citizens life insurance long ad
stcnepal long ad

तीन अर्ब रुपैयाँभन्दा बढी लगानीमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल निर्माण हुने

Nimb long ad
Prabhu Insurance Long Ad

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ अञ्चलपुरमा तीन अर्ब रुपैयाँभन्दा बढी लगानीमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल निर्माण हुने भएको छ । अस्पतालको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो ।

कृषि, वन तथा वातावरण मन्त्रालयको २०८३ असोज १२ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार अस्पतालको ईआईए प्रतिवेदन स्वीकृत भएको हो । लुम्बिनी क्यान्सर अस्पताल प्रालिमार्फत निर्माण हुन लागेको अस्पतालमा करिब तीन अर्ब ८२ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । प्रारम्भिक विवरणमा भने आयोजनाको लगानी साढे चार अर्ब रुपैयाँ हाराहारी हुने उल्लेख छ ।

अस्पतालका सञ्चालक तथा लगानीकर्ता कमल भण्डारीका अनुसार ईआईए प्रतिवेदन स्वीकृत भएसँगै निर्माण प्रक्रिया अघि बढाइनेछ । भौतिक संरचना निर्माण सम्पन्न गरी इजाजतपत्र प्राप्त गरेको तीन वर्षभित्र अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले बताए ।

करिब तीन बिघा क्षेत्रफलमा निर्माण हुने अस्पतालको भवन १९ हजार ६१६.०४ वर्गमिटर क्षेत्रफलमा फैलिने प्रस्ताव गरिएको छ । अस्पताल भवनको क्षेत्रफल एक हजार ४५८.८८ वर्गमिटर रहनेछ भने ९०० वर्गमिटर क्षेत्रफलमा बंकर संरचनासमेत निर्माण गरिनेछ । करिब ३५ मिटर अग्लो भवनमा बेसमेन्ट र भुइँतलासहित आठ तलाको संरचना रहनेछ ।

अस्पतालमा प्रयोगशाला, रेडियोलोजी, अल्ट्रासाउन्ड, प्याथोलोजी, शल्यक्रिया, सघन उपचार कक्ष (आईसीयू), बहिरङ्ग सेवा (ओपीडी), २४ घण्टे आकस्मिक सेवा, किमोथेरापी र रेडियोथेरापीलगायत सेवा सञ्चालन गर्ने योजना छ । बोनम्यारो प्रत्यारोपण तथा क्यान्सरसँग सम्बन्धित अन्य विशिष्टीकृत उपचार सेवा पनि उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।

भवनको बेसमेन्टमा पार्किङ, क्याफे तथा क्यान्टिन, भूमिगत पानी ट्याङ्की, जेनेरेटर कक्ष र वातानुकूलन प्रणाली रहनेछन् ।

भुइँतलामा आकस्मिक सेवा, रेडियोलोजी, फार्मेसी र २४ शय्याको व्यवस्था गरिनेछ । पहिलो तलामा प्रयोगशाला, रक्तसम्बन्धी सेवा, क्यान्सर उपचारको बहिरङ्ग सेवा र ३४ शय्या रहनेछन् ।

दोस्रो तलामा शल्यक्रिया कक्ष, शल्यक्रियापछिको उपचार कक्ष, केन्द्रीय उपकरण शुद्धीकरण सेवा र पेट स्क्यान मेसिन राखिनेछ । चौथो तलामा शल्यचिकित्सा वार्ड, आईसीयू, क्रिटिकल केयर र एचडीयूसहित ५० शय्याको व्यवस्था प्रस्ताव गरिएको छ ।

पाँचौँ तलामा प्रशामक उपचार तथा बाल क्यान्सर उपचार सेवासहित २५ शय्या रहनेछन् । अन्य तलामा ज्येष्ठ नागरिकका लागि डे केयर सेवा, प्रशासनिक कक्ष, बैठक तथा सम्मेलन कक्ष, योग र ध्यान, उपचार तथा पुनःस्थापना सेवा र खुला छतको व्यवस्था गरिनेछ ।

अस्पताललाई अपाङ्गतामैत्री र बिरामीमैत्री बनाउने योजना पनि अघि सारिएको छ । त्यसका लागि सातवटा लिफ्ट, ह्विलचेयरमैत्री संरचना, अपाङ्गतामैत्री शौचालय र एम्बुलेन्स सेवाको व्यवस्था प्रस्ताव गरिएको छ ।

अस्पताल सञ्चालनमा आएपछि २८५ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ । भण्डारीका अनुसार अस्पतालमा २२० जना प्राविधिक तथा स्वास्थ्यकर्मी र ६५ जना प्रशासनिक एवं अन्य अप्राविधिक कर्मचारी आवश्यक पर्नेछन् ।

लुम्बिनी र गण्डकी प्रदेशका नागरिकलाई गुणस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले भैरहवामा अस्पताल निर्माण गर्न लागिएको भण्डारीले बताए । अस्पताल सञ्चालनमा आएपछि क्यान्सर उपचारका लागि काठमाडौं, चितवन तथा भारतका विभिन्न सहर पुग्नुपर्ने बिरामीको बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

विशेषगरी नियमित किमोथेरापी, रेडियोथेरापी तथा अन्य उपचारका लागि टाढा जानुपर्ने बिरामी र तिनका परिवारलाई यातायात, बसोबास तथा खानपानमा लाग्ने खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । रुपन्देहीसँगै कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र दाङका बिरामीले समेत अस्पतालबाट सेवा लिन सक्नेछन् ।

भण्डारीकै लगानी समूहले भैरहवामा १५० शय्याको एडभान्स अस्पताल निर्माण गरी सञ्चालनको तयारीसमेत गरिरहेको छ । प्रस्तावित एडभान्स अस्पताल र लुम्बिनी क्यान्सर अस्पतालबीचको दूरी करिब ५०० मिटर रहने जनाइएको छ । एडभान्स अस्पतालबाट क्यान्सर उपचारबाहेक अन्य रोगको उपचार सेवा उपलब्ध गराउने योजना छ ।

ईआईए प्रतिवेदन स्वीकृत भएसँगै लुम्बिनी क्यान्सर अस्पताल निर्माणको प्रक्रिया अघि बढ्ने भए पनि निर्माण सुरु हुने निश्चित मिति र सेवा सञ्चालनको विस्तृत समयतालिका सार्वजनिक गरिएको छैन । भण्डारीले अब आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य सुरु गरिने बताए ।

IME Life
kumari