stcnepal long ad

गाईको दूधमा बर्ड फ्लुको सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

Nimb long ad
Prabhu Insurance Long Ad

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा अत्यधिक मात्रामा देखिएको जनाएको छ ।

एभियन इन्फ्लुएन्जा ए (एचफाइभ एनवान) पहिलो पटक सन् १९९६ मा देखा परेको थियो तर सन् २०२० देखि सङ्क्रमित स्तनधारीहरूको सङ्ख्यामा वृद्धिसँगै चराहरूमा प्रकोपको सङ्ख्या तीव्र रूपमा बढेको छ ।

वर्ड फ्लुको यो प्रजातीका कारण दशौं लाख कुखुरा जङ्गली चराहरूको मृत्यु भएको छ भने जमीन र समुद्री स्तनधारीहरू पनि सङ्क्रमित भएका छन् ।

गत महिना यसबाट सङ्क्रमित हुने सूचीमा यस प्रकारको इन्फ्लुएन्जाको लागि अति संवेदनशील नठानिएका गाई र बाख्राहरूसमेत परेका भेटिएका थिए । विशेषज्ञहरूको लागि यो अर्को चुनौतीको बिषय बनेको छ ।

अमेरिकी अधिकारीहरूले यसै महिनाको सुरुमा टेक्सासको एक डेरी फार्ममा काम गर्ने एक व्यक्ति पशुको सम्पर्कमा आएपछि बर्ड फ्लुबाट मुक्त भएको बताएका थिए ।

विश्व स्वास्थ्य सङ्गठनको ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेनकिङ झाङले भन्नुभयो, “टेक्सासमा गाईबाट एभियन इन्फ्लुएन्जा मानिसमा सङ्क्रमण भएको यो पहिलो घटना हो ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “चराबाट गाई, गाईबाट गाई र गाईबाट चरामा सर्ने सङ्क्रमण पनि पछिल्लो प्रकोपको समयमा भेटिएको छ । यसले हामीले पहिले बुझेको भन्दा सङ्क्रमणका अन्य मार्गहरू फेला पारेको हुन सक्छ भन्ने देखाउँछ ।”

संयुक्त राज्य अमेरिकामा बर्ड फ्लुको लागि एक मानव परीक्षण गरिएको यो दोस्रो घटना थियो र भाइरसले जङ्गली चराहरूको सम्पर्कमा आएका झुण्डहरूलाई बिरामी पारेपछि यो घटना सार्वजनिक गरिएको थियो ।

झाङले भन्नुभयो, “अहिले हामीले अमेरिकी राज्यहरूमा गाईका धेरै झुण्डहरू प्रभावित भएको देख्छौं, जसले स्तनधारी जनावरहरूमा भाइरस फैलिने अर्को कदम देखाउँछ ।” सङ्क्रमित जनावरको दूधमा पनि यो भाइरस देखिएको छ ।

झाङले भन्नुभयो “गाईको काँचो दूध (छाले दुध) मा भाइरसको सघनता धेरै थियो, तर विशेषज्ञहरूले अझै पनि दूधमा भाइरस कति समयसम्म बाँच्न सक्छ भनेर अनुसन्धान गरिरहेका छन् ।

टेक्सासको स्वास्थ्य विभागले बिरामी गाईको दूध नष्ट गर्न डेरीहरू आवश्यक पर्ने भएकाले व्यावसायिक रूपमा दूध आपूर्तिका लागि पशुको सङ्क्रमणले चिन्ता सिर्जना गरिनसकेको बताएको छ । दुध शुद्ध पार्ने प्रक्रिया ‘पाश्चराइजेशन’ले यो भाइरसलाई मार्ने बताइएको छ ।

झाङले भन्नुभयो, “मानिसहरूले सुरक्षित खाद्य अभ्यासहरू सुनिश्चित गर्न महत्त्वपूर्ण छ । यसका लागि ‘पास्चुराइज्ड’ दूध र दुग्धजन्य उत्पादनहरू मात्र उपभोग गर्नु सुरक्षित हुनेछ ।

सन् २००३ देखि यस वर्षको अप्रिल १ सम्म विश्व स्वास्थ्य सङ्गठनले २३ देशमा ८८९ जना मानिसमा सङ्क्रमण हुँदा ४६३ जनाको मृत्यु भएको जनाएको छ ।

झाङका अनुसार पछिल्ला केही वर्षयता युरोप र संयुक्त राज्य अमेरिकामा भाइरस बढेयताका मानवीय घटनामा हल्का सङ्क्रमण देखिएको छ ।

अहिलेसम्म मानिसमा फैलिरहेको कुनै प्रमाण भेटिएको छैन । यदि आवश्यक भएमा उपचारका लागि एचफाइभ एनवान विरूद्धको केही खोप उत्पादनको तयारी भइसकेको झाङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आवश्यक परेको खण्डमा मानवका लागि छिटो खोप उत्पादन गर्न तयार छौँ ।”