नेपाल वायुसेवा निगमले विभिन्न चार वायुसेवासँग सम्झौता

काठमाडौँ । विभिन्न चार वायुसेवा कम्पनीसँग नेपाल वायुसेवा निगमले द्विपक्षीय सम्झौता गरेको छ । निगमले थाई एयरवेज, अल निप्पोन एयरलाइन्स, कुवेत एयरवेज र इमिरेट्सबीच सम्झौता गरेको हो ।
यस्तो सम्झौताले सम्बन्धित वायुसेवाहरूले सेवा प्रदान गरिरहेको मार्गमा यात्रुलाई सेवा प्रदान गर्न सहयोग पुग्ने निगमले जनाएको छ ।
सम्झौताबाट युरोपका विभिन्न सहर, अष्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइन सहित विभिन्न १० वटा हवाई मार्गमा यस प्रकारको सेवा प्रदान गर्न सकिने वायुसेवा निगमले जनाएको छ ।
न्यूनतम ‘ट्रान्जिट’ समय प्रयोग गरी गरिएको सम्झौता मार्फत यात्रुलाई थप सहज हुने पनि निगमले उल्लेख गरेको छ । साथै निगमलाई थप आय–आर्जनको माध्यम सिर्जना हुने अपेक्षा पनि गरिएको छ ।
निगमको केन्द्रीय कार्यालय तथा ट्राभल एजेन्सीहरूबाट सम्झौता भएका वायुसेवा कम्पनीहरूको टिकट सहजै प्राप्त गर्न सकिने पनि निगमले जनाएको छ ।
निगमले यसबाहेक अमेरिकाका विभिन्न सहरमा पनि यस्तै किसिमको सम्झौताका लागि विभिन्न वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ ।