न सक्दैन ।

संगठनमा विकास गरिएका मूल्यहरू सार्वजनिक नीतिहरू सार्वजनिक निजी साझेदारी, सहकारी समुदाय वा एजेन्सीमार्फत गराउँदा मूल्यहरूको पालना कमजोर हुन सक्छ । त्यस्तै, कर्मचारीतन्त्र नागरिकको चित्त बुझाउने कि, सरकारको पारदर्शिताको पालना कि, राष्ट्रिय सूचना संरक्षण, सामाजिक सेवा कि, बजार प्रणलीको पालनाजस्ता चुनौतिहरू मूल्यसँग जोडिएर आउने गर्छन् ।

मूल्यमा आधारित व्यवस्थापनः
मूल्यहरूको व्यवस्थाले मात्र निजामती सेवा प्रभावकारी हुँदैन । त्यसको इमान्दार पालना पनि हुनुपर्छ । वेवरियन कर्मचारीतन्त्र आदर्श मूल्यमा आधारित हुँदाहँुदै पनि आशातित रूपमा कार्य गर्न असक्षम बन्दै गयो । अनुत्पादक संगठनात्मक मूल्यहरू परिवर्तनयोग्य बनेपछि नयाँनयाँ मूल्यहरू विकास, परिवर्तन र वितरण हुँदै गए । प्रशासनिक समाजमा मूल्यमा आधारित व्यवस्थापनको अभ्यास बढ्यो । संगठनमा नेतृत्वलाई मूल्यको स्रोत मानिन्छ । मूल्यमा आधारित नेतृत्वले मात्र मूल्य विकास र अभ्यास गर्न/गराउन सक्छ ।

मूल्यमा आधारित व्यवस्थापनमा नेतृत्वले साझा मूल्यको विकास र वितरण गर्छ । त्यसका आधारमा संगठनले उत्पादक कार्य गर्छ भन्ने विश्वास बढेको छ । मूल्यमा आधारित व्यवस्थापनको पहिलो उद्देश्य नेतृत्वको निर्णय प्रक्रिया र काम गराइलाई सकारात्मक गाइड गर्नु हो भने दोस्रो उद्देश्य संगठनका कर्मचारीहरूको व्यवहारलाई निर्देशन गर्नु हो ।

तेस्रो उद्देश्य, संगठनमा पाइने विविधताको व्यवस्थापन गरी एकीकृत ऊर्जा हासिल गर्नु हो भने चौथो उद्देश्य, संगठनको लक्ष्य प्राप्त गर्न संगठनको प्रचारात्मक क्षमता वृद्धि गर्नु हो । पाँचौं उद्देश्य ‘टिम स्प्रिट’ संगठित र प्रभावकारी बढाउनु हो भने छैठौं उद्देश्य मूल्य कथनहरूको प्रकाशन, मूल्यसम्बन्धी कर्मचारीका लागि तालिम सेमिनारको व्यवस्था, मूल्यहरूको समसामयिक मूल्यांकन र परिमार्जन गर्नु हो ।

सारमा, मूल्य आधुनिक संगठनको आधारभूत तत्व भएको छ । परिवर्तनको पृष्ठभूमिमा भविष्यमा निजामती सेवाको सफलताका लागि नवपरिवर्तन, लचकता, निष्पक्षता, निर्णायकता, सक्षमता, विशेषज्ञता, जोखिममूखी, तटस्थ, पारदर्शी, सहभागितामूलक, उत्तरदायित्व र परिणाममूलकजस्ता मूल्यको आवश्यकता पर्ने पनि स्पष्ट देखिन्छ । कर्मचारीको व्यवहारलाई निर्देशित गर्न नेतृत्वका लागि सुसंगत मूल्य विकास गर्न चुनौतिपूर्ण देखिन्छ । अर्थपूर्ण मूल्य विकास र वितरण गर्न सहज पनि छैन ।

कर्मचारीको व्यवहारलाई मूल्यले मात्र होइन व्यावसायिक नैतिकता, कानुन, राजनीतिक सामाजिक कार्य वातावरणले पनि प्रभावित गरिरहेको हुन्छ । संगठनात्मक मूल्यको विकास परम्पराबाट भएको भए पनि सामाजिक राजनीतिक एवं प्राविधिक क्षेत्रमा आएको आमूल परिवर्तनले मूल्यहरू निरन्तर विकास र परिमार्जन भएका छन् । संगठनको सफलताका लागि मूल्यमा आधारित सार्वजनिक प्रशासनको रूपान्तरण नै आजको आवश्यकता हो ।

२१ फागुन २०७९, आइतवार ०८:१६ बजे प्रकाशित

stcnepal long ad