citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

वित्तीय साक्षरतामा ग्लोबल ‘मनी विक’

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

‘द अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट’ (ओइसिडी) ले सन् २००२ मा पहिलो पटक वित्तीय साक्षरताको महत्वलाई औपचारिक रूपमा आत्मसात् गर्दै वित्तीय शिक्षा प्रवर्धनलाई व्यापक बनाउने योजना अगाडि सार्‍यो । सन् २००८ मा उक्त परियोजनालाई विस्तार गर्दै ओइसिडीले ‘वित्तीय शिक्षाका लागि अन्तर्राष्ट्रिय सञ्जाल’ स्थापना गर्‍यो ।

त्यसयता ओइसिडीले वित्तीय साक्षरता प्रवर्धनका निम्ति विभिन्न नीतिगत र कार्यगत प्रयास गर्दै आएको छ । हाल विश्वका १३१ मुलुकका केन्द्रीय बैङ्क, वित्तीय क्षेत्रका नियामक र सुपरिवेक्षकीय निकाय, अर्थ मन्त्रालय, शिक्षा मन्त्रालयलगायत करिब तीन सय संस्था यो सञ्जालमा आबद्ध छन् ।

उक्त सञ्जाल मार्फत ओइसिडीले वित्तीय साक्षरता प्रवर्धनमा भएका अन्तरदेशीय अनुभव र असल अभ्यासको आदानप्रदान, नीतिगत व्यवस्थाको तुलनात्मक अध्ययन, निर्दिष्ट व्यवस्थाको प्रभावकारी कार्यान्वयन र अनुगमनका सम्बन्धमा सञ्जालका सदस्य संस्थाहरूबिच सहकार्यको मञ्च तयार गरेको छ । त्यसैको एउटा अग्रणी प्रयास हो– ‘ग्लोबल मनी विक’ । प्रारम्भिक चरणमा ‘चाइल्ड एन्ड युथ इन्टरनेसनल’ नामक संस्थाले अगाडि सारेको ग्लोबल मनी विकलाई ओइसिडीको संयोजनमा विश्वव्यापी रूपमा मनाइँदै आएको छ ।

के हो ग्लोबल मनी विक ?

ग्लोबल मनी विक विशेषतः बालबालिका र युवामा वित्तीय शिक्षाको आवश्यकता र महìवबारे जागृत गराउँदै वित्तीय साक्षरता अभिवृद्धि गर्ने एउटा विश्वव्यापी अभियान हो । युवामा वित्तीय सेवाका ज्ञान, सिप र मनोवृत्ति सुधार गर्दै विवेकशील वित्तीय निर्णय लिन सक्षम तुल्याउनु यसको प्रमुख उद्देश्य हो । साथै, वित्तीय शिक्षा प्राप्त भएसँगै उनीहरूले भविष्यमा त्यसको प्रतिफलस्वरूप वित्तीय लाभ पनि हासिल गर्न सकून् भन्ने ध्येय यो अभियानले राखेको छ ।

ओइसिडीको आह्वानमा हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा ग्लोबल मनी विक मनाउने गरिन्छ । सन् २०१२ देखि यो अभियान सञ्चालन हुँदै आएको छ । हालसम्म ग्लोबल मनी विकका ११ वटा संस्करण पूरा भएका छन् ।

यो अवधिमा विश्वका १७६ मुलुक यस अभियानमा आबद्ध भइसकेका छन् । विश्वका करिब छ करोड बालबालिका र युवाले यो अभियानबाट लाभ लिएको ओइसिडीले जनाएको छ । ओइसिडीका अनुसार गत वर्ष सञ्चालित ग्लोबल मनी विकमा ४० हजार ४१६ वटा संस्था जोडिएका थिए ।

ग्लोबल मनी विकको तेह्रौँ संस्करण गत चैत ५ ९मार्च १८० देखि सुरु भएको छ । यो अभियान चैत ११ ९मार्च २४० सम्म जारी रहने छ । मनी विकको यस वर्षको नारा ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ तय गरिएको छ ।

यसको सन्देश चाहिँ आफुसँग भएको वित्तीय स्रोत (पैसा) को सुरक्षित व्यवस्थापन र सम्भावित जोखिमबाट त्यसलाई जोगाउनेतर्फ सजग गराउनु हो । पछिल्लो समय वित्तीय क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिमा आधारित वित्तीय सेवा ९फिनटेक० को विस्तारसँगै जोखिमको सम्भावना पनि उत्तिकै बढ्दो छ ।

डिजिटल माध्यमबाट हुने ठगी र जालझेलको सिकार बनेका घटना सतहमा आइरहेका छन् । यसो हुनुमा वित्तीय ग्राहक वा उपभोक्तामा कमजोर र सीमित वित्तीय साक्षरताको स्तरलाई नै मुख्य कारक ठानिएको छ । यस वर्षको नाराको सन्देश पनि त्यस्ता सम्भावित ठगीबाट सुरक्षित रहनका लागि सजग तुल्याउनु हो ।

ग्लोबल मनी विकको स्थायी नारा हो, ‘लर्न, सेभ, अर्न’ अर्थात् ‘सिक, बचत गर र आर्जन गर’ । मनी विकको अभियान अन्तर्गत सन् २०१७ मा तय गरिएको सन्देशलाई नै ओइसिडीले स्थायी नाराको रूपमा स्थापित गरेको हो ।

यो नाराको मूल सन्देश चाहिँ बालबालिका, किशोरकिशोरी र युवाले बुद्धिमत्ता र सुझबुझका साथ वित्तीय ज्ञान सिप हासिल गरून्, जसबाट बचत तथा लगानी गर्न सकून् र त्यही लगानीबाट भविष्यमा आफ्नो र परिवारका निम्ति आयआर्जन पनि गर्न सकून् भन्ने हो । ग्लोबल मनी विक अन्तर्गत बालबालिका र युवा लक्षित वित्तीय साक्षरता प्रवर्धनका विभिन्न कार्यक्रम आयोजना गरिन्छन् ।

वित्तीय साक्षरतासम्बन्धी कार्यशाला, चित्रकला, निबन्ध लेखन, श्रव्यदृश्य सामग्रीको प्रदर्शन, बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी, मुद्रा सङ्ग्रहालय, धितोपत्र कारोबार हुने संस्थाको अवलोकन भ्रमण जस्ता कार्यक्रमलाई यस अभियानले समेट्दै आएको छ । यसै गरी, वित्तीय साक्षरता ¥याली, साक्षरता मेलालगायतका प्रवर्धनात्मक कार्यक्रम यसमा समेटिँदै आएका छन् ।

ग्लोबल मनी विक आरम्भ भएको पहिलो वर्ष नेपाल यसमा सहभागी थिएन । सन् २०१३ देखि भने नेपालले यो अभियानमा सक्रिय सहभागिता जनाउँदै आएको छ । केन्द्रीय बैङ्कका रूपमा नेपाल राष्ट्र बैङ्कले ग्लोबल मनी विकको राष्ट्रिय संयोजन गर्दै आएको छ ।

यो अभियानमा वित्तीय क्षेत्रका अन्य नियामक निकाय, नेसनल बैङ्किङ इन्स्टिच्युट, बैङ्क तथा वित्तीय संस्था, मर्चेन्ट बैङ्कर, धितोपत्र दलाल कम्पनी, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले विद्यालय र कलेज स्तरका विद्यार्थीको सहभागितामा वित्तीय चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

ग्लोबल मनी विक, अभियानको पहिलो दिन राष्ट्र बैङ्कले काठमाडौँका सात वटा विद्यालयका कक्षा ७ देखि १२ का पाँच सयभन्दा बढी विद्यार्थीको सहभागितामा वित्तीय चेतनामूलक कार्यक्रम सञ्चालन गर्‍यो । कार्यक्रममा राष्ट्र बैङ्कबाट हुने नियामकीय र सुपरिवेक्षकीय कारबाही, बैङ्क तथा वित्तीय संस्थाको सेवा प्रवाह, धितोपत्र, बिमा र सहकारी क्षेत्रका आधारभूत विषयवस्तुबारे विद्यार्थीहरूलाई जानकारी दिइएको थियो ।

वित्तीय साक्षरताको महत्व र सान्दर्भिकता

विश्व बैङ्कद्वारा प्रकाशित हुने वित्तीय समावेशीकरणसम्बन्धी प्रतिवेदन ‘ग्लोबल फिन्डेक्स डेटाबेस, २०२१’ अनुसार, विकासोन्मुख अर्थतन्त्रका ७१ प्रतिशत वयस्क जनसङ्ख्यामा औपचारिक बैङ्क खाताको पहुँच पुगेको छ । अर्थात् विकासोन्मुख अर्थतन्त्रका अझै २९ प्रतिशत वयस्क जनसङ्ख्या औपचारिक वित्तीय सेवाबाट विमुख छन् ।

यसै गरी, विश्वभर ७६ प्रतिशत वयस्क जनसङ्ख्यामा मात्र वित्तीय सेवाको पहुँच रहेको उक्त प्रतिवेदनले देखाएको छ । विश्व बैङ्कका अनुसार विश्वभर अझै एक अर्ब ४० करोड वयस्क जनसङ्ख्या औपचारिक वित्तीय सेवाबाट विमुख छन् । सन् २०११ र २०१७ मा यो सङ्ख्या क्रमशः दुई अर्ब ५० करोड र एक अर्ब ७० करोड थियो ।

नेपाल राष्ट्र बैङ्कले सन् २०२१ मा गरेको वित्तीय पहुँचसम्बन्धी अध्ययन अनुसार नेपालको ६७।३ प्रतिशत वयस्क जनसङ्ख्याको बैङ्क खाता रहेको पाइएको छ । अध्ययन अवधिमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थामा कायम रहेका कुल निक्षेप खातामध्ये निक्षेपकर्ताको तीनपुस्ते विवरणका आधारमा एउटा मात्र खातालाई गणना गर्दा उक्त नतिजा आएको हो ।

यसै गरी, राष्ट्र बैङ्कले २०७९ पुस महिनामा सार्वजनिक गरेको ‘नेपालमा वित्तीय साक्षरतासम्बन्धी सर्वेक्षण’ अनुसार राष्ट्रियस्तरमा वित्तीय साक्षरता दर ५७।९ प्रतिशत रहेको पाइएको छ । वित्तीय ज्ञान, वित्तीय व्यवहार र वित्तीय मनोवृत्तिलाई  वित्तीय साक्षरताका तीन मुख्य आयामको रूपमा लिने गरिन्छ ।

यस अन्तर्गत वित्तीय ज्ञान ४७.३ प्रतिशत, वित्तीय व्यवहार ६३.५ प्रतिशत र वित्तीय मनोवृत्तिको प्रवृत्ति ६४.१ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी १८ वर्ष माथिका ९,३६१ जनामा गरिएको उक्त सर्वेक्षण अनुसार वयस्क जनसङ्ख्याको २७.५ प्रतिशतले मात्र वित्तीय साक्षरताका तीन वटै आयाममा न्यूनतम अङ्क प्राप्त गरेका छन् ।

प्रदेश स्तरमा बागमती प्रदेशमा सबैभन्दा बढी ६४.५ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम ५२ प्रतिशत वित्तीय साक्षरता रहेको सर्वेक्षणले देखाएको छ । नेपालमा वित्तीय साक्षरताको स्तरलाई उकास्न अरू धेरै प्रवर्धनात्मक प्रयास गर्नुपर्ने आवश्यकतालाई यो नतिजाले इङ्गित गर्छ ।

वित्तीय सेवाको पहुँचलाई गरिबी निवारणको प्रभावकारी माध्यमको रूपमा स्वीकार गरिएको छ । राज्यका सबै तह र तप्कामा वित्तीय सेवाको पहुँच विस्तार गरी वित्तीय समावेशीकरणको लक्ष्य हासिल गर्नका निम्ति पहिलो खुट्किलोका रूपमा वित्तीय साक्षरतालाई लिने गरिन्छ ।

जब किशोरकिशोरी र युवा वर्ग वित्तीय रूपमा साक्षर बन्छन्, तब उनीहरू वित्तीय सेवा र वित्तीय प्रणालीप्रति थप जागरुक हुन थाल्ने छन् । त्यसबाट उनीहरूमा सुझबुझपूर्ण ढङ्गले वित्तीय निर्णय लिन सक्ने क्षमता विकास हुने छ । यसले अन्ततः उनीहरूमा उद्यमशीलतातर्पm अग्रसरसमेत गराउने छ । त्यसैले वित्तीय साक्षरतालाई युवापुस्ताको भविष्यको मार्गचित्र कोर्ने सशक्त माध्यमको रूपमा लिइन्छ ।

ग्लोबल मनी विकको अभियानलाई बालबालिका र युवामा केन्द्रित गर्नुको मूल ध्येय पनि यही हो । त्यसमा पनि साक्षरता अभियानमा यो उमेर समूहका पुस्तालाई लक्षित गर्दा उनीहरूले सिकेको वित्तीय ज्ञानरसिप तिनका साथी समूह र परिवारका सदस्यसम्म छिटो प्रसार भई यसको प्रभावकारिता थप अभिवृद्धि हुने भन्ने अपेक्षा पनि राखिन्छ ।

वित्तीय साक्षरता प्रवर्धनका निम्ति नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कमार्फत नीतिगत र कार्यगत प्रयास हुँदै आएका छन् । ती प्रयासलाई थप परिणाममुखी बनाउनुपर्ने अहिलेको आवश्यकता हो । विशेषतः हाल सहर र सहरोन्मुख क्षेत्रमा केन्द्रित रहेको वित्तीय चेतनामूलक कार्यक्रमलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्ने देखिन्छ ।

साथै, वित्तीय साक्षरतालाई विद्यालय पाठ्यक्रममा समावेश गरी बालबालिकालाई आधारभूत तहदेखि नै वित्तीय शिक्षाको जग बसाल्न प्रयास हुनुपर्ने छ । पछिल्लो समयमा भुक्तानी कारोबारमा डिजिटल माध्यमको प्रयोग दिनानुदिन लोकप्रिय बन्दै गएको छ । यसै सन्दर्भमा सम्भावित वित्तीय ठगी र जोखिमबाट सेवाग्राहीलाई सुरक्षित तुल्याउन डिजिटल वित्तीय साक्षरतालाई पनि थप परिणाममुखी बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

सूचना तथा सञ्चार प्रविधिको विस्तारसँगै सामाजिक सञ्जालको प्रयोगमा आमसर्वसाधारणको पहुँच व्यापक बन्दै गएको छ । अतः वित्तीय चेतना अभिवृद्धिमा टेवा पुग्ने सूचना, जानकारी र श्रव्यदृश्य सामग्रीलाई सामाजिक सञ्जालमार्फत नियमित प्रकाशन र प्रसारण गर्नु पनि एउटा सशक्त प्रयास हुने छ ।

वित्तीय साक्षरता प्रवर्धनका निम्ति हालसम्म भएका र आगामी दिनमा हुने प्रयासलाई सार्थक र परिणाममुखी तुल्याउन तीन वटै तहका सरकार, राष्ट्र बैङ्क, पुँजी बजार र बिमा क्षेत्रका नियामक निकाय, बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्किङ वित्तीय संस्था, सहकारी संस्था र गैरसरकारी संस्थाहरूबिच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता देखिन्छ ।

himalayan life insurance
igi long