गणेशमान सिंह स्मृति किक बक्सिङ सुरु

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबारदेखि ललितपुरको चापागाउँस्थित प्याङगाउँमा सुरु भएको छ । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक कार्यक्रमबीच सो प्रतियोगिताको उद्घाटन गरेका थिए । पहिलो दिन पुरुष ५५ केजीमा रेजका मदनकृष्ण डंगोल, मकवानपुरका सागर राई, मुवाँथाईका दावा फुन्जो शेर्पा, सो क्योकुसिनका मनीष दर्लामी, उसुका जीवन विष्ट, नेपाल प्रहरीका दीपेन्द्र सिन्जाली मगर, नेपाल आर्मीका तारा तामाङ र एपीएफका फुर्वा शेर्पा क्वाटर फाइनलमा प्रवेश गरे । महिला ५० केजीमा नेपाल आर्मीकी रुविका खड्का, आईकेकेएफकी करिष्मा कार्की, सो क्योकुसिनकी दीपा शाही, एपीएफकी सन्जुमाया थिङ, मुवाँथाईकी डेनिका राई, नेपाल आर्मीकी शान्ति थापा मगर र अञ्जना ढुंगेल क्वाटर फाइनलमा पुगेका थिए । तीन दिने प्रतियोगितामा १ सय २२ खेलाडीले ११ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । पुरुषमा ६ र महिलामा ५ स्पर्धा समावेश छन् । प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ८–८ हजार नगद पुरस्कार पाउने छन् । टिममा पहिलो हुनेलाई १ लाख र दोश्रो हुनेलाई ५० हजार नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट पुरुष÷महिला खेलाडीले जनही २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जितेका आयशा शाक्य र मन्डेकाजी श्रेष्ठ, स्वर्ण विजेता विप्लवलाल श्रेष्ठ, रजत विजेता दिवस श्रेष्ठ, कांस्य विजेता विनोद शाक्य गुभाजु, मुकुन्द्र महर्जन र निकेश श्रेष्ठलाई सम्मान गरिएको थियो । आयशा तेक्वान्दो र निकेश उसुका हुन् भने बाँकी सबै करातेका हुन् । सोही अवसरमा सागमा प्रशिक्षकको भुमिका निभाएका करातेकाद्वय गंगाराम महर्जन र दीपक श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

 

IME Lifesidebar
kumari