citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

१० जीवन बीमा र ८ निर्जीवन बीमा कम्पनीको न्यूनतम् चुक्ता पुँजि पुग्न बाँकी, कसले कसरी थप्दैछन पुँजि ?

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजि जीवन बीमाका लागि पाँच अर्ब र निर्जीवन बीमाका लागि साढे दुई अर्ब पुर्याउनु पर्ने समय बितिसकेको छ ।

तर, नेपालमा सञ्चालित जीवन बीमा कम्पनी र ८ निर्जीवन बीमा कम्पनीहरुले अझै पनि तोकिएको न्यूनतम् चुक्ता पुँजि पुर्याउन सकेको छैनन् ।

नियामक बीमा प्राधिकरणले एक वर्षभित्रैमा अर्बौ रुपैयाँ चुक्ता पुँजि थप्न दिएको अव्यवहारिक निर्देशनका कारण बीमा कम्पनीहरुले चाहेर पनि चुक्ता पुँजि थप्न सकिरहेका छैनन् ।

नियामक नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजि पुर्याउनु भनेर सिर्जना गरेको आतंकका कारण नौ वटा जीवन बीमा र १० वटा निर्जीवन बीमा सहित कूल १९ वटा बीमा कम्पनीहरु मर्जरमा जाँदा समेत अधिकांश बीमा कम्पनीहरुको चुक्ता पुँजि अझै पुगेको छैन ।

नेपाल राष्ट्र बैंकले पाँच करोडका वालेटहरुलाई पुँजि बृद्धिका लागि २०८५ सम्मको दीर्घकालिन र रणनीतिक योजना अघि सारेर पूँजीबृद्धि गराउँदा बीमा क्षेत्रमा भने हठात वर्षदिनमा साढे दुई गुणाबढि पुँजि बृद्धि गर्ने निर्णय गएिको थियो । कार्यान्वयन पक्ष हेर्दै नहेरी गरिएको पुँजिबृद्धिको लक्ष्य पुरा हुन अझै समय लाग्ने देखिएको छ ।

चालू आर्थिक वर्ष ०८०/०८१ को प्रथम त्रैमासम्ममा जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ५७ अर्ब रुपैयाँ पुगेको छ ।

जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालू आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको तुलनामा यस आवमा जीवन बीमा कम्पनीहरुको कूल चुक्ता पुँजि उल्लेख्य बृद्धि भएको छ ।

गत आवको यसै अवधीमा ५३ अर्ब १४ करोड ८५ लाख रुपैयाँ रहेको चुक्ता पूँजी रहेकोमा चालु आवकोे पहिलो त्रैमासमा ५७ अर्ब चार करोड ८९ लाख रुपैयाँ रहेको छ । निर्जीवन बीमा कम्पनीहरुको कुल चुक्ता पूँजी भने २५ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ छ ।

चुक्ता पुँजि बृद्धि भएपनि अझै १० वटा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजि पुरा हुन बाँकी छ । केही कम्पनीहरुले प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने मौका पाए भने केहीले हकप्रद मार्फत शेयर बिक्री गरी चुक्ता पुँजि बृद्धि गर्ने अभियानमा रहेका छन् । यद्यपि पछिल्लो एक वर्षमा बीमा कम्पनीहरुको चुक्ता पुँजि उल्लेख्य मात्रामा बृद्धि भएको छ ।

न्यूनतम् चुक्ता पूँजी पुर्याउन बाँकी भएका जीवन बीमा कम्पनीहरुको योजना के छ ?

१, एशियन लाइफ इन्स्योरेन्स
एशियन लाइफ इन्स्योरेन्सले बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन हकप्रद जारी गर्ने भएको छ । प्राधिकरणले कम्पनीलाई ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिइसकेको छ ।

हाल ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पूँजी ४२ प्रतिशत हकप्रदपछि ४ अर्ब ४८ करोड ५ लाख रुपैयाँ पुग्ने छ । बाँकी रहेको अपुग पुँजी कम्पनीले बोनस शेयरमार्फत पूर्ति गर्ने कम्पनीको योजना रहेको कम्पनीले जनाएको छ ।

२. एलआईसी नेपाल
एलआइसी नेपालले प्राधिकरणले निर्देश गरेको न्यूनतम चुक्ता पूँजी पुर्याउन ८७ प्रतिशत हकप्रद जारी गर्ने योजना अघि बढाएको छ । कम्पनीले १ः०.८८४% को अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

बोर्डले उक्त परिणाममा हकप्रद शेयर जारी गर्न अनुमति दिएमा कम्पनीको चुक्ता पूँजी पाँच अर्ब पुग्ने छ । अन्य बीमा कम्पनीलाई हकप्रद जारी गर्न बीमा प्राधिकरणले अहिलेसम्म यति ठूलो जारी अनुमति दिएको थिएन ।

छिमेकी मुलुक भारतको एलआइसी इण्डियाको मुख्य स्वामित्व रहेको कम्पनी भएका कारण एलआइसी नेपाललाई यति ठूलो अंकको हकप्रद जारी गर्न अनुमति दिएको हो ।

कारण कम्पनीले पूँजी बृद्धि योजनामा सहभागि हुन मर्जरको विकल्प र अन्य व्यवस्था लागु गर्न नपाउने भएका कारण कम्पनीलाई ५० प्रतिशत भन्दामाथि हकप्रद जारी गर्न अनुमति दिएको हो ।

एलआइसी हाल हकप्रद शेयर जारी गर्ने प्रक्रियामा रहेको छ । पाँच अर्ब पुर्याउन कम्पनीलाई कुनै जटिल उपकरण प्रयोग गर्नुपर्ने अवस्था छैन ।

३, सूर्यज्योति लाइफ इन्स्योरेन्स
बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन सूर्यज्योति लाइफ इन्स्योरेन्सले १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ छ ।

सूर्या लाइफ र ज्योति लाइफबीचमा मर्ज हुँदा पनि तोकिएको चुक्ता पुँजि नपुगेपछि उक्त कम्पनीले हकप्रद जारी गर्ने बाटोमा अघि बढेको जनाएको छ ।

४, प्रभु महालक्ष्मी लाइफ
न्यूनतम् चुक्ता पूँजीका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । बीमा प्राधिकरणले कम्पनीलाई १७ प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गरिसकेको छ ।

महालक्ष्मी लाइफ र प्रभु लाइफ मर्ज भई बनेको प्रभु महालक्ष्मीको चुक्ता पूँजी हाल ४ अर्ब २९ करोड ९६ लाख रुपैयाँ छ । कम्पनीले हकप्रद निष्काशन गरिसकेपछि प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुग्नेछ ।

५, सानिमा रिलायन्स लाइफ
सानिमा रिलायन्स लाइफले प्राधिकरणद्वारा निर्देशित न्यूनतम चुक्ता पूँजी पुर्याउन २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । उक्त हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब २ करोड ८ लाख रुपैयाँ पुग्नेछ ।

६. रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेर चुक्ता पूँजी चार अर्ब पुर्याएको छ । कम्पनीले बाँकी रहेको १ अर्ब पूँजी अब बोनस शेयर जारी गरेर परिपूर्ति गर्ने कम्पनीका सूचना अधिकारी दिपेशबाबु तिवारीले बताए ।

७, सिटिजन लाइफ
सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पोषकराज पौडेलले जगेडा कोष र वितरणयोग्य मुनाफाबाट बोनस शेयर जारी गरेर बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउने योजना रहेको बताएका छन् ।

८, राष्ट्रिय जीवन बीमा कम्पनी
राष्ट्रिय जीवन बीमा कम्पनीलाई प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन कठिनाई छैन । नेपाल राष्ट्र बैंक, नेपाल बैंक र अर्थ मन्त्रालयको स्वामित्व रहेको कम्पनी भएका कारण न्यूनतम चुक्ता पूँजी पुर्याउन कठिनाई नभएको बताइएको छ । यद्यपि यो निर्णय कार्यान्वयन गर्न वर्षौ लाग्न सक्नेछ ।

राष्ट्र बैंकले आफ्नो हिस्साको पूँजी उपलब्ध गराइसकेको छ भने नेपाल बैंक र अर्थ मन्त्रालयले समेत आपसी सम्वनय गरी आवश्यक पूँजी उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेका छन् । जसबाट कम्पनीको न्यूनतम चूक्ता पूँजी व्यवस्थापन हुनेछ ।

९. आइएमई लाइफ
समीक्षा अवधिसम्म आइएमई लाइफको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ छ । प्राधिकरणले तोकेको न्यूनतम चूक्ता पूँजी पुर्याउन आइएमई लाइफलाई अझै १ अर्ब रुपैयाँ जरुरी छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका कम्पनी सचिव प्रकाश न्यौपानेले प्राधिकरणले तोकेको न्यूनतम चूक्ता पूँजी पुर्याउने सम्बन्धमा आगामी वार्षिक साधारण सभाले निर्णय गर्नसक्ने सम्भावना रहेको बताएका छन् ।

१०, सन नेपाल लाइफ इन्स्योरेन्स
सन नेपाल लाइफ इन्स्योरेन्सले पूँजी वृद्धि योजनामा मर्जरको विकल्प प्रयोग नगरी पाँच अर्ब रुपैयाँ चूक्ता पूँजी पुर्याउने रणनीति लिएको छ ।

हाल कम्पनीको चूक्ता पूँजी तीन अर्ब २० करोड रुपैयाँ छ । कम्पनीले पूँजी बृद्धि योजनामा सहभागि हुनका लागि हकप्रद शेयर र बोनस शेयर वितरणको माध्यम प्रयोग गर्ने भएको छ । छलफल भइरहेको र अहिले नै अन्तिम अवस्थामा पुगिसकेको छैन ।

निर्जीवन बीमा क्षेत्रमा पनि चुक्ता पुँजि पुर्याउन ८ वटा कम्पनीको बाँकी रहेको छ । अधिकांश मर्जरमा गएका कम्पनीहरुको पनि चुक्ता पुँजि नपुगेपछि कतिपय पुराना कम्पनीका सञ्चालकहरु मर्जरप्रति पश्चताप गर्न थालेका छन् ।

निर्जीवन बीमा कम्पनीहरु
निर्जीवन बीमा कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले न्यूनतम चूक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । प्राधिकरणको निर्णय अनुसार ४ निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी पुर्याएका छन् ।

जसमा शिखर इन्स्योरेन्सको चुक्ता पूँजी प्राधिकरणले तोकेको अनुसार पहिले नै पुगिसकेको छ भने अन्य सबै कम्पनीहरुलाई मर्जर वा पुँजि थप आवश्यक थियो ।

सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुमध्ये ३ कम्पनीले मर्जरमा गई प्राधिकरणले तोकेको न्यूनतम चूक्ता पूँजी पुर्याएका छन् ।

जस अन्तर्गत आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आफुलाई पायक पर्ने कम्पनीसँग मर्ज गरेर आवश्यक चूक्ता पूँजी पुर्याएका हुन् ।

समीक्षा अवधिमा सबैभन्दा बढी चूक्ता पूँजी आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको छ । यो कम्पनीको चूक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ छ ।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ अर्ब ८० करोड रुपैयाँ, शिखर इन्स्योरेन्सको २ अर्ब ६५ करोड रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्स ९सलिको० को २ अर्ब ६२ करोड रुपैयाँ छ ।

हकप्रद मार्फत चुक्ता पुँजी पुर्याउने योजनामा रहेका निर्जीवन बीमा कम्पनी

१, एनएलजी इन्स्योरेन्स
निर्जीवन बीमा कम्पनीहरुमध्ये एनएलजी इन्स्योरेन्सले सबैभन्दा बढी प्रतिशतमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले बीमा प्राधिकरणले तोकेको न्यूनतम चूक्ता पूँजी पुर्याउन ६६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । उक्त हकप्रद शेयर निष्कासनपछि कम्पनीको पूँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ ।

२. हिमालयन एभरेष्ट
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको चूक्ता पूँजी २ अर्ब ३० करोड रुपैयाँ छ । प्राधिकरणले तोकेको न्यूनतम चूक्ता पूँजी पर्याउन कम्पनीले १२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विषयमा छलफल अघि बढाएको छ ।

सो १२ प्रतिशत हकप्रद निष्काशनपछि कम्पनीको चूक्ता पूँजी २ अर्ब ५७ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।

३. नेको इन्स्योरेन्स
नेको इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बीमा प्राधिकरणले तोकेको न्यनतम चुक्ता पूँजी पुर्याउन कम्पनीले हकप्रद निष्काशन गर्न लागेको हो ।

उक्त हकप्रद निष्काशन पश्चात कम्पनीको पूँजी २ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ पुग्नेछ ।

४. सानिमा जिआईसी इन्स्योरेन्स
बीमा प्राधिकरणको नीतिले सबैभन्दा पहिले मर्ज भई बनेको सानिमा जीआईसी इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।

बीमा प्राधिकरणले तोकेको न्यूनतम चूक्ता पूँजी पुर्याउन कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो । उक्त हकप्रद निष्कासनपछि कम्पनीको चूक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

५. यूनाइटेड अजोड इन्स्योरेन्स
युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । बीमा प्राधिकरणको निर्देशन अनुसारको न्यूनतम चूक्ता पूँजी पुर्याउन हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

६. नेपाल इन्स्योरेन्स
बीमा प्राधिकरणले तोकेको न्यूनतम चूक्ता पूँजी पुर्याउन नेपाल इन्स्योरेन्सले ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बीमा प्राधिकरणले तोकेको न्यूनतम पूँजी पुर्याउन कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

७. प्रभु इन्स्योरेन्स
प्रभु इन्स्योरेन्सले ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बीमा प्राधिकरणले तोकेको न्यूनतम पूँजी पुर्याउन कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ ।

साथै, कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको स्वामित्वमा रहेको १९ लाख ७९ हजार ४२४ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले उक्त शेयर प्रतिकित्ता मूल्य २८० रुपैयाँमा बिक्रीमा ल्याएको छ ।

८, राष्ट्रिय बीमा कम्पनी
राष्ट्रिय बीमा कम्पनी सरकारी स्वामित्वमा रहेको कम्पनी हो । प्राधिकरणले तोकेको न्यूनतम पूँजी अर्थमन्त्रालयले नै आवश्यक समन्वय गरी जुटाइदिने भएको छ ।

यस बाहेक मेट लाइफ चुक्ता पुँजि नै नभएको विदेशी कम्पनी हो । त्यस्तै, नेशनल इन्स्योरेन्स र दि ओरियन्टल इन्स्योरेन्स कम्पनी भारतीय बीमा कम्पनीका नेपालस्थित शाखा कार्यालय मात्रैको हैसियतमा कार्यरत रहेका छन् ।

 

gold
himalayan life insurance long ad