स्थानीय बजारमा सुनको मूल्यमा कमी आए
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा समेत कमी आएको हो । लामो समयदेखि बढ्दै गएको सुनको मूल्य पछिल्लो एक सातादेखि घट्दै गएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा एक हजार पाँच सय रुपियाँले कमी आएको हो । एक साताको अवधिमा सुनको मूल्य निरन्तर घट्दै गएको तथ्याङ्कले देखाएको छ ।
महासङ्घका अनुसार गत साता प्रतितोला एक लाख १९ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर एक लाख १८ हजार रुपियाँमा कारोबार भएको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔँस दुुई हजार २४ डलरमा कारोबार भएको छ । बजारमा सुनको मूल्य घटे पनि कारोबार भने बढ्न नसकेको व्यवसायीको भनाइ छ । माघ महिना लगनको सिजनमा पनि कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ ।
आर्थिक मन्दीको प्रभावसँगै उपभोक्ताको क्रयशक्ति बढ्न नसक्दा सुनको कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ । लगनको सिजन भए पनि न्युरोडका सुन पसलमा चहलपहल भने न्यून देखिन्छ ।
यसैबिच चाँदीको मूल्यमा समेत कमी आएको छ । गत साता प्रतितोला एक हजार ४१५ रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर प्रतितोला एक हजार ३९० रुपियाँमा कारोबार भइरहेको छ ।