citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेपाल यूएईसँग पराजित, सकियो एसिया कप खेल्ने सम्भावना

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा यूएईसँग पराजित भएको छ । नेपाल यूएईसँग ६ विकेटले पराजित भयो ।

जितसँगै यूएई फाइनलमा प्रवेश गरेको छ । उसले ओमान र हङकङबीचको सेमिफाइलको विजेतासँग उपाधिका लागि भिड्नेछ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा भएको आजको खेलमा जितका लागि नेपालले प्रस्तुत गरेको  एक  सय २० रनको लक्ष्य यूएईले १७  दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो ।

योसँगै नेपालको एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ । प्रिमियर कपको विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ ।

यस प्रतियोगिताको विजेताले सन् २०२५ मा हुने टी–२० एसिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देश एसीसी इमर्जिङ टिम्स कपमा छनोट हुने छन् ।

यूएईका लागि अलिसान शराफूले अर्धशतकीय पारी खेले । उनले ४१ बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५५ रन बनाए ।

साथै विष्णु सुकुमरनले २८, सइद हैदरले १४, मुहम्मद वासिमले ११, आसिफ खानले १० रनको योगदान दिए । नेपालका लागि गुलसन झाले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक(एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङ कमजोर रह्यो । नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा जम्मा एक सय १९ बनाउन सक्यो ।

पारीको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटका रुपमा ओपनर आशिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमायो ।

त्यसपछि सन्दीप जोराले अर्धशतकीय पारी खेल्दै खेल अगाडि बढाउने प्रयास गर पनि अन्य ब्याटरले साथ दिन सकेनन् । जोराले ४० बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५० रन बनाए । गुलसन झाले २० रन र करन केसीले १७ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

कप्तान रोहितकुमार पौडेल १८ बलमा जम्मा पाँच रन बनाएर आउट भए । कुशल मल्लले तीन, दीपेन्द्र सिंह ऐरीले पाँच, सोमपाल कामीले दुई रन मात्रै बनाउन सके । अविनास बोहोराले एक र ललित राजवंशीले दुई रन बनाए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा यूएईका लागि जुनैद सिद्दिकी, अली नासिर र बासिल हमिदले दुई(दुई विकेट लिए भने ओमिद साफी रहमान, आयान अफजल खान र मुहम्मद फरुकले एक(एक विकेट लिए ।

नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो ।

त्यसैगरी युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो । आजै हुने अर्को सेमिफाइनलमा ओमान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।

gold
himalayan life insurance long ad