दुई थान अटोमेटिक पेस्तोल सहित भारतीय नागरिक पक्राउ
काठमाडौं । सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोल सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि।एस।होटलबाट उनीहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षिय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५ का विद्यानन्द राम रहेका छन ।
पक्राउ परेकाहको साथबाट प्रहरीले २ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली र ४ थान म्यागजिन बरामद गरेको छ । बरामद हतियार सहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ।
प्रहरीले होटलबाट भारतीय नागरिकले प्रयोग गरेको बीआर ५० के ०१४९ नम्बर प्लेटको सुपर स्पेलेन्डर मोटरसाइकल समेत बरामद गरेको बताएको छ ।
प्रहरीले घटनास्थलबाट तीन राउण्ड गोली लोड रहेको एक थान र खाली म्यागजिन सहित अर्को थान गरी २ थान अटोमेटिक पेस्तोल बरामद गरेको छ ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले सुराकीका आधारमा छापामारीको लागि होटल पुगेको प्रहरी टोलीले हतियार सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको बताएका छन।
सोधपुछको क्रममा भारतीय नागरिकले आफुहरु पेस्तोल बिक्रि गर्न नेपाल आएको बयान दिएको प्रहरी उपरीक्षक थापाले बताएका छन् ।
पछिल्लो घटनाक्रमसँगै हातहतियारको कारोवारमा ठूलै गिरोहको संलग्नता रहेको हुन सक्ने आशंका सुनसरी प्रहरीले गरेको छ ।
सुनसरी प्रहरीले हतियार सहित पक्राउ परेका भारतीय नागरिकको हकमा हातहतियार तथा खरखजाना मुद्दामा कार्वाहीको प्रकृया अघि बढाइएको छ ।























