आज लक्ष्मीपूजा: साँझ ५ः३८ देखि ७ः३४ बजेसम्म उत्तम साइत
काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहार अन्तर्गत आज कात्तिक २२ गते आइतबार साँझ लक्ष्मी पूजा मनाइँदैछ । घर-घरमा दीप प्रज्वलन गरी धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी माता लक्ष्मी तथा भगवान गणेशको पूजा–आराधना गरेर लक्ष्मीपूजा मनाउने परम्परा छ ।
आजकै दिन बिहान कुकुर तिहार, नरक चतुर्दशी, सुखरात्रि तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती समेत मनाइँदैछ ।
लक्ष्मीपूजाको दिन साँझ घर, पसल, कार्यालय तथा विभिन्न व्यावसायिक प्रतिष्ठानमा दीप प्रज्वलन गरी लक्ष्मीको स्वागत गर्ने चलन छ । घरको सरसफाइ गरी झिलिमिली बत्ती र दियो बाल्ने, मूलढोकादेखि पूजाकोठासम्म लक्ष्मीको पाइला बनाउने तथा मिठाई र फलफूल चढाएर पूजा गर्ने धार्मिक परम्परा छ ।
धार्मिक मान्यताअनुसार लक्ष्मीपूजाको रातलाई महानिशाको रातसमेत भनिन्छ । यस रात माता लक्ष्मीले पृथ्वीको भ्रमण गर्ने र सफा, उज्यालो तथा भक्तिपूर्वक सजाइएको घरमा प्रवेश गरी सुख, शान्ति र समृद्धिको आशीर्वाद दिने विश्वास गरिन्छ ।
माता लक्ष्मीलाई धन, वैभव र ऐश्वर्यकी देवीका रूपमा पूजा गरिन्छ । लक्ष्मीको आराधनाले आर्थिक समृद्धि, पारिवारिक सुख, मान–सम्मान र यश प्राप्त हुने धार्मिक विश्वास छ । त्यसैले विशेषगरी व्यापार व्यवसाय गर्नेहरूले आजको दिन नयाँ हिसाबकिताब सुरु गर्ने, बहीखाता पूजा गर्ने र धनको पूजा गर्ने परम्परासमेत छ ।
लक्ष्मीपूजा २०८३ को शुभ साइत
यस वर्षको लक्ष्मीपूजा आज आइतवार साँझ गरिँदैछ । लक्ष्मी–गणेश पूजाका लागि साँझ ५ बजेर ३८ मिनेटदेखि राति ७ बजेर ३४ मिनेटसम्मको समय उत्तम मुहूर्तका रूपमा पञ्चाङ्गमा उल्लेख उल्लेख गरिएको छ ।
यसैगरी प्रदोषकाल साँझ ५ बजेर १५ मिनेटदेखि ७ बजेर ५२ मिनेटसम्म रहनेछ । वृषभ काल साँझ ५ बजेर ३८ मिनेटदेखि ७ बजेर ३४ मिनेटसम्म रहने पञ्चाङ्गमा उल्लेख छ ।
नेपालको स्थानीय पञ्चाङ्गअनुसार आज साँझ ५ बजेर १५ मिनेटदेखि ६ बजेर ५३ मिनेटसम्म शुभ र ६ बजेर ५३ मिनेटदेखि राति ८ बजेर ३१ मिनेटसम्म लाभ चौघडिया रहेको छ । त्यसैगरी राति ८ बजेर ३१ मिनेटदेखि १० बजेर ९ मिनेटसम्म अमृत चौघडिया रहनेछ ।
आजको राहुकाल
आज आइतबार राहुकाल दिउँसो ३ बजेर ५३ मिनेटदेखि साँझ ५ बजेर १५ मिनेटसम्म रहनेछ । पञ्चाङ्गअनुसार राहुकाललाई अशुभ समय मानिने भएकाले यस अवधिमा नयाँ शुभकार्य तथा धार्मिक अनुष्ठान सुरु नगर्ने परम्परा छ ।
आज बिहान ११ बजेर ४५ मिनेटसम्म कृष्ण चतुर्दशी तिथि रहने र त्यसपछि औँसी तिथि प्रारम्भ हुने पञ्चाङ्गमा उल्लेख छ । औँसी तिथि भोलि सोमबार दिउँसो १२ बजेर ४६ मिनेटसम्म रहनेछ ।
कसरी गर्ने लक्ष्मीपूजा ?
लक्ष्मीपूजाका लागि सबैभन्दा पहिले घर तथा पूजास्थल सफा गर्नुपर्छ । घरको पूर्व वा उत्तर दिशामा सफा स्थान छनोट गरी चौकीमा रातो वा पहेँलो कपडा ओछ्याएर माता लक्ष्मी र भगवान गणेशको प्रतिमा स्थापना गर्ने परम्परा छ ।
पूजामा अक्षता, फूल, फलफूल, मिठाई, धूप, दीप तथा नैवेद्य अर्पण गरिन्छ । माता लक्ष्मीलाई कमलको फूल र खीर विशेष प्रिय मानिने भएकाले यी सामग्री चढाउने चलन छ ।
त्यसपछि घिउ वा तेलको दियो बालेर माता लक्ष्मी र भगवान गणेशको विधिपूर्वक पूजा गर्नुपर्छ । परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर लक्ष्मीको आरती गर्ने र प्रसाद ग्रहण गर्ने परम्परा छ ।
घरमा दीप प्रज्वलन गर्ने परम्परा
लक्ष्मीपूजाको अर्को महत्त्वपूर्ण पक्ष दीप प्रज्वलन हो । साँझ परेपछि घरको मूलढोका, झ्याल, कौसी, छत, आँगन तथा घरका विभिन्न कुनामा दियो बाल्ने गरिन्छ ।
विशेषगरी घरको मूलढोकादेखि पूजाकोठासम्म दीप प्रज्वलन गरी माता लक्ष्मीको स्वागत गर्ने धार्मिक विश्वास छ । कतिपयले घरको मूलढोकामा चामलको पीठो वा अन्य सामग्रीबाट लक्ष्मीको पाइला बनाई पूजा गर्ने गर्छन् ।
यसरी श्रद्धा, भक्ति र उल्लासका साथ लक्ष्मीपूजा गरी दीपावली मनाउँदा घरमा सुख, शान्ति, धनधान्य र समृद्धि कायम हुने धार्मिक विश्वास रहिआएको छ ।























