stcnepal long ad
ime life insurance
national life
global ime bank long

साढे दुई अर्बका सुकिला नोट दस दिनमा बाँडियो 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ ।  सर्वसाधारणले पछिल्लो १० दिन (असोज १३ देखि २२ सम्म) मा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार र सात वटै प्रादेशिक कार्यालयबाट मात्र करिब १ अर्ब ३१ करोड रुपैयाँ बराबरका सुकिला नोटको सटही सुविधा लिएका छन् ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाले पनि सर्वसाधारणलाई नोट सटही सुविधा दिएका छन् । त्यो रकम पनि जोड्दा दसैंका लागि मात्र साढे २ अर्बभन्दा बढी सुकिला नोट सटही भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए ।

‘मंगलबारसम्म राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणले १ अर्ब ३१ करोड रुपैयाँ बराबरका सुकिला नोटको सटही सुविधा लिएका छन्,’ उनले भने, ‘वाणिज्य बैंकले पनि  कम्तीमा  राष्ट्र बैंकले जति नै  रकम बराबरको नोट  सटही सुविधा दिएको  भन्ने प्रारम्भिक सूचना छ ।’

राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूमार्फत सटही भएको नोटको रकम जोड्दा साढे २ अर्बभन्दा बढी हुने प्रवक्ता पौडेलले बताए ।

दसैंका लागि राष्ट्र बैंकले यही असोज १३ देखि २३ गतेसम्मका  लागि  नोट  सटही सुविधा दिएको थियो । तिहार र छठका लागि दसैं बिदापछि पुनः वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

नोट सटहीका लागि केन्द्रीय कार्यालय बालुवाटारमा मात्र राष्ट्र बैंकले ८ वटा काउन्टर बनाएको छ । यद्यपि भीड कम भएकाले हाल ६ वटा मात्र सञ्चालनमा छन् ।

६ वटा काउन्टरबाट सर्वसाधारणले सहज रूपमा नोट सटही सुविधा लिइरहेको राष्ट्र बैंकका प्रवक्ता पौडेलको भनाइ छ ।

‘यस वर्ष सुकिला नोट वितरण गर्न लागिएकाले विगतका वर्षमा जस्तो भीडभाड छैन । जसलाई आवश्यक परेको छ, उनीहरूले सटही सुविधा लिएका छन्, यस कारण अनियन्त्रित भीडभाड छैन ।’

नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै दसैंका लागि यही असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने सूचना जारी गरेको थियो ।

यसअनुसार राष्ट्र बैंकको केन्द्रीय कार्यालय, सातै वटा प्रादेशिक कार्यालयसहित सबै बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट सटही सुविधा दिइएको राष्ट्र बैंकले जनाएको छ ।

सबै दरका एकरएक थान गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नोट सहटी सुविधा दिइएको थियो । यद्यपि औचित्य खुलाएर सर्वसाधारणले अनि आवश्यकता अनुसार नोट सटही सुविधा लिइरहेको राष्ट्र बैंकको भनाइ छ ।

विगतमा नयाँ नोट बाँड्दै आएको राष्ट्र बैंकले सुकिला नोट वितरण गर्ने निर्णय गर्‍यो । सफा र सुकिला नोट उपयोगका लागि भन्दै राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिला दिने निर्णय गरेको हो ।

तर सुकिला नोटमा सर्वसाधारणको उत्सुकता भने कम देखिन्छ । नोट सटहीका लागि राष्ट्र बैंकले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थामा भीडभाड कम हुनुले पनि यसको पुष्टि गर्ने जानकार बताउँछन् ।

समाजलाई नगद रहित (विद्युतीय भुक्तानी) कारोबारलाई प्रोत्साहन गर्न, यसअघि नयाँ नोटका रूपमा वितरण भएका तर अहिले सुकिला बनेका नोट व्यवस्थापन गर्न, नोट छपाइका लागि लाग्ने खर्च जोगाउन लगायत कारण यस वर्ष नयाँको सट्टा सुकिला नोट वितरण गर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता पौडेलले बताए ।

‘पछिल्ला तीन दसैंमा वितरण भएका नयाँ नोट अहिले सुकिलो अवस्थामा राष्ट्र बैंक केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, बैंक तथा वित्तीय संस्था, नोट कोषमा स्टकमा छन्,’ प्रवक्ता पौडेलले भने, ‘स्टकमा रहेका ती नोट प्रयोगमा नल्याउने हो भने त्यति बराबर नयाँ नोट छाप्न करिब २ अर्ब रुपैयाँ खर्च हुन्छ । अहिले ती नोट उपयोग भए, नयाँ नोट छाप्दा लाग्ने खर्च जोगिन्छ ।’

राष्ट्र बैंकले हरेक वर्ष दसैं, तिहार, छठ लगायत चाडमा मात्र नभई मागअनुसार सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको छ । दसैं, तिहारमा भने सूचना नै निकालेर राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिँदै आएको छ ।

दसैं, तिहारमा ६० देखि ७० अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिने गरेको थियो । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्थ्यो ।

बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्दै आएका थिए । यद्यपि विगतका तुलनामा यस वर्ष निकै कम मात्र सुकिला नोट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएका राष्ट्र बैंकले जनाएको छ ।

यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारका अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का, चाँदीका स्मारिका सिक्का र सुनका असर्फी पनि धेरै बिक्री हुँदै आएको छ ।

नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले ठूलो धनराशि खर्च गर्दै आएको छ । राष्ट्र बैंककै एक अध्ययनले पछिल्ला पाँच आर्थिक वर्षमा औसत नोट छपाइमा मात्र १ अर्ब ३३ करोड ६४ लाख र मुलुकभर वितरण गर्दा औसत ३ करोड ८७ लाख रुपैयाँ गरेर कुल १ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ खर्च हुँदै आएको छ ।

एकातिर हरेक वर्ष नयाँ नोटको माग बढिरहेको र अर्कातिर सोही दरका प्रयोगयोग्य नोट राष्ट्र बैंकको गोदाममा थन्किएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

नयाँ नोटको माग आउने तर प्रयोग गर्न सकिने राम्रा नोट लिन नचाहने प्रवृत्तिले ढुकुटीमा ठूलो परिमाणमा नोट थुप्रिँदै गएको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

IME Lifesidebar
kumari