चीनमा एप्पलको आइफोन बिक्रीमा गिरावट
चीनमा एप्पलको आइफोन बिक्रीमा गिरावट आएको छ । सन् २०२४ को पहिलो ६ हप्तामा आइफोनको बिक्रीमा २४५ गिरावट आएको अनुसन्धान कम्पनी ‘काउन्टरपोइन्ट’ को तथ्यांकलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।
अमेरिकी प्रविधि कम्पनी एप्पलले चीनको स्थानीय कम्पनी हुवावेबाट कडा प्रतिस्पर्धाको सामना गर्नुपरेपछि आइफोनको बिक्रीमा गिरावट आएको रोयटर्सले उल्लेख गरेको छ ।
चीनमा प्रिमियम स्मार्टफोन सेगमेन्टमा एप्पलको प्रमुख प्रतिद्वन्द्वी हुवावेले भने यसअवधिमा आफ्ना फोनहरुको बिक्री ६४% ले बढाएको रिपोर्टले देखाएको छ । एप्पलले यसअघि लगानीकर्ताको अपेक्षाभन्दा ६ अर्ब डलर कम आम्दानी हुने प्रक्षेपण गरेको थियो ।
चिनियाँ बजारमा उत्पादन बिक्री घटेसँगै एप्पलको माग र आम्दानी दुवैमा थप कमी आउने अनुमान गरिएको छ ।यता, चिनियाँ स्मार्टफोन बजारमा एप्पलको हिस्सा घटेर १५।७५ मा सीमित भएको र चौथो स्थानमा झरेको रिपोर्टमा उल्लेख छ ।
गत वर्षको यसै अवधिमा भने चीनमा एप्पलले दोस्रो स्थानमा १९% बजार हिस्सा ओगटेको थियो । हाल दोस्रो स्थानमा उक्लिएको हुवावेको बजार हिस्सा भने गत वर्षको ९.४% बाट बढेर १६.५% पुगेको छ ।
हुवावेले गत वर्ष फाइभजी प्रविधियुक्त मेट ६० सिरिजका फोन सार्वजनिक गरेपछि प्रिमियम स्मार्टफोन बिक्रीमा पुनरागमन गरेको छ ।
अमेरिकाले विभिन्न प्रतिबन्ध लगाएपनि हुवावे फाइभजी प्रविधियुक्त फोन ल्याउन सफल भएको थियो । यता, उत्पादन बिक्रीमा संघर्ष गरिरहेको एप्पलले भने आइफोनको बिक्री बढाउन विभिन्न छुटका अफरहरु ल्याउन सुरु गरेको छ ।
























