अजोड इन्स्योरेन्सले ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाए
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा अजोड इन्स्योरेन्सले ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ५०.८५% ले धेरै हो । अघिल्लो वर्ष अजोडले ४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क पनि ७९.१७% ले बढेर २७ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यसको सकारात्मक प्रभाव खुद नाफामा देखिएको हो ।
अघिल्लो वर्ष यस कम्पनीले १५ करोड १५ लाख खुद बिमा शुल्क आर्जन गरेको थियो । बिमा कोषको आकार पनि बढाएर ६ करोड १६ लाख रुपैयाँ पुर्याएको छ ।
अघिल्लो वर्ष बिमा कोषमा ३ करोड ५ लाख रुपैयाँ मात्र थियो । हाल अजोडको चुक्ता पुँजी ७१ करोड ५० लाख रुपैयाँ छ । कम्पनीले असार २५ गतेबाट ३० गतेसम्म ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
आइपीओ बिक्रीपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेको छ । यसको रिजर्भ कोषमा ४ करोड ५४ लाख रुपैयाँ छ । अजोडले महाविपत्ति कोषका लागि पनि ७० लाख रुपैयाँ छुट्याएको छ ।
यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ९७ पैसा रहेको छ । अजोडको अहिले दोस्रो बजारमा सेयर कारोबार हुन थालिसकेको छ ।































