ब्याडमिन्टन सामाग्री हस्तान्तरण
काठमाडौं । जापानी सरकारको ‘स्पोर्ट्स फर टुमरो’ कार्यक्रम अन्तर्गत गत बुधबार निप्पन ब्याड्मिन्टन संघले नेपाल ब्याड्मिन्टन संघलाई खेल समाग्री उपलब्ध गराएको छ । जापानी राजदुतावासमा जापानका परराष्ट्र मन्त्रालयका उपमन्त्री नोरिहिरो नाकायामाले गत बुधबार नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलाई ब्याड्मिन्टन र्याकेट उपलब्ध गराएका थिए । स्पोर्ट्स फर टुमरो, टोकियो ओलम्पिक्स र पारालम्पिक्स २०२० को प्रवद्र्धन परियोजना हो । यस अन्तर्गत जापान सरकारले सन् २०२० मा टोकियो ओलम्पिक सुरु हुँदा सम्म एक करोड भन्दा बढीलाई खेल मार्फत सहयोग गर्ने लक्ष्य लिएको छ । निप्पन ब्याड्मिन्टन संघले ८० ब्याड्मिन्टन र्याकेट प्रदान गरी नेपालको ब्याड्मिन्टनलाई सहयोग गरेको छ । सो अवसरमा नेपालका लागि जापानका राजदुत मासामिची साइगोले नेपाली ब्याड्मिन्टनलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । यसैगरी नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष श्रेष्ठले जापानले नेपालका ब्याड्मिन्टन खेलाडीलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।