एयरपोर्टबाट ५० लाख रकम सहित रेखा पक्राउ
क्यासिनोको पैसा ओसार्ने स्टेसन म्यानेजर पौडेल भएको रहस्य खुल्यो
काठमाडौं । लामो समयदेखि सिक्किम, झापा र मोरङका क्यासिनोमा टेबुल चलाउने र आफै क्यासिनो संचालन गरिरहेका विभिन्न कारोबारीको अवैध रकम ओसारपसारमा संलग्न रहेका सौर्य एयरलाईन्सका बिराटनगर स्टेशन म्यानेजर प्रकाश पौड्यालको साइड बिजनेशको रहस्य खुलेको छ ।
महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्ड सानो गौचरणले बिराटनगर प्रहरीको सूचनाका आधारमा सौर्य एयरलाईन्समा आएको ५० लाख रुपैयाँ बरामद गरेपछि सो रकम पठाउने पौड्यालले कसरी रकम पठाउर्दै आएका थिए भन्ने रहस्य खुलेको हो ।
प्रहरीको विशेष स्रोतका अनुसार पुस १७ गते शनिबार सौर्य एयरलाईन्सको उडान नम्बर एस ए यु २४ मा पौड्यालले ब्यागेज सुरक्षा जाँच नगराइ उडान भर्न तयारी अवस्थामा रहेको जहाजमा सौर्य एयरलाइन्स भद्रपुर लेखिएको रातो रंगको मेल ब्याग राखेका थिए ।
काठमाडौंको त्रिभुवन विमानस्थल प्रहरीले त्यो सूचनाप्राप्त गरेपछि एसएसपी सुरेन्द्र मैनालीले सो ब्याग लिन आउने ब्यक्तिलाई नियन्त्रणमा लिने योजना बनाए । उनले यसका लागि अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट सादा पोशाकमा प्रहरी टोली खटाएका थिए ।
सादा पोशाकको प्रहरी टोलीले उक्त ब्याग लिन आएकी सौर्य एयरलाईन्सकै सहायक कर्मचारी मोरङ घरभई सिनामंगल बस्ने रेशा शाक्य पोखरेललाई नियन्त्रणमा लिएको थियो ।
उनका साथबाट बरामद गरेर हेर्दा भित्र रातो प्लाष्टिकले बेरिएको करेन्ट चाउचाउको कार्टुनभित्र स्रोत नखुलेको तथा भन्सार उदघोष नभएको नेपाली रुपैयाँ एक हजार दरका ४ हजार नौ सय ५० थान र पाँच सय रुपैयाँ दरका एकसय गरि ५० लाख रुपैयाँ फेला परेको थियो ।
विमानस्थल प्रहरीले बरामद रकम र पक्राउ परेकी पोखरेललाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग ललितपुरमा पठाएको जनाएको छ ।
स्रोतका अनुसार लामो समयदेखि सौर्य एयरलाइन्सका विराटनगर स्टेशन म्यानेजर पौड्याल बिराटनगरमा क्यासिनो कारोबारीका कनेक्सन म्यानका रुपमा थिए । उनी आफै समेत समय समयमा क्यासिनोसम्म पुग्ने गरेका थिए ।
यसरी क्यासिनोमा नेपाली लैजाने टोलीले उनको सहयोगमा जम्मा भएको अवैध रकम काठमाडौं पठाउँदै आएको रहस्य खुलेको छ ।























