citizens life insurance long ad
stcnepal long ad

रिपब्लिकन पार्टीको अधिवेशनको तयारी पूरा, राष्ट्रपति ट्रम्पलाई मनोनयन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

चार्लोट्टे। अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको उम्मेदवारीलाई अनुमोदन गर्न रिपब्लिकन पार्टीको भेला उत्तरी क्यारोलिनको चार्लोट्टेमा सोमबार शुरु हुँदैछ । चार दिने यस भेलाले ट्रम्पको उम्मेदवारीलाई औपचारिकता दिनेछ ।

गत साता डेमोक्र्याटिक पार्टीको चार दिने भर्चुअल भेलाले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन गरिसकेको छ । बाइडेनले उपराष्ट्रपतिमा मनोनयन गर्नुभएकी कमला ह्यारिसलाई पनि सोही भेलाले अनुमोदन गरिसकेको छ ।

कोरोनाभाइरस महामारीका कारण चार्लोट्टे सम्मेलन केन्द्रको भेलाको आकार सानो बनाइएको रिपब्लिकन पार्टीले जनाएको छ । रिपब्लिकन पार्टीको यो सम्मेलन राष्ट्रपति ट्रम्पका लागि विशेष महत्वको रहने छ, किनभने पछिल्लो पटक गरिएका राष्ट्रव्यापी र राज्यस्तरका चुनावी मत सर्वेक्षणले राष्ट्रपतिलाई बाइडेनको तुलनामा कमजोर स्थितिमा देखाएका छन् ।

विश्लेषकहरूका अनुसार राष्ट्रपति ट्रम्पका लागि आगामी चुनाव जनमत सङ्ग्रह सरह हुनेछ । उनले यसअघि अघि सारेका कैयौँ नीतिको कार्यान्वयन नभएको र कोरोनाभाइरसका सम्बन्धमा ठोस योजना अघि नसार्दा ठूलो सङ्ख्यामा मानिसको मृत्यु भएको, अर्थतन्त्र शिथिल बनेको तथा मानिसहरू बेरोजगार बनेको स्थिति छ ।

यस बाहेक देशभित्र कानुन व्यवस्थामा सुधार नहुँदा अश्वेत र सीमान्तकृत नागरिकहरूका ठुल्ठूला जुलुस देशव्यापी बनेका छन् ।

रिपब्लिकन पार्टीकी अध्यक्ष रोन्ना म्याकडानियलले देशभित्र विषम परिस्थिति रहे पनि रिपब्लिकनको चुनावी अभियान कुनै पनि स्थितिमा कमजोर नहुने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले पनि पार्टीभित्रबाट आफ्ना विषयमा सकारात्मक धारणा प्राप्त हुने विश्वास व्यक्त गरेका हुन् । फक्स न्यूज च्यानललाई आइतबार दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पार्टी सम्मेलनमा प्रतिनिधिहरूले आफूलाई पर्याप्त साथ, सहयोग र समर्थन गर्ने बताए ।

विगतमा दुवै दलले चुनावी वर्ष ठूलै सभा, समारोह र भेला गर्ने प्रचलन थियो । तर यसवर्ष कोरोनाभाइरसले सबै कृयाकलापलाई स्थिर तुल्याइदिएको छ । रिपब्लिकन पार्टीबाट एक्लो उम्मेदवार रहनुभएका ट्रम्पका लागि अमेरिकाका ५० राज्यबाट आमन्त्रित ३३६ प्रतिनिधि ९डेलिगेट्स० ले मात्र मतदान गर्नेछन् ।

हुन त रिपब्लिकन पार्टीका कूल प्रतिनिधि सङ्ख्या २ हजार ५०० भन्दा बढी छ । आमन्त्रित प्रतिनिधिका लागि ४२ पृष्ठको स्वास्थ्य तथा सुरक्षा निर्देशिका उपलब्ध गराइएको छ । चार्लोट्टेमा सम्मेलन शुरु भएपछि पार्टीका अन्य अधिकांश कृयाकलाप वासिङ्टन डिसीमा केन्द्रित हुनेछन् ।प्रथम महिला मेलानिया ट्रम्पले रोज गार्डेनबाट मङ्गलबार सम्बोधन गर्नेछन्। उपराष्ट्रपति माइक पेन्स बुधबार बाल्टिमोरस्थित फोर्ट म्याकहेन्रीबाट सम्बोधन गर्नेछन् । राष्ट्रपति ट्रम्पले वासिङ्टन डिसीको साउथ लनबाट बिहीबार सम्बोधन गर्नेछन् जहाँ उनका समर्थकहरू ठूलो सङ्ख्यामा उपस्थित हुनेछन् ।रासस / एपी

IME Life
kumari