तिहार नजिकिएसँगै सरकारले मिठाईको गुणस्तरमा कडाइ
काठमाडौँ । तिहार नजिकिएसँगै सरकारले मिठाईको गुणस्तरमा कडाइ गरेको छ । तिहारमा मिठाईको माग र खपत बढ्ने भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई पसलमा कडा निगरानीका साथै नयाँ मापदण्ड अनिवार्य कार्यान्वयनमा ल्याएको हो ।
विभागले हालै मात्र मिठाईको नाम, कच्चा पदार्थको सूची, तेल वा घिउको प्रकार, उपभोग्य अवधि र प्रतिकेजी मूल्य अनिवार्य रूपमा टाँस्नुपर्ने गरी नयाँ मापदण्ड लागु गरेको छ ।
त्यस्तै ‘सोकेस’ मा विवरण नटाँसी वा अखाद्य रङ तथा बिग्रिएको तेल प्रयोग गरी मिठाई बिक्री गरेको पाइए कडा कारबाही गर्ने पनि विभागले जनाएको छ ।
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले खुला मिठाईमा उत्पादन मिति र उपभोग्य अवधि लेख्न दिएको समयसीमा सकिएकाले अब अनुगमन र कारबाही हुने जानकारी दिनुभयो ।
मापदण्ड कार्यान्वयन नगरेका पसलहरूको तथ्याङ्क लिएर खाद्य ऐन र उपभोक्ता संरक्षण ऐनबमोजिम मुद्दा दायर गर्ने र जरिबानाको प्रक्रियासमेत सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
विभागका अनुसार हालसम्म देशभरका ४२८ वटा मिठाई पसलमा विशेष अनुगमन गरिएको छ । अनुगमन गरिएकामध्ये २२२ वटा पसलले पूर्ण रूपमा सूचना (लेबल) टाँस्ने काम कार्यान्वयन गरिसकेका छन् । त्यस्तै ४३३ पसललाई सचेत गराउँदै विभागले निर्देशनपत्र दिएको छ ।
विभागका अनुसार काठमाडौँ उपत्यकाका ५३ वटा चर्चित मिठाई पसलमा अनुगमन गर्दा अधिकांशमा अखाद्य वस्तु, महिनौँसम्म डढेको अलकत्रा जस्तो तेलको पुनः प्रयोग, अत्यधिक औद्योगिक रङ र भान्सामा मरेका झिँगा तथा साङ्ला पाइएको थियो । सो अवस्था दोहोरिन नदिन यस पटक कडा सतर्कता अपनाएको विभागले दाबी गरेको छ ।
बिदामा पनि अनुगमन
खाद्य विभाग र यस अन्तर्गतका कार्यालयहरूले सार्वजनिक बिदामा पनि तिहारलक्षित अनुगमन गर्ने भएका छन् । विभागका अनुसार तिहारमा बढी जसो मिठाईजन्य र खाद्यान्नका परिकारको कारोबार हुने भएकाले बिदामा अनुगमन गरिने भएको हो ।
यसका लागि केन्द्रमा विभागबाट दुई समूह र उपत्यकाबाहिर रहेका ३० वटा खाद्य कार्यालय अन्तर्गत एक/एक समूहले अनुगमन गर्ने भएका हुन् ।
महानिर्देशक कर्णले चाडपर्वका बेला उच्च मागको फाइदा उठाउँदै उपभोक्ताको स्वास्थ्यमाथि हुने सम्भावित खेलबाड रोक्न बिदामा समेत तिहारलक्षित अनुगमन नियमित गरिने बताउनुभयो ।























