बिपी कोइराला अध्ययन अनुसन्धान केन्द्र भवनको शिलान्यास
काठमाडौँ महानगरपालिकाको रु २ करोड आर्थिक सहयोग
काठमाडौँ । जननायक बिपी कोइराला मेमोरियल ट्रष्टले‘ बिपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ ।
काठमाडौँ महानगरको वडा ५ हाँडीगाउँमा निर्माण हुने भवनको आज काँग्रेस सभापति शेरबहादुर देउवा, बिपीपुत्र डा.शशांक कोइराला र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले २ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
भवन निर्माणका लागि वागमती प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराउने छ भने ट्रष्टले १ करोड रुपैयाँ लगानी गर्नेछ । थप रकम दाताबाट जुटाउने ट्रष्टले जानकारी दिएको छ । भवन निर्माणको लागत करीब ४ करोड ५० लाख रहने अनुमान छ ।
शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस सभापति देउवाले बिपीको योगदानलाई कदर गर्दै भवन निर्माणका लागि काठमाडौँ महानगरपालिका र प्रदेश सरकारले उपलब्ध गराएको सहयोग प्रति पार्टीका तर्फबाट धन्यवाद दिनुभयो ।
‘बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो’ देउवाले भन्नुभयो, ‘विपी हामी सबैको सम्झनामा चीर हुनुहुन्छ । विद्वान मात्रै होइन राष्ट्रवादी र समाजवादी नेता भएकाले उहाँ चीर हुनु भएको हो ।’
करीब २ मिनेटको धारणामा देउवाले आगामी दिनमा आम नेपालीका लागि यो केन्द्र कोइरालाको ख्याती र उहाँका बारेमा अध्ययन–अनुसन्धान गर्ने केन्द्रका रुपमा दरिलो गरी उभिने अपेक्षा लिएको बताउनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस महामन्त्री समेत रहनु भएका विपीपुत्र शशांकले विपीकोे स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्वपूर्ण दिनका रुपमा लिएको बताउनुभयो । ‘काठमाडौँ महानगरपालिकाका मेयरज्युलाई धन्यवाद,’ कोइरालाले भन्नुभयो, ‘उहाँले बजेट दिनुभयो । त्यसैको आधारमा यहाँ आज शिलान्यास कार्यक्रम राखेका हौँ ।
भवन त संरचना मात्रै हो । त्यहाँ आत्मा हुनुपर्छ । आत्माले नै प्रोत्साहन गर्ने हो । आत्मा नमर्ने गरी अध्ययन–अनुसन्धान केन्द्रलाई अघि बढाउनुहोला ।’
कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफु कुनै समय बिपीलाई हेर्न र सुन्न सार्बजनिक कार्यक्रममा जाने गरेको स्मरण गराउँदै आज उहाँकै स्मृतिमा निर्माण हुन लागेकोमा प्रशन्नता व्यक्त गर्नुभयो ।
‘कुनै समय टाढाबाट सुनेको, हेरिएको र आफूले पनि सम्मान गरेको व्यक्तिको स्मृतिमा निर्माण हुने भवनलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ ।’ शाक्यले भन्नुभयो, ‘ बिपीपुत्र शशांकले भन्ने वित्तिकै राम्रो काममा सबैले सहमतिका साथ सहयोग गर्नुपर्छ भनेर महानगरपालिकाले सहयोग गरेको हो ।’
कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा प्रमुख शाक्यले काँग्रेस सभापति देउवातिर संकेत गर्दै दुर्घटनाबाट देशलाई बचाउन आग्रह गर्नुभयो । ‘२०१५ सालमा विपीले ल्याएको दुई–तिहाईको सरकार तत्कालीन शासकबाट खोसिएको थियो ।’ शाक्यले भन्नुभयो, ‘अहिले देशलाई दुर्घटनाबाट बचाउन नेतृत्वलाई यहाँहरुबाट पूर्ण सहयोग हुनेमा आशा लिएको छु ।’
शाक्यले आफू स्वर्गीय बीपीको कार्यकर्ता नभए पनि एक अनुयायी भएको स्मरण गराउनुभयो । ‘देश विकासका लागि जीवन समर्पण गर्ने सबै नेता आदरणीय हुनुहुन्छ,’ शाक्यले भन्नुभयो, ‘उहाँहरुलाई पढ्नुपर्छ, बुझ्नुपर्छ ।’
ट्रष्टका महासचिव रामचन्द्र पोख्रेलले नेपाली साहित्यलाई अन्तराष्ट्रियस्तरमा समेत ख्याती कमाउन सफल बीपीलाई अन्तराष्ट्रिय स्तरसम्म परिचित गराउन उहाँको स्मृतिमा अध्ययन–अनुसन्धान केन्द्र स्थापना गरेको बताउनुभयो ।
‘बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले किसान र र मजदुरलाई केन्द्रविन्दुमा राखेर समाजवादको आन्दोलन अघि बढाउनुभयो,’ पोख्रेलले भन्नुभयो, ‘उहाँको सामाजिक आन्दोलनमा पनि विशिष्ट भूमिका छ । उहाँको अध्ययन गर्न आवश्यक छ ।’
पोख्रेलले बीपीका भाषण, उहाँले लेखेका पुस्तक र उहाँले राष्ट्रका लागि गरेका योगदानलाई समेत ध्यान दिदैँ उहाँकाबारेमा अध्ययन र विविध अनुसन्धान गर्ने उद्देश्य रहेको बताउनुभयो ।
अन्तराष्ट्रियस्तरका व्यक्तिहरुलाई समेत नेपालमा आएर बीपीका बारेमा एकै ठाउँ बसेर अध्ययन गर्ने केन्द्रका रुपमा स्थापित गर्न यो अध्ययन र अनुसन्धानमा केन्द्रीत हुनेछ ।
कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष रमेश डंगोलसहित विभिन्न क्षेत्रका पदाधिकारीहरुको सहभागिता थियो ।