citizens life insurance long ad
stcnepal long ad

पाकिस्तानमा सुरक्षा कारबाही: उत्तर पश्चिममा दुई छापामा १५ आतंककारी मारिए

Nimb long ad
Prabhu Insurance Long Ad

पाकिस्तानी सेनाले मंगलवार अफगानिस्तानको सीमा नजिक रहेको देशको उत्तर पश्चिमी क्षेत्रमा गुप्तचर सूचनाका आधारमा दुई वटा गोप्य स्थानमा विशेष छापा मार्दै १५ जना आतंककारीलाई मारिएको जनाएको छ ।

सैन्य विज्ञप्तिअनुसार डेरा इस्माइल खान र उत्तरी वजीरिस्तानमा गरिएको छुट्टाछुट्टै कारबाहीमा ती आतंककारीको मृत्यु भएको हो ।

सेनाले पहिलो अपरेसन खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत डेरा इस्माइल खान जिल्लामा सञ्चालन गर्दै १० जना पाकिस्तानी तालिबान सदस्य मारिएको पुष्टि गरेको छ । यसैगरी, दोस्रो कारबाही उत्तरी वजीरिस्तानमा गरिँदा थप पाँच जना आतंककारी मारिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा सेनाले मारिएका ती व्यक्तिहरूलाई ‘ख्वारिज’ का रूपमा पहिचान गरेको छ । यो शब्द अधिकारीहरूले अफगानिस्तान र भारतद्वारा समर्थन प्राप्त गरेको आरोप लागेका आतंकवादीहरूका लागि प्रयोग गर्दै आएका छन् ।

यसमा प्रतिबन्धित तेहरीक(ए(तालिबान पाकिस्तान ९टिटिपी० का सदस्यहरू समेत समावेश हुने दाबी गरिएको छ । काबुल र नयाँ दिल्ली दुवैले यस प्रकारका आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् ।

पाकिस्तानी तालिबान, अफगान तालिबानसँग छुट्टै तर वैचारिक रूपमा नजिक रहेको समूहको रूपमा परिचित छ । काबुलमा सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि टिटिपीले आफ्नो गतिविधि विस्तार गरेको र मनोबल बढेको सुरक्षा अधिकारीहरूले बताउँदै आएका छन् ।

अहिलेसम्म धेरै टिटिपी नेता तथा लडाकूहरूले अफगानिस्तानको सीमापार रहेका सुरक्षित आश्रय स्थानहरूबाट सञ्चालन गरिरहेको विश्वास गरिन्छ । यसले इस्लामाबाद र काबुलबीचका कूटनीतिक तथा सुरक्षा सम्बन्धलाई थप तनावपूर्ण बनाइरहेको पाकिस्तानी अधिकारीहरूको मूल्यांकन छ ।

IME Life
kumari