stcnepal long ad
ime life insurance
national life
global ime bank long

तनहुँमा ३ हजार घरधुरीमा खानेपानी विस्तार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

दमौली । तनहुँ जिल्लामा एक वर्षको अवधिमा तीन हजारभन्दा बढी घरधुरीमा खानेपानी विस्तार भएको छ । गण्डकी प्रदेश सरकारमार्फत जिल्लाका तीन हजार तीन सय ५४ घरधुरीमा खानेपानी विस्तार भएको हो ।

‘एक घरः एक धारा अभियान’ मार्फत निजी घरमा खानेपानी सुविधा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए । उनका अनुसार उक्त अवधिमा एघार खानेपानी आयोजना सम्पन्न भएका छन् । त्यस्तै १९ आयोजनाको विस्तृत सर्वेक्षण गरिएको छ ।

जिल्लामा हालसम्म ९२.४२ प्रतिशत घरधुरीमा खानेपानी सुविधा पुगेको छ । विसं २०७८ को जनगणनाअनुसार यहाँ तीन लाख २७ हजार छ सय २० जनसङ्ख्या रहेकामा हालसम्म तीन लाख दुई हजार सात सय ९९ जना खानेपानीबाट लाभान्वित भएको खानेपानी कार्यालयले जनाएको छ ।

एक वर्षको अवधिमा पाँच हजार दुई सय २१ जना खानेपानी योजनाबाट लाभान्वित भएका छन् । गण्डकी प्रदेश सरकारबाट उक्त अवधिमा ११ खानेपानी योजना सम्पन्न भएको छ ।

निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा कार्यालयले अपजस व्यहोर्नुपरेको कार्यालय प्रमुख न्यौपानेले बताए । ‘निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरिदिँदा कार्यालयलाई असर परेको छ, जनतालाई स्वच्छ खानेपानी सुविधा पुर्‍याउन हामी लागिपरेका छौँ,’ उनले भने ।

बाढीपहिराका असर, मर्मतमा दबाब आउनु, खानेपानी योजनामा विद्युतीय कार्य सहज नहुनु, आयोजनाको सङ्ख्याको तुलनामा न्यून बजेट विनियोजन हुनु, जनप्रतिनिधि तथा स्थानीय उपभोक्ताबाट आयोजनाले नसमेटेको स्थानमा पाइप तथा फिटिङ्सको माग गर्नु आदि कारणले काम गर्न असहज हुँदै आएको कार्यालयले जनाएको छ ।

कार्यालयले नयाँ खानेपानी आयोजनाको माग, सर्वेक्षण, डिजाइन, निर्माणकार्य कार्यान्वयन, आयोजनाको सामग्री निकासा, खानेपानी आयोजनाको निर्माणमा प्राविधिक सहयोग, आयोजनाको अनुगमन, निरीक्षण, सुपरिवेक्षण, मूल्याङ्कन तथा भुक्तानी लगायतका काम कार्यालयले गर्दै आएको छ ।

IME Lifesidebar
kumari