sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

अर्थतन्त्र सुधारको प्रभाव

Nimb long ad
Prabhu Insurance Long Ad

सरकार परिवर्तन र मुलुकले नयाँ अर्थमन्त्री पाएसँगै सेयर बजारमा केही रौनक देखिएको छ । अर्थमन्त्रीले सेयर बजारका विषयमा दिएको सकारात्मक वक्तव्य र अर्थ मन्त्रालयले सेयर बजार सुधारका लागि नियमनकारी निकायसँग सुझाव मागेको विषय र आगामी दिनमा सेयर बजारको सुधारका लागि आएका सुझावको आवश्यक कार्यान्वयन हुने आशाले पनि बजारमा थप उत्साह थपिएको छ ।

सेयर बजारमा सुधारकै निरन्तरता दिँदै आइतबार सेयर बजारमापक नेप्से परिसूचक २२।१० अङ्कले उकालो लागेर दुई हजार ५२.६५ को बिन्दुमा पुगेर रोकिएको थियो । साताको अन्तिम दिन बिहीबार नेप्से २७.८४ अङ्कले ओरालो लागेर २०८०/८७ को बिन्दुमा पुगेर रोकिएको छ । बजारमा किन्नेभन्दा बिक्री गर्ने लगानीकर्ता हाबी भएकाले बजार ओरालो लागेको हो ।

सेयर बजारमा बढोत्तरीका लागि आवश्यक विषय भनेको लगानीकर्ताको मनोबल उच्च बनाउनु र बजारमा लगानीयोग्य रकमको जोहो बढ्दै जानु नै मुख्य हो । बैङ्क वित्तीय संस्थाहरूसँग लगानीयोग्य रकम बढ्दै जानु निक्षेप र कर्जाको ब्याजदरमा कमी आउँदै जाने अवस्था बजारको हितमा नै देखिन्छ । अन्य कर्जा सस्तिएको अवस्थामा सेयर कर्जा पनि सस्तिने निश्चित छ, जसले सेयर धितो कर्जाको माग बढ्दै गएको सङ्केत देखिन थालिएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङक अनुसार गत पुस महिनामा तीन अर्ब अनि माघ महिनामा मात्रै एक अर्बले सेयर धितो कर्जा बढेको छ । माघसम्ममा ८५ अर्ब १७ करोड रुपियाँ सेयर धितो कर्जा गएको पाइएको छ ।

विगतमा बजार उच्च बिन्दुमा रहँदा यस्तो कर्जा एक खर्ब २५ अर्बको हाराहारीमा पुगेको थियो भने अबको बुलमा यस्तो कर्जाको आधार दुई खर्बको नजिक पुग्ने अनुमान गर्न सकिन्छ । सेयर धितो राखेर लिइएको कर्जा सेयर बजारमा नै बढी मात्रामा जाने आशा गर्न सकिन्छ । यसरी सेयर बजारमा लगानीयोग्य रकमको मात्रा बढ्दै जानुले आगामी दिनमा सेयर बजार माथि जान सहज हुने आशा गर्न सकिन्छ ।

सेयर बजारमा माथि जाने आधार हेर्दा सबैभन्दा महत्वपूर्ण विषय राम्रा र उच्च प्रतिफल दिन सक्ने कम्पनीको सेयरहरू पनि निकै सस्तोमा अझै पाइने अवस्था नै हो । त्यसका अतिरिक्त निक्षेपको ब्याजदर कम हुनु र लगानीको अन्य सम्भावना खासै नहुनुले बजार लगानीकर्ताको आकर्षण आगामी दिनमा अझै बढ्ने अनुमान गर्न सकिन्छ ।

सरकारले विगतमा ल्याएको व्यक्तिगत कर्जा चार करोडसम्म र तीन वटा बैङ्कबाट १२ करोडसम्म मात्र सेयर धितो कर्जा लिन पाउने नीतिका कारण बजारमा गिरावट देखिन थालेको अवस्थालाई परिवर्तन गर्दै राष्ट्र बैङ्कले सेयर धितो कर्जामा लिएको खुकुलो नीतिका कारण बजारमा सकारात्मक प्रभाव देखिन थालेको छ ।

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरेकाले पनि यस्तो कर्जामा मागमा वृद्धि आएको हो । जसको सकारात्मक प्रभाव कर्जाको प्रभावमा बढोत्तरी र समग्र बजारमा त्यसको सकारात्मक प्रभाव पर्दै गएको देखिन्छ ।

नेपाली सेयर बजारको प्रमुख हिस्सा ओगट्दै आएको बैङ्क तथा वित्तीय संस्थाको बढेको खराब कर्जाको कारण त्यस क्षेत्रको आकर्षण कम भएको अवस्था हो अहिले । दिएको कर्जाको धितो बलियो हुनु र खराब कर्जाका लागि नाफाबाट पर्याप्त रकम छुट्याइएको कारण नै नाफा नदेखिने अवस्थाको रिपोर्ट सार्वजनिक भइरहेको अवस्थाबाट आगामी दिनमा खराब कर्जा उठने मात्र होइन खराब कर्जाका लागि छुट्याएको रकम पनि नाफामा आउने हुँदा बैङ्क तथा वित्तीय संस्थाहरूको सेयरको अवस्था बजारमा हल्ला गरिए झैँ खराब नभएको स्पष्ट हुन्छ ।

त्यसै गरी जीवन तथा निर्जीवन बिमा कम्पनीहरूको कारोबारमा उल्लेख्य वृद्धि भएको नपाइए पनि उनीहरूसँग भएको कोषको सही सदुपयोग गरेको अवस्थाको उचित प्रतिफल दिन सक्ने अवस्था सिर्जना हुने निश्चित छ ।

सरकारको अर्थमन्त्री २०६८ सालमा वर्षमान नै हुँदा विश्वव्यापी अर्थतन्त्रमा देखिएको मन्दी र हाल अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा पनि विश्वव्यापी आर्थिक मन्दी र नेपालमा त्यसको असर न्यून गर्दै जानुपर्ने चुनौती छ ।

अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकारले राजस्व सङ्कलन बढाउने मात्र होइन पुँजीगत खर्च बढाएर विकास निर्माणको काममा तीव्रता दिन सक्नुपर्ने चुनौती छ, त्यसमा अर्थमन्त्री कति सफल हुनुहोला सो भने समयले बताउने विषय हो । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक ९एफडिआई० झन्डै पाँच गुणाले बढेको पाइएको छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म पाँच अर्ब १८ करोड रुपियाँ एफडिआई भित्रिएको छ । गत वर्ष सो अवधिमा एक अर्ब चार करोड रुपियाँ भित्रिएको थियो । नेपालमा लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधारका कारण वैदेशिक लगानी बढ्दै गएको र सरकारले आगामी वैशाख १६ र १७ गते आयोजना गर्न लागेको लगानी सम्मेलनका कारण पनि नेपालमा थप लगानी भित्रिने र त्यसले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

नेपालमा भएको पर्याप्त ऊर्जाको उपलब्धि, अन्तर्राष्ट्रिय श्रम बजारको हिसाबले नेपालमा अझै सस्तो श्रमको उपलब्धि र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले आवश्यक नियम कानुन बनाउन प्रतिबद्धता जनाउनुले नेपालमा विदेशी लगानी थप आकर्षित हुने सम्भावना बढेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा रेमिट्यान्स २१।६ प्रतिशतले बढेर आठ खर्ब ३९ अर्ब पुग्नु, चालु खाता एक खर्ब ६१ अर्बले बचतमा रहनु कुल विदेशी विनिमय सञ्चिति झन्डै साढे १८ खर्ब पुग्नु, मूल्यवृद्धि पाँच प्रतिशतको हाराहारीमा झर्नु जस्ता विविध कारण मुलुकको अर्थतन्त्र थप चलायमान बनाउन सकारात्मक पक्ष हुन्, जसको असर नेपाली सेयर बजारमा पनि सकारात्मक नै पर्ने निश्चित छ ।

समग्रमा हालको सेयर बजारमा रहेको सबै कम्पनीको सेयर लगानीयोग्य छ भन्ने होइन तर निकै राम्रो प्रतिफल दिने कम्पनीहरूको सेयर पनि सस्तोमा पाइने अवस्था विद्यमान नै रहेको छ ।

लगानीका लागि बैङ्क तथा वित्तीय संस्थाको निक्षेप र अन्य लगानीको क्षेत्रभन्दा सेयर बजारको लगानीतर्फ लगानीकर्ताको आकर्षण अझै बढ्दै जाने निश्चित देखिएको छ । सरकारको बजार सुधारका लागि आएको प्रतिबद्धताले पनि बजारलाई थप उचाइमा पु¥याउन मद्दत पुग्ने देखिन्छ ।

prabhu bank
nawakantipur long