sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

युरोपमा बढ्दै रोजगारीको आकर्षण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । खाडी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोडिएको छ । आकर्षक तलब, श्रमिक मैत्री कानुन र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थालेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार नेपाली रोमानिया, क्रोएसिया, माल्टा, साइप्रसलगायतका देशमा बढी जाने गरेका छन् । चालु आर्थिक वर्ष २०८१र८२ को आठ महिनामा युरोपका चार वटा देशमा ३४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तुलनामा चालु आर्थिक वर्षको सो अवधिसम्म युरोपका रोमानिया, क्रोएसिया, माल्टा र साइप्रस जानेको सङ्ख्या ३२ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको यस अवधिसम्म ती देशका लागि ३४ हजार ३६६ जनाले श्रम स्वीकृति लिएकोमा गत आवको सोही अवधिसम्म २३ हजार ५१० जनाले श्रम स्वीकृति लिएका थिए । जुन सङ्ख्या गत आवको सो अवधिको तुलनामा चालु आर्थिक वर्षको सो अवधिमा १० हजार ८५६ जनाले बढी हो ।

वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले पछिल्ला वर्षमा नेपाली युरोपेली मुलुक रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस लगायतका देशमा जाने क्रम बढेको जानकारी दिनुभयो ।

श्रम स्वीकृति नलिई भ्रमण भिसा वा अन्य माध्यमबाट जाने र उतै काम गर्नेको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ । ती देशमा संस्थागत नभएर व्यक्तिगत भिसामा जाने गरेको खाडी र मलेसियाको तुलनामा लागत बढिरहेको छ ।

विभागका अनुसार सङ्ख्याका हिसाबले युरोपमा सबैभन्दा धेरै रोमानिया जाने बढेका छन् । चालु आर्थिक वर्षको यस अवधिसम्म रोमानिया जाने नेपाली १७ हजार ८३० जना रहेका छन् । जबकि गत आर्थिक वर्षको सो अवधिमा रोमानियामा सात हजार ५४४ जनाले श्रम स्वीकृति लिएर गएका थिए ।

विभागका अनुसार क्रोएसिया र साइप्रस जाने नेपालीको सङ्ख्या भने सामान्य रूपमा बढेको छ । गत आवको फागुनसम्ममा सात हजार ५०६ जना क्रोएसिया गएकोमा चालु आर्थिक वर्षको फागुनसम्म आठ हजार ८०५ जना पुगेका छन् ।

यस्तै चालु आर्थिक वर्षमा साइप्रसमा चार हजार ९० जना नेपाली श्रम स्वीकृति लिएका छन् । गत वर्ष यो सङ्ख्या तीन हजार ६७९ थियो । माल्टा जानेमा भने यस वर्ष दुई हजार ६४ जनाले कमी आएको छ ।

गत आवको फागुनसम्ममा चार हजार ५८३ जनाले माल्टाका लागि श्रम स्वीकृति लिएकामा चालु आवको फागुनसम्म दुई हजार ५१९ जनाले मात्रै श्रम स्वीकृति लिएको देखिन्छ । पछिल्लो दुई वर्षको आठ महिनाको प्रतिवेदन विश्लेषण गरेर हेर्दा पछिल्लो वर्ष माल्टा जानेको सङ्ख्या घटेको देखिन्छ ।

पछिल्लो समयमा जर्मनीले नेपालबाट दक्ष तथा अर्धदक्ष नेपाली श्रमिक लिन इच्छा देखाउँदै आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी पक्षसँग नेपाली श्रमिक पठाउन सक्ने सम्भावित क्षेत्रबारे अध्ययन पनि सुरु गरेको जनाएको छ ।

वैदेशिक रोजगार व्यवसायीले युरोपका कतिपय मुलुकमा नेपाली श्रमिकको माग राम्रो भए पनि मागपत्र प्रमाणीकरण झन्झटिलो भएका कारण यो अवसर नेपालले गुमाएको भन्दै सहज गर्न सरकारसँग माग गर्दै आएका छन् ।

युरोपमा व्यक्तिगत भिसामा नेपाली जाने क्रम बढेपछि श्रम मन्त्रालयले दुई वर्षपहिले नै दूतावास नभएका  देशको  प्रमाणीकरण  नेपालबाटै  गर्ने  तयारी गरे पनि परराष्ट्र मन्त्रालयले नमान्दा रोकिएको छ ।

gold
nawakantipur long