पोखरा–दुबई उडानको एक महिना: ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाई दुबईले एक महिनामा ६ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको छ । गत असोज ७ गतेदेखि पोखरा-दुबई रुटमा नियमित उडान सुरु गरेको कम्पनीले पहिलो महिनामा ३० वटा उडान सञ्चालन गरेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार एक महिनाको अवधिमा दुबईबाट पोखरा आउने ४ हजार ५२१ र पोखराबाट दुबई जाने १ हजार ८४१ गरी कुल ६ हजार ३६२ यात्रुले सेवा लिएका छन् । उनले सुरुआती एक महिनाको उपलब्धिलाई उत्साहजनक रूपमा लिएको बताए ।
निरौलाका अनुसार दसैँ र तिहारजस्ता ठूला चाडका कारण दुबईबाट पोखरा आउने यात्रुको संख्या बढिरहेको छ भने पोखराबाट दुबई जाने यात्रुको संख्या पनि वृद्धि भइरहेको छ । उनले सरकारी तथा निजी क्षेत्रको सहकार्य र प्रवर्द्धनात्मक गतिविधिमार्फत पोखराबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित र दीर्घकालीन बनाउन सकिने विश्वास व्यक्त गरे ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि उडानको पहिलो महिनाको उपलब्धिलाई उत्साहजनक बताएका छन् । उनले पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउनुपर्नेमा जोड दिँदै सन् २०२७ को अक्टोबरसम्म टिकट बुकिङ खुला गरेकोमा फ्लाई दुबईको व्यवस्थापन टोलीलाई धन्यवाद दिए ।
प्रमुख आचार्यले पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी र निजी क्षेत्रलाई सम्भव भएसम्म पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न आग्रह गरेका छन् । उनले पोखराबाटै अन्तर्राष्ट्रिय भ्रमण प्याकेज सञ्चालन गर्न र व्यक्तिगत तथा संस्थागत भ्रमणका कार्यक्रमसमेत यहीँबाट सुरु गर्नुपर्ने बताए ।
फ्लाई दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधासमेत रहेको छ । यसले दुबईसँगै अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा जाने यात्रुका लागि पोखरालाई प्रस्थान बिन्दु बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
२०७९ पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडानविहीन थियो । कहिलेकाहीँ चार्टर उडान भए पनि विमानस्थल मुख्यतः आन्तरिक उडानमा सीमित थियो ।
फ्लाई दुबईले नियमित उडान सुरु गरेसँगै विमानस्थलको उपयोग बढ्ने र अन्य वायुसेवा कम्पनीसमेत पोखरामा आकर्षित हुने अपेक्षा गरिएको छ । नियमित अन्तर्राष्ट्रिय उडानले पर्यटन, व्यापार, रोजगारी र समग्र क्षेत्रीय आर्थिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ ।





















