Everest Bank
nabil bank
national life
stcnepal long ad

अर्थतन्त्रमा निजि क्षेत्रको योगदान र बिग्रदो अर्थव्यवस्था

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

 

बढ्दो उपभोगसँगै मुलुकले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा कम गर्ने कार्यमा दत्तचित्त भएर उद्योगी व्यवसायीहरू लाग्नुपर्ने आवश्यकता देखिएको छ । अहिले आयातलाई घटाउने र स्वदेशी उत्पादनको उपभोगमा जोड दिनुपर्ने खाँचो छ।

अन्यथा मुलुकको अर्थतन्त्र जुनसुकै बेला पनि श्रीलंकाको जस्तो टाट पल्टिन सक्छ। देश र जनताले सास्ती पाउन सक्छन। विदेशी मुद्राको घट्दो सञ्चिति, सुस्त बन्दै गइरहेको उत्पादनमूलक क्षेत्र, घट्दो कृषि उत्पादन र उत्पादकत्व, बढ्दो बेरोजगारी आदिका कारण मुलुकको अर्थतन्त्रलाई थप बिग्रन नदिन बुद्धिमत्तापूर्ण ढङ्गले वित्त तथा मौद्रिक नीतिलाई कार्यान्वयन गर्नुपर्ने खाँचो रहेको छ।

कोभिड–१९ महामारीले शिथिल बनाएको हाम्रो देशको सानो अर्थतन्त्र रुस र युक्रेनबीचको युद्धका कारण थप प्रभावित हुने स्थितिमा पुगेको छ । पेट्रोलियम पदार्थ,खानेतेल र अन्य वस्तुको मूल्य बृद्वि हुँदा उपभोक्ता हैरान छन।

अहिले अर्थतन्त्रमा आन्तरिक तथा बाहय दुबै चाप परेको स्थिति छ। यसका लागि सरकार र निजी क्षेत्र दुबैले एक आपसमा संवाद र सहकार्य गरेर चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ।

अर्थतन्त्रको सुदृढीकरणका लागि खासगरी उद्यमी व्यवसायीहरूले विदेशमा उत्पादित महँगा र विलासी वस्तुहरू स्वेदशमा आयात गर्न र उपभोग बढाउनतिर मात्र नलागेर स्वदेशमै उत्पादन सम्भव भएका वस्तु तथा सेवाको उत्पादन वृद्धि र तिनको बजारीकरण गर्दै आयात प्रतिस्थापनमा सहयोग पुरयाउन र त्यस क्षेत्रमा लगानी केन्द्रित गर्न आवश्यक रहेको देखिन्छ ।

निजि क्षेत्रलाई लगानी गर्ने,आफ्ना उत्पादनको बजारीकरण गर्ने र तुलनात्मक लाभ लिने यो एउटा सुनौलो अवसर पनि हो।

कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको आधारशिला भएकाले कृषि क्षेत्रको व्यवसायीकरण र यान्त्रिकीकरण गरी यस क्षेत्रको विकास मार्फत् आर्थिक वृद्धिको जग बलियो बनाउन,खाद्यान्नमा आत्मनिर्भर बन्न,मुलुकको गरिबी र आर्थिक असमानता हटाउन निजी क्षेत्रको ध्यान जान आवश्यक छ।

विदेशी कच्चा पदार्थमा आधारित कम मूल्य अभिवृद्धि हुने प्रशोधन उद्योगभन्दा मुलुककै कृषि, वन तथा खानी क्षेत्रका कच्चा पदार्थमा आधारित उद्योग धन्दाको विकास गरी स्वदेशमै आय र रोजगारी प्रवर्द्धन हुने गरी निजी क्षेत्रले आफ्ना आर्थिक क्रियाकलापहरूलाई अघि बढाउन आवश्यक देखिन्छ।

विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलाप जस्तै प्रत्यक्ष वैदेशिक लगानी बढाउने तथा पर्यटन व्यवसायको प्रवर्द्धन गर्ने, निकासीजन्य उद्योगको विस्तार गर्ने, निर्यात वृद्धिमार्फत् व्यापार घाटा कम गर्ने, उपभोगजन्य र विलासिताका वस्तु तथा सेवाको आयात र उपभोगलाई निरुत्साहित गर्ने काममा उद्यमी,व्यवसायी र सबै नेपाली लगानीकर्ता लाग्नुपर्ने आवश्यकता छ ।

विप्रेषण आप्रवाहलाई औपचारिक माध्यमबाट आउन प्रोत्साहित गर्ने लगायतका विभिन्न कार्यहरूमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।

उद्योग व्यवसायमा बिजुलीको उपयोग बढाई पेट्रोलियम पदार्थको आयात र उपभोगलाई घटाउन पनि निजी क्षेत्र लाग्नु पर्दछ।

तात्कालिक लाभ लिने क्षेत्रमा भन्दा पनि दीर्घकालसम्म मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने, मुलुकभित्रका श्रम, सीप र कच्चा पदार्थको अधिकतम परिचालन गरी निकासी बढाउने तर्फ निजि क्षेत्रको ध्यान केन्द्रित हुन सके मुलुकको अर्थतन्त्र सबल बनाउन सहयोग पुग्न सक्दछ।

मुलुकको अर्थतन्त्रको जग बलियो बनाउने एवं बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने र सरकारलाई मुलुकको विकासका लागि आवश्यक स्रोत परिचालन गर्न सहयोग पुरयाउने क्षेत्रमा नीजि क्षेत्रले लगानी विस्तार गर्न आवश्यक छ ।

मुलुकको अर्थतन्त्रलाई थप बिग्रन नदिन र ट्रयाकमा ल्याउन सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न तयार रहनु पर्दछ । निजी क्षेत्रलाई उद्यम व्यवसाय गर्न आवश्यक नीतिगत व्यवस्था र पूर्वाधार सुविधाहरू उपलब्ध गराउन सरकार सदैव प्रतिबद्ध रहनु पर्दछ ।

मुलुकभित्र उद्योग व्यवसायको पर्याप्त विकास विना आर्थिक विकास र समृद्धि आउन सक्दैन । निजी क्षेत्रको बलियो संलग्नताविना मुलुकमा उद्योग व्यवसायलाई अघि बढाउन सकिँदैन।

यस कुरालाई आत्मसात् गरी निजी क्षेत्रलाई लगानीको उचित वातावरण प्रदान गरी सरल र सहज रूपमा उद्यम व्यापार सञ्चालन गर्नसक्ने वातावरण निर्माण गर्न सरकारले विभिन्न कानूनी, नीतिगत र संस्थागत सुधारहरू गर्दै जानू पर्दछ । यसलाई भविष्यमा पनि निरन्तरता दिन जरूरी छ।

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान अत्यन्तै महत्वपूर्ण रहेको छ। कुल ग्राहस्थ उत्पादन र कुल रोजगारी सिर्जनामा निजी क्षेत्रको हिस्सा करिब तीन चौथाइभन्दा बढी रहेको तथ्यांक छ।
मुलुकको आर्थिक विकासमा निजी क्षेत्रले पुर्याउँदै आएको योगदान उच्च रहेको छ।

आगामी दिनमा यो योगदानलाई अझ फराकिलो, खँदिलो, समन्यायिक, सन्तुलित र दिगो बनाउन सकिए अर्थतन्त्र थप सबल र दिगो हुन सक्ने देखिन्छ।

 

९ साउन २०७९, सोमवार ०७:४१ बजे प्रकाशित

stcnepal long ad