stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

निजगढ विमानस्थलको पहुँच सडकका लागि चार हजार रुख काटिने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार

काठमाडौँ । बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रको चारकिल्ला परिसरमा पहुँच सडक निर्माणका लागि त्यस क्षेत्रमा चार हजार २३२ रुख काट्नुपर्ने भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल निर्माणमा अन्तरनिकाय समन्वयसम्बन्धी उच्चस्तरीय सहजीकरण समितिको आइतबार बसेको पाँचौँ बैठकले विमानस्थल परिसर सडकका लागि तोकिएको क्षेत्रमा रुख कटान गर्नुपर्ने आँकडा निकालेको हो ।

समितिले रुख कटानको प्रक्रिया अगाडि बढाउनेसमेत निर्णय भएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । रुख कटान प्रक्रियाअन्तर्गत रुख कटानको स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले यथाशीघ्र नेपाल सरकार(मन्त्रिपरिषद्) समक्ष प्रस्ताव पेश गर्ने निर्णय समितिले निर्णय गरेको छ ।

निजगढ विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री संयोजक रहने गरी उच्चस्तरीय सहजीकरण समिति बनाइएको छ । समितिले विमानस्थल निर्माण क्षेत्रभित्रका रुख तथा पोलको लगत नम्बरिङ कार्यसमेत तत्काल अघि बढाउने निर्णय गरेको छ ।

समितिको चौथो बैठकले गत २०७६ माघ २ मा बस्ती स्थानान्तरण सम्बन्धमा निर्णय गर्न कार्यदल गठन गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणअन्तर्गत राष्ट्रिय गौरवको आयोजना हेर्ने निर्देशकसमेतको प्रतिनिधित्व हुने गरी गठन कार्यदलले आफ्नो कार्य जिम्मेवारीबमोजिमका कार्य यथाशीघ्र अगाडि बढाई त्यसको प्रगति प्रतिवेदन १० दिनभित्र समितिसमक्ष पेश गर्ने निर्णयसमेत भएको छ ।

विमानस्थल निर्माण गर्न लगानी बोर्डले निश्चित समयसीमा तोकी जुरिच इन्टरनेसनलसँग सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलको प्रस्ताव माग गर्ने र सम्झौता प्रक्रिया पूरा गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । समितिले प्राधिकरणबाट निजगढ विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रिया समेत छिटो सक्न निर्देशन दिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari