निःशुल्क मास्क र स्यानिटाइजर वितरण गर्दै महानगर

आर्थिक सञ्जाल आइतबार, ९चैत्र २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि आफ्ना वडा बासीलाई दैनिक ४० हजार थान माक्स र स्यानिटाइजर उपलब्ध गराउने भएको छ । महानगरले दैनिक प्रत्येक वडालाई एक हजार थान मास्क र आधा लिटरका २ थान स्यानिटाइजर उपलब्ध गराउन लागेको हो ।
साथै महानगरले ठूला वडालाई चार लाख र मझौला तथा साना वडालाई तीन लाखका दरले बजेट समेत उपलब्ध गराएको छ । यो पैसाले साबुन, मास्क तथा स्यानिटाइजर खरिद गर्न तथा सचेतना जगाउने कार्यक्रम गर्न बजेट विनियोजन गरिएकोे नगर प्रमुख विद्या सुन्दर शाक्यले बताए ।
महानगरले आफ्ना ३२ सै वडामा दैनिक एक हजार थान माक्स र स्यानिटाइजर पठाउन लागेको हो । ‘हामीलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ५० हजार थान मास्क उपलब्ध भएको छ,’ उनले भने ‘सो मास्क ३२ वटा वडामा एक÷एक हजारका दरले र बाँकी ८ हजार थान मास्क कर्मचारीलाई वितरण गर्न लागिएको शाक्यले बताए ।
महानगरले वडासहित वातावरण व्यवस्थापन विभागका कर्मचारीका लागि ३ हजार थान मास्क पठाएका छ । दैनिक फोहोरमा काम गर्ने भएकाले उनीहरूको स्वास्थ्यमा पनि महानगर उत्तिकै ध्यान पुर्याउनु पर्ने शाक्यले बताए । महानगरका कर्मचारीदेखि निजी क्षेत्रबाट फोहोर व्यवस्थापनमा जुटेका कर्मचारीलाई समेत दैनिक माक्सको व्यवस्था गरिएको छ,’ उनले भने ।
साथै, महानगरका स्वास्थ्य कर्मीले ठाउँ ठाउँमा बसेर साबुन पानीले हात धुन लगाउनुका साथै स्यानिटजर समेत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । आज आइतबार वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपलब्ध गराएको मास्क वितरण गरेपनि भोलि सोमबारदेखि वितरण गर्ने मास्क भने आईएमएस ग्रुपसँग खरिद गर्न लागिएको हो ।
नेपाल चेम्बर अफ कमर्शले यसमा सहजीकरण गरिदिएको समेत शाक्यले बताए । प्रत्येक दिन ४० हजारका दरले मास्क लिने तयारी महानगरले गरेको छ । सो मास्क पनि आठ हजार कर्मचारीका लागि हो भने ३२ हजार वडाबासीको लागि भएको उनले बताए ।
सेनिटाइजर भने धेरै उपलब्ध नभएकाले प्रत्येक वडामा एक लिटर पठाइएको छ । उनले थपे ‘भोलिदेखि साना वोटलमा पनि पाइने सम्भावना देखिएकोले छ ।’ बजारमा पाइयो भने स्यानिटाइजर समेत उपलब्ध गराउने छौं ।’
यसरी पठाइएका मास्क वितरण तथा स्यानिटाइजरको प्रयोग वडा समितिको निर्णयबमोजिम हुनेछ । महानगरका सबै वडामा विपद व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन गरिसकिएकोले समितिसँगको समन्वयमा मास्क वितरण गर्न सकिने छ । महानगरले सहरी स्वास्थ्य क्लिनिकका अतिरिक्त अन्य विभिन्न २१ ठाउँमा स्वास्थ्य सहायता कक्ष सञ्चालनको तयारी गरेको छ । मास्क, स्यानिटाइजर, प्रचार सामाग्री समेत उपलब्ध गराउने भएको छ ।