बडादशैं २०८३: संस्कृतिको संरक्षण, सद्भाव र समृद्धिको संकल्प
नेपालीहरूको महान् सांस्कृतिक तथा धार्मिक पर्व बडादशैं २०८३ ले देशभर उत्साह, उमङ्ग र उल्लासको वातावरण सिर्जना गरेको छ। असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने बडादशैं नेपाली समाजको मौलिक पहिचान, पारिवारिक एकता र सामाजिक सद्भावको जीवन्त प्रतिबिम्ब हो। घटस्थापनादेखि सुरु हुने नवरात्र, दुर्गा भवानीको आराधना, फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी हुँदै कोजाग्रत पूर्णिमासम्म मनाइने यो पर्वले नेपाली जीवनमा विशेष महत्त्व राख्छ। बडादशैं केवल धार्मिक अनुष्ठान र परम्परागत उत्सवमा सीमित पर्व होइन।
यो पारिवारिक सम्बन्धलाई नवीकरण गर्ने, टाढिएका आफन्तलाई नजिक ल्याउने, अग्रजबाट आशीर्वाद लिने र नयाँ पुस्तालाई आफ्नो संस्कृति तथा परम्परासँग परिचित गराउने महत्त्वपूर्ण अवसर पनि हो। दशैंमा घरघरमा जमरा राख्ने, दुर्गा भवानीको पूजा गर्ने, मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने र सुख, शान्ति, समृद्धि एवं दीर्घायुको कामना गर्ने परम्पराले नेपाली समाजको आत्मीयतालाई बलियो बनाउँदै आएको छ।
विजयादशमीको मूल सन्देश विजयको उत्सव मनाउनु मात्र होइन, आफूभित्र रहेका अहङ्कार, लोभ, ईर्ष्या, अन्याय र विभेदजस्ता नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्नु पनि हो। समाजमा व्याप्त भ्रष्टाचार, बेथिति, हिंसा, अन्याय, असमानता र निराशालाई अन्त्य गर्न सके मात्र दशैंको वास्तविक सन्देश व्यवहारमा रूपान्तरण हुन सक्छ। त्यसैले यस वर्षको बडादशैंलाई व्यक्तिगत सुख र पारिवारिक खुसीमा मात्र सीमित नराखी सामाजिक रूपान्तरण र राष्ट्रिय एकताको संकल्प गर्ने अवसरका रूपमा लिन आवश्यक छ।
नेपालले राजनीतिक परिवर्तनका विभिन्न चरण पार गरे पनि नागरिकका अपेक्षा पूर्ण रूपमा सम्बोधन हुन सकेका छैनन्। बेरोजगारी, महँगी, आर्थिक मन्दीको प्रभाव, उत्पादनमा कमी, युवा पलायन र सुशासनको अभावले समाजमा चुनौती थपिरहेका छन्। चाडपर्वको समयमा समेत कतिपय परिवारलाई दैनिक उपभोग्य वस्तु जुटाउन कठिन भइरहेको यथार्थलाई बेवास्ता गर्न मिल्दैन। यस्तो अवस्थामा दशैंको खुसी सबै नागरिकसम्म पुर्याउन राज्य, समाज र जिम्मेवार नागरिकले आआफ्नो दायित्व निर्वाह गर्नुपर्छ। चाडपर्वका नाममा हुने अनावश्यक खर्च, देखासिकी र ऋण लिएर उत्सव मनाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै सरल, मितव्ययी र अर्थपूर्ण ढङ्गले पर्व मनाउनु आजको आवश्यकता हो।
दशैंले सामाजिक सद्भाव, सहिष्णुता र आपसी सहयोगको भावना पनि बलियो बनाउनुपर्छ। जातजाति, भाषा, धर्म, संस्कृति, वर्ग र राजनीतिक आस्थाका आधारमा विभाजित समाजलाई एकताको सूत्रमा बाँध्नु यस पर्वको महत्त्वपूर्ण पक्ष हो। आफूभन्दा कमजोर आर्थिक अवस्था भएका परिवार, ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायको खुसीमा सहभागी हुन सके दशैंको उल्लास अझ सार्थक बन्नेछ। कसैको घरमा उत्सव र कसैको घरमा अभावको पीडा रहिरहँदा सामाजिक न्याय र समृद्धिको हाम्रो संकल्प अधुरो हुन्छ।
यस अवसरमा सडक दुर्घटना, मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति, जुवातास, घरेलु हिंसा, खाद्यवस्तुमा हुने कालोबजारी तथा कृत्रिम अभावजस्ता समस्याप्रति पनि सचेत रहनुपर्छ। सम्बन्धित निकायले बजार अनुगमन, यातायात व्यवस्थापन, शान्ति सुरक्षा र उपभोक्ता हित संरक्षणलाई प्रभावकारी बनाउनुपर्छ। नागरिकले पनि ट्राफिक नियमको पालना, संयमित व्यवहार र जिम्मेवार उपभोगलाई प्राथमिकता दिनुपर्छ।
चाडपर्वलाई सुरक्षित, सभ्य र मर्यादित बनाउने दायित्व सबैको हो। बडादशैंले कृषि, पर्यटन, व्यापार, यातायात र साना व्यवसायमा आर्थिक गतिविधि बढाउने अवसर पनि प्रदान गर्छ। स्वदेशी उत्पादनको प्रयोग, स्थानीय बजारको प्रवर्द्धन र नेपाली उद्यमीलाई प्रोत्साहन गर्न सके चाडपर्वको आर्थिक लाभ देशभित्रै विस्तार गर्न सकिन्छ। साथै, विदेशमा रहेका नेपालीहरूका लागि दशैं परिवार, मातृभूमि र आफ्नो सांस्कृतिक पहिचानसँग जोडिने भावनात्मक अवसर हो। उनीहरूको श्रम, सीप र पुँजीलाई राष्ट्रिय विकाससँग जोड्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो।
अन्ततः बडादशैं २०८३ ले सबै नेपालीमा आशा, आत्मविश्वास, सद्भाव र नयाँ ऊर्जा सञ्चार गरोस्। व्यक्तिगत जीवनमा सुख, परिवारमा मेलमिलाप, समाजमा समानता र राष्ट्रमा सुशासन तथा समृद्धिको आधार बलियो बनोस्। पर्वको धार्मिक आस्था र सांस्कृतिक गरिमालाई जोगाउँदै यसले दिने सत्य, न्याय, सहिष्णुता र मानवताको सन्देशलाई व्यवहारमा उतार्न सकौँ।
सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बडादशैं २०८३ को हार्दिक मङ्गलमय शुभकामना१ विजयादशमीले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलताको नयाँ बिहानी ल्याओस्।

















