यूवाका समस्या र राष्ट्रिय दायित्व
–लोकनारायण सुबेदी
कुनै पनि देशको वास्तविक क्षमता त्यहाँका यूवा समुदाको सदुपयोग वा दुरुपयोगको स्थितिले उजागर गरिदिन्छ । त्यसैले सामान्यतः कुनै पनि देशमा यूवाहरुको संख्या बढी छ भने त्यो देशलाई बिकासको मार्गमा लैजान बढी सहज र सफल हुने मान्यता छ ।
जन गणनाको बेलामा कुनै पनि देशले आफुसँग कुन कुन उमेर समूहका कति मानिस खाशगरी कति यूवा छन् भन्ने कुरामा बिशेष ध्यान दिनु र तथ्यांकमा उल्लेख गर्नुको मूल कारण पनि यही नै हो ।
यो सर्ब बिदित कुरा हो कि हाम्रो देश लगायत कुनै पनि देशले सरकारी सेवामा मानिसहरुलाई लिँदा १८ बर्ष पूरा भइ ३५ बर्ष ननाघेको उमेर समूहमा मानिसहरुका बीचबाट छनौट गर्ने गरेको हुन्छ । यो उमेर समूहका मानिसहरुको कति ठूलो महत्व र ऊर्जा हुदोरहेछ भन्ने कुरा त यसैले पनि प्रष्ट हुन्छ ।
त्यो उमेर समूहको यूवा शक्तिलाई सदुपयोग गर्न सकेका देशहरुले आफ्नो बिकासको गतिलाई तीब्र तुल्याउदै आर्थिक सामाजिक रुपान्तरणको अग्रगामी दिशामा एक पछि अर्को चरणको उच्चाई पार गर्दै अघि बढेको हुन्छ भने यूवा शक्तिको दुरुपयोग हुँदा त्यो समाज निष्कृय, निर्जीव र अकर्मण्य भएर अधपत्तनको ओरालो बाटोतिर लागेको हुन्छ । हाम्रो देशको यूवा शक्ति भने यतिबेला पछिल्लो बाटोतिर धकेलिएको छ र यूवा समुदायको संख्या ठूला भएर पनि त्यो सही दिशा र गति नपाएर अकलगुम बनाइएको छ र यसरी अल्मल र अन्यौलमा परेको छ ।
पछिल्लो जन गणना अुनसार हाम्रो देशमा उमेर समूहको हिसावले हेर्ने हो भने १८ बर्ष पुगेको र ३५ बर्ष ननाघेको ऊर्जाशील यूवा शक्तिको संख्या अन्य उमेर समूहभन्दा निकै नै बढी छ । यस्तो यूवा शक्ति भएको मुलुकमा बिकासको गतिले चौतर्फीरुपमा तीब्रता पाउनु पर्ने हो ।
तर हामीकहाँ पटक्कै त्यसो हुन सकेको छैन । यस स्थितिका पछाडि राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृति अनेक कारण र कारकहरु बिद्यमान छन् । तिनको ठोस पहिचान र उचित निराकरण बिना यूवा समुदाका समस्या हल हुने र यसरी मुलुककै समस्या समाधान हुने बाटोतिर देश गतिमान हुन सक्तैन । यो यथार्थ हो ।
हामीले उमेर समूहको हिसावले यूवा समुदाय के कत्रो छ भन्ने कुरा गरयौं । अब यो समुदायका अगाडि के के समस्या र चूनौतीहरु बिद्यमान छन् भन्ने कुरा खोतल्नुपर्ने हुन्छ ।
किनकि ती समस्याको सही पहिचान र समाधानको सही बाटोको खोजी नगरीकन देशको यूवा समुदायका र अन्ततः देशकै समस्या समाधान हुने छैनन् । वास्तवमा आज देशमा जुन समस्याहरु बिकरालरुपमा बिद्यमान छन् ती मूलतः देशका यूवाहरुकै समस्या हुन् भनेमा पनि अत्युक्ति हुदैन ।
बेरोजगारी बिश्वब्यापीरुपमा र नेपालमा पनि आज सबैभन्दा ठूलो समस्या हो । नेपालमा रोजगारबिहीन बिकासका कारण उत्पन्न यो समस्यालाई निराकरण गर्न बैज्ञानिक भूमिसुधार गरेर कृषि उत्पादनमा अभिबृद्धि र किसानको क्रयशक्तिमा बृद्धि गरी औद्योगीकरणको आधार तयार गर्नुु र किसानको जीवनमा खुशहाली ल्याउनु आजको पहिलो राष्ट्रिय आवश्यकता हो ।
तर यतिले मात्र यूवा समुदायका समस्याहरु हल हुदैनन् । त्यसैले राष्ट्रिय आत्मनिर्भर र श्रम–प्रधान राष्ट्रिय औद्योगिक नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन आजको दोश्रो अनिवार्य राष्ट्रिय आवशयकता हो । कृषि र उद्योगलाई बिकासको सही र दीगो बाटोमा अग्रसर गराउन र निरन्तरता दिन तथा यस प्रकार यूवाहरुको पहिलो र आधारभूत समस्या बेरोजगारीको समस्या हल गर्न बिद्यूतको बिकास सर्बोपरी आवश्यकता छ ।
यो बिद्यूत–ऊर्जाको पर्याप्तता बिना कृषिमा आधुनिकीकरण र राष्ट्रिय औद्योगिकीकरण गर्ने पूर्वाधार नै खडा हुन सक्तैन । फलतः कृषि, उद्योग, बन्द–ब्यापार लगायत कुनै क्षेत्रमा पनि यूवाहरुले रोजगारी पाउने स्थिति बिकसित गर्न सकिदैन । यही कारणले गर्दा आज लाखौ लाख ऊर्जाशील नेपाली यूवाहरु कामको खोजीमा बिदेश पलायन हुन बाध्य छन् । यो हामीले नाङ्गो आँखाले देखिरहेको र अनुभव गरिरहेको यथार्थ कुरा हो ।
यसले गर्दा एकातिर कृषि उत्पादन घटिरहेको छ भने खेतीपातीप्रति यूवाहरु अनाकर्षित र बिमुख हुदै गएको अबस्था छ । कृषि उत्पादनमा हास आउनका कारणहरुमध्ये यो पनि एउटा प्रमुख कारण हो । दोश्रो कुरा हाम्रो देशका अधिकांश यूवाहरु शिक्षा प्राप्त गर्ने उचित अवसरबाट बञ्चित छन् ।
यद्यपि जनसंख्या बढेको अनुपातमा शिक्षाको क्षेत्रमा यूवा शक्ति थपिने क्रम जारी रहेको देखिन्छ । यद्यपि अहिले कोही पनि अनुत्तिर्ण नहुने परीक्षा प्रणाली छ । तर ग्रेडिङ्ग त हुन्छ । त्यसैल उत्तिर्ण मध्ये सबैले उच्च शिक्षातर्फको अध्ययन पूरा गर्न पाउने स्थिति पनि रहेको छैन ।
अहिलेको एसईई र पहिलाको एसएलसीको परीक्षालाई एउटा आरम्भिक आधार मान्ने हो भने मात्र पनि देशमा अध्ययनमा सक्रिय यूवा साढे पाँच लाखको सेरोफेरोमा मात्र देखिन्छ । यस हिसावले १५ बर्षमाथि ४० बर्षसम्मको उमेर समूहको गणना गर्ने हो भने देशमा यूवा समूहको ठूलो हिस्सा हुन्छ ।
नेपाली श्रम बजारमा बर्षेनी पाँच लाख जति यूवाहरु थपिने गरेको तथ्यांक छ । यसरी बेरोजगारी र अशिक्षा नेपाली यूवा समुदायका ज्वलन्त समस्या बनेर रहेका छन् । नेपालको बिकास भन्नु नै यो समस्या समाधान गर्ने ठोस र प्रभावकारी बाटो पहिल्याउनु हो ।
यसका अतिरिक्त कुलत, कुबेशन, अन्धबिश्वास र कुरीतिबाट पनि नेपाली यूवा समुदाय निकै नै आक्रान्त छ । देशमा यूवाहरुको ठूलो हिस्सा अबैध लागु पदार्थको ओसार पसार गर्ने, उपयोग गर्ने र आफ्नो जीवनलाई नै समाप्त पार्ने आत्मघाती बाटोमा फँसे फँसाइएको कुरा पनि बारम्बार प्रकाशमा आइरहेको कुरा हो ।
यसरी देशको यूवा समुदाय, बेरोजगारी, अभाव, अशिक्षा, असुरक्षा आदिका कारणले बिभिन्न अपराध कर्ममा पनि संग्लग्न हुदै आएको समेत बिभिन्न तथ्य तथ्यांकहरु छन् । देशको ऊर्जाशील यूवाहरुको यस्तो दयनीय तस्वीरले देशको यथार्थ तस्वीरलाई नै उजागर गर्दछ ।
तर नेपाली यूवा समुदायका माथि उल्लिखित नकारात्मक पक्ष मात्रै छैनन् । यूवाहरुले नेपाली समाजको अग्रगामी परिवर्तन, प्रगति र सुनिश्चित भबिष्यका लागि अथक संघर्ष गर्दै आएको उज्जल र गौरबशाली इतिहास छ।























