विजयादशमी २०८१ को शुभकामना
आज २०८१ असोज २६ गते शनिवार दशैंको दशौं दिन अर्थात विजयादशमी टीकाको दिन हो। आज दशैंको घटस्थापनामा जमरा राखि नवदुर्गा भवानीको पुजाआजागरि नवरात्री पुजाको बिसर्जनगरि ११स्२६ बजेपछि मान्यजनका हातबाट विजयादशमीको टीका र जमरा लगाइन्छ। घटनास्थापनादेखि नवमीसम्मका ९ दिनलाई नवरात्री भनिन्छ । नवरात्री घटस्थापनाबाट सुरु हुन्छ । यसपटकको घटस्थापना असोज १७ गते बिहीबार ९ बजेर १६ मिनेटमा थियो । पूजा कोठाको इशान कोणमा घडा स्थापना गरेर नवरात्री देवीहरूको पूजा गर्न कशल, जल अन्य पूजा सामग्री जुटाउनु नै घटस्थापना हो । त्यसै दिन जमरा राखिन्छ । जौ र मकै जमरा राख्ने मुख्य अन्न हुन् । देवीको पूजा मूलतः रात्रिकालीन अवधिमा उचित मानिएको हुँदा यी ९ दिनलाई नवरात्री भनिएको हो । ९ दिनको दुर्गा पूजा पूरा भएपछि १० औं दिन बिहान टीकाको साइत हुन्छ । यसपाली असोज २५ गते अष्टमी र नवमी दुबै तिथि एकै दिन परेको थियो । आज २६ गते विजयादशमीको टिकाको दिन हो । असोज १७ गतेदेखि २५ गतेसम्मको रातलाई नवरात्री भनिन्छ । नवरात्रीमा प्रत्येक दिन भिन्न रूपकी देवी शैलपुत्री,ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा,स्कन्दमाता,कात्यायनी,कालरात्री,महागौरी र सिद्धीदात्रीको पूजा सम्पन्न गरिएको छ । यिनलाई नवदुर्गा भवानी भनिन्छ । नवदुर्गाका ९ नाम, रूप र प्रतीक यस प्रकार छन् ।
१, शैलपुत्री
शैलपुत्रीलाई नवरात्रीको प्रथम रात पूजा गरिएको छ । यो दुर्गाको रूप हो । शैलपुत्रीको अर्थ हिमालयकी छोरी हो । यो पार्वतीको अर्को नाम हो भनिन्छ । शैलपुत्रीलाई पार्वतीको दुर्गा अवतार मानिन्छ । शैलीपुत्रीको अर्को नाम महाकाली हो । महाकालीको छवि दुई हात भएकी, दाहिने हातमा त्रिशुल र देब्रे हातमा कलमको फूल लिएर नन्दीमा सवार भएकी देवीको रूपमा कल्पना गरिन्छ । शैलपुत्री शक्तिको प्रतीक हुन् ।
२, ब्रह्मचारिणी
ब्रह्मचारिणी पार्वतीको अविवाहित रूपलाई प्रतीक मानि नवरात्रीको दोस्रो दिन पुजा गरिएको छ । दुर्गाको यो रूपलाई योगिनी पनि भनिन्छ । ब्रह्मचारिणी रूपमा देवीलाई दाहिने हातमा रुद्राक्षको जपमाला र देब्रे हातमा कमाण्डलु लिएर खाली खुट्टा हिँड्दै गरेको कल्पना गरिन्छ । ब्रह्मचारिणी शान्ति, समृद्धि र मोक्षकी प्रतीक हुन् ।
३, चन्द्रघण्टा
नवरात्रीको तेस्रो दिन माता चन्द्रघण्टाको पूजा गरिएको छ । विवाहित पार्वतीले शीरमा अर्धचन्द्रको गहना लगाएको अर्थमा चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टा सुन्दरता र साहसकी प्रतीक हुन् । चन्द्ररूपजस्तो हसिली तथा उज्याली महिला रूपमा चन्द्रघण्टाको कल्पना गरिन्छ ।
४, कुष्माण्डा
नवरात्रीको चौथो दिन दुर्गाको कुष्माण्डा रूपको पूजा गरिएको छ । यो रूपमा देवीको छवि आठ हात र बाघमा सवार कल्पना गरिन्छ । उनको प्रत्येक हातमा गदा, त्रिशुल, धनुषवाणलगायत हतियार हुन्छन् । कुष्माण्डा देवी बिराटरूप हुन् । ब्रह्माण्डीय ऊर्जाको प्रतीक हुन् । उनले स्वास्थ्य र सबलता प्रदान गर्ने विश्वास गरिन्छ ।
५, स्कन्दमाता
नवरात्रीको पाँचौँ दिन स्कन्दमाताको पूजा गरिएको छ । स्कन्दको अर्थ मातृत्व रूप हो । यस रूपमा दुर्गा सिंहमा चढेकी, चार हात, तीन आँखा भएकी, दुई हातले काखमा बच्चा बोकेकी र दुई हातमा कमलको फूल लिएकी रूपमा कल्पना गरिन्छ । स्कन्द रूपलाई पद्माशैनी पनि भनिन्छ । स्कन्दरूपा माताले सन्तानका लागि अवश्य धन र ज्ञानलगायत भय र संकटबाट प्रतिरक्षा गर्दछिन् भन्ने विश्वास गरिन्छ ।
६, कात्यायनी
नवरात्रीको छैटौँ दिन कात्यायनीको पूजा गरिएको छ । दुर्गाले कात्यायनी रूपमा दैत्यराज महिषासुर बध गरेकी थिइन् । कात्यायनीलाई चार, आठ वा दश हात भएकी देवीको रूपमा कल्पना गरिन्छ । यो दुर्गाको योद्धा र रौद्र रूप हो । यो रूपमा दुर्गाले युद्ध गर्दिछन् र शत्रुहरूको विनाश गर्छिन् । कात्यायनी सिंहमा चढेकी र रिसाएको मुद्रामा हुन्छिन् ।
७. कालरात्री
नवरात्रीको सातौँ दिन फुलपाती अर्थात महासप्तमीको दिन कालरात्री देवीको पूजा गरिएको छ । यो पनि दुर्गाको रौद्र तथा योद्धा रूप हो । यो रूपमा दुर्गाले शुम्भनिशुम्भ दानवको बध गरेकी थिइन् । कालरात्री दुर्गाको सबैभन्दा डरलाग्दो रूप हो । कालरात्रीलाई रातो जिब्रो निकालेको, कालो रङ्ग भएको, रिसाएको मुद्रामा कल्पना गरिन्छ । कालरात्री देवीलाई काली पनि भनिन्छ । दुष्टहरूको नाश र सज्जनहरूको रक्षा गर्नु कालरात्री देवीको मुख्य कर्तव्य हो । उनी गधामा सवार हुन्छिन् ।
८, महागौरी
नवरात्रीको आठौं दिन महाअष्टमीमा महागौरीको पूजा गरिएको छ । दानव शुभ(निशुम्भको बधपछि जब दुर्गा भवानीले गङ्गा स्नान गरिन्, तब उनी महागौरी रूपमा प्रस्फुटित भइन् । महागौरी स्वच्छता, शुद्धता र कञ्चनरूपकी प्रतीक हुन् । उनले भक्तजनहरूको इच्छा पूरा गर्ने विश्वास गरिन्छ । महागौरी रूपमा दुर्गा ४ हात भएकी हुन्छिन् । एक हातमा त्रिशुल र अर्को हातमा डम्मरु हुन्छ । बाँकी एक हात आशीर्वाद मुद्रामा अगाडि फैलिएको हुन्छ भने अर्को एक हातले भय तथा पाप मोचनको संकेत गर्दछ । उनी सेतो रङ्गको साँढेमा विराजमान हुन्छिन् ।
९, सिद्विदात्री
अन्तिम महानवमी तथा नवरात्रको दिन माता सिद्धीदात्रीको पूजा गरिएको छ । सिद्धीदात्री पूर्णताकी प्रतीक हुन् । उनी कमलको फूलमा विराजमान हुन्छिन् । उनका चार हात हुन्छन् । दाहिनेतिरका दुई हातमा चक्र र गधा, देब्रेतिरका दुई हातमा शंख र कमलको फूल हुन्छ । सिद्धीदात्री रूपा देवीले सिद्धी प्रदान गर्ने विश्वास गरिन्छ । उनले अनिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्यलगायत ९ प्रकारका सिद्धी प्रदान गर्न सक्दछिन । उनको अर्को नाम महालक्ष्मी हो । सिद्धीदात्री स्वयम् शिवरूपमा समाविष्ट भएको हुँदा अर्धनारीश्वर पनि भनिन्छ ।
विजयदशमी अगाडि आएको वर्षा,बाढी,डुबान र पहिरोले देशभर ठुलो धनजनको क्षति भयो। यो बाढी,डुबान र पहिरोमा परि दुई सय छयालिस भन्दा बढी नागरिकहरूको मृत्यु, डेढ दर्जन भन्दा बढी बेपत्ता र सयौं घाइते भएका छन।
काठमाडौं जोडने मुख्य राजमार्ग सहित डेढ दर्जन मुख्य राजमार्ग भत्किएकोमा अहिले प्रायस् सबै सडक सञ्जालहरू सञ्चालनमा आइसकेका छन। विपी राजमार्गको रोशीदेखि सुनकोशी खण्डसम्मको सडक नराम्रो गरि ठाउँ( ठाउँमा बिग्रिएकोमा ती ठाउँमा सडक मर्मतसम्भार गरि हिजो असोज २५ गते बिहानबाट सडक यातायात सञ्चालनमा आएकोमा त्यसको दुई घण्टापछि नै फेरि एक ठाउँमा सुख्खा पहिरो गएर सडक अवरूद्व भएको थियो। बाढीले भोटेकोसी,खुर्कोट र खोटाङ जाने सुनकोशीको पुलसहित दर्जनौ पुलमा क्षति पुगेको थियो। नेपाली सेनाले खुर्कोटको सुनकोशी पुलमा बेलिब्रिज जडान गर्न सुरू गरेको छ। बाढी र पहिरोबाट ५० अर्ब भन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान छ।
यो अवस्थामा धेरै नागरिकहरू दसैं मनाउन सक्नेगरि कर्म क्षेत्रबाट आफ्नो गाउँ र घर जान सकेनन । करिव दस लाख मानिसहरू मात्र काठमाडौं उपत्यकाबाट बाहिर गएका छन। बाढी,डुबान र पहिरोबाट पिडित बनेर घरवारविहीन भएका नागरिकहरूले खुशीसाथ दशैं मान्ने अवस्था बन्न सकेन। सरकारले उनीहरूलाई तत्कालै केही राहत रकम उपलब्ध गराउन थालेको छ। मृतक परिवारलाई तीन लाख रकम उपलब्ध गराएको छ। अब उनीहरूलाई बसोबासको व्यवस्था गर्नु पर्दछ। साथै घाइतेको उपचार र भत्किएका सडक र पुल अविलम्ब मर्मत गरि सडक यातायातलाई सुचारू गर्न लागेको छ। कतिपय सडक पुरानै अवस्थामा सुचारू भैसकेका पनि छन। अब केही सडकमात्र मर्मत गरि सञ्चालनमा आउन बाँकी छ। यी सडकहरूको मर्मतसम्भारको काम पनि तिव्र गतिमा भैरहेको छ। यस कार्यका लागि वर्तमान सरकारलाई धन्यवाद दिनै पर्छ।
देशको यो अवस्थामा शक्तिको प्रतीकका रूपमा मनाइने विजयादशमी पर्व आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनाका दिन असोज १७ गते जमरा राखि आज असोज २६ गते नवरात्री पुजा बिसर्जन गरि टीका लगाइदैछ। घटस्थापनाका दिनदेखि सुरू भएको दशैंको महासप्तमी फुलपाती, महाअष्टमी र महानवमीसम्म निरन्तर शक्तिरूपी नवदुर्गा भवानीको पूजा आराधना गर्दै विजयादशमीका दिन दुर्गा भवानीको प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरि पूर्णिमासम्म विशेष रुपमा मनाइदैछ । विजया दशमी दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको विशेष दिनको खुशीयालीको अवसरमा टीका जमरा लगाउने ऐतिहासिक र धार्मिक कथनहरू रहेका छन् । विजयादशमीको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुशीयाली र हार्दिकता साटासाट गरी मनाइने गरिन्छ ।
यो पर्व सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि हो । त्यसैले यो पर्वले व्याक्ति,समाज,देश र विश्वजगतका विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने जनविश्वास रहिआएको छ । यस पर्वले सबै नेपालीहरूलाई आ(आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् । विजयादशमीमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्व अझ बढाएको छ ।
हाम्रो मुलुकमा परम्परागतरुपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण राख्न पनि थप योगदान गरिरहेको छ । विजयादशमी पर्वको संरक्षण एवं संवर्द्धनबाट राष्ट्र र राष्ट्रियता प्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुगेको छ । नेपालीहरूको महान् चाड विजयदशमी २०८१ को शुभ अवसरमा देश विदेशमा रहनु भएका हाम्रा सम्पूर्ण पाठक, विज्ञापनदाता,लेखक,कर्मचारी,शुभेच्छुक,नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु,आर्थिक समृद्वि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
अन्त्यमा, विजयादशमी २०८१ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, असल कामहरूलाई हौसला प्रदान गर्न,आर्थिक समुन्नती ल्याउन,उत्पादन बढाउन, निर्यात गर्न,व्यापार( व्यवसाय बढाउन,रोजगारीका नयाँ( नयाँ अवसर प्रदान गर्न, सरकारको राजस्व बढाउन र सकारात्मक उर्जा थप्न दुर्गा भवानीले आर्शिवाद दिऊन यही शुभकामना छ ।