एनपिएल : आज दुई खेल हुँदै
एनपिएल उद्घाटन खेलमा दर्शकले भरिभराऊ त्रिवि क्रिकेट मैदान
काठमाडौँ, ९ कात्तिक : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भरिभराऊ दर्शकको ड्रोनबाट लिइएको दृश्य । तस्बिर : घनश्याम श्रेष्ठ/रासस
काठमाडौं । एनपिएलमा बिहीबार दुई खेल हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने पहिलो खेलमा शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सले चौथो स्थानमा रहेको जनकपुर बोल्ट्सको सामना गर्ने छ ।
उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी लायन्स पछिल्लो खेलमा पोखरा एभेजन्र्सलाई एकपक्षीय खेलमा आठ विकेटले हराएर शीर्ष स्थानमा उक्लन सफल भएको छ ।
यस प्रतियोगितामा अपराजित एक मात्र टिम लुम्बिनी लायन्सको यो तीन खेलमा दोस्रो जित हो । चितवन राइनोजविरुद्धको खेल वर्षाले रद्द भएप्छि लुम्बिनीले अङ्क बाँडेको थियो । लुम्बिनी तीन खेलमा पाँच अङ्कसहित शीर्ष स्थानमा रहेको हो ।
दोस्रो खेलमा विराटनगर किङ्ग्सले काठमाण्डु गोर्खाजको सामना गर्ने छ । विराटनगर किङ्ग्स, कर्णाली याक्स र जनकपुर बोल्ट्सले समान चार खेलमा दुई जित र दुई हारसहित चार–चार अङ्कमा छन् ।
यद्यपि रन औसतका आधारमा विराटनगर दोस्रो, कर्णाली तेस्रो र जनकपुर चौथो स्थानमा रहेका छन् । काठमाण्डु गोर्खाज दुई खेलमध्ये एकमा जित एकमा हारसहित दुई बटुलेर सातौँ स्थानमा रहेको छ ।























