citizens life insurance long ad
stcnepal long ad

फिनल्यान्ड नेटोको ३१ औँ सदस्य बन्यो

Nimb long ad
Prabhu Insurance Long Ad

फिनल्यान्ड मङ्गलवार उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को ३१ औँ सदस्य बनेको छ । फिनल्यान्डलाई औपचारिकरूपमा नेटोमा सामेल गराउनका लागि नेटो मुख्यालय रहेको बेल्जियमको ब्रसेल्समा विशेष बैठक बसेको थियो ।

फिनल्यान्डले यसअघि असंलग्नताको नीति लिए पनि छिमेकी देश रुसले युक्रेनमा आक्रमण गरेर देश नै कब्जा गर्न लागेको भन्दै सुरक्षाका लागि नेटोमा संलग्न हुने निर्णय गरेको थियो । नेटोका कुनै पनि देशमा आक्रमण भएमा सबै सदस्य देशले आफैँलाई आक्रमण गरेको ठानेर सामूहिक प्रतिउत्तर दिने भएकाले नेटो सदस्यले सुरक्षित महसुस गर्छन् ।

फिनल्यान्ड नेटोको सदस्य हुनुलाई पश्चिमा देशले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई झट्काको रूपमा व्याख्या गरेका छन् । रुस र फिनल्यान्डबीच १३ सय ४० किलोमिटर लामो सीमा रहेको छ । रुसले बारम्बार नेटोको सदस्य नबन्न चेतावनी दिए पनि फिनल्यान्ड सदस्य बनेको हो ।

कुनै पनि देश नेटोको सदस्य बन्नका लागि सबै सदस्य देशको सहमति चाहिन्छ । फिनल्यान्डलाई सदस्य बन्न नदिन यसअघि टर्कीले लिएको अडान त्यागेपछि फिनल्यान्ड बल्ल सदस्य बन्न सफल भएको हो ।

सदस्य बन्न आवेदन दिए पनि टर्की र हङ्गेरीको असहमतिका कारण स्विडेनले भने नेटोको सदस्य बन्न पाएको छैन । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले अब रुसको सीमामा रहेको फिनल्यान्डले  आफूलाई सुरक्षित ठान्ने र नेटोलाई बलियो बनाउने बताउनुभएको छ ।

दोस्रो विश्व युद्धपछि सन् १९४९ मा तत्कालीन सोभियत सङ्घलाई चुनौती दिन र सुरक्षित रहन भन्दै अमेरिका, क्यानडा, बेलायत र फ्रान्स मिलेर नेटोको स्थापना गरेका थिए । नेटोसँग अत्याधुनिक सेना र हतियार रहेका छन् ।

फिनल्यान्ड नेटोको ३१ औँ सदस्य भएसँगै नेटो देशहरूसँग रुसको सीमाको लम्बाइ दोब्बर भएको छ ।

IME Life
kumari