stcnepal long ad
global ime bank long

लकडाउनमा काठमाडौंको यात्रा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार

वियोगी–

फाल्गुनको २८ गते बिहान ४ बजे तिर काठमाडौंको लागि हिँडेको बसले मुग्लिनमा फ्रेस हुन र चिया नास्ताको लागि भनेर रोक्यो । जताततै कोरोनाको त्रास, चहलपहल पनि निकै कम थियो बजारमा ।

रातभरिको अनिदो यात्रा, जिउ त आलस्य भएर जोश जागर चाउरी परेको मरिच जस्तै पिर परेर लुकेको थियो । तैपनि आमालाई बसबाट ओरालेर म आफू पनि ओर्लिए । “बसले त छिटै ल्याएछ, साढे पाँच बजेको बस, ६ बजे धक्का मार्दै थियो, हाइवेमा छिटो गुडेछ छ क्या !” एकजना प्यासेन्जरको विश्लेषण सुन्न पाइयो ।

नेपालीहरूमा यही त गजब छ, फ्रि को सल्लाह र समीक्षा । आमालाई बसबाट ओर्लिएपछि पनि वान्ता भयो । बस देख्ने बित्तिकै वान्ता गर्ने मेरी आमा, मुग्लिन सम्म पुग्दा गलेर थकित हुनुहुन्थ्यो ।

खुट्टाको उपचार गराउनको लागि राजधानी पुग्दा सम्म आमाको स्वास्थ्य खराब हुने चिन्ता मनमा लागिरहेथ्यो, तैपनि आमालाई केही हुँदैन, आराम गर्नुस् भन्दै हौसला दिइरहेको थिए । बजार – भरी एउटा जीवनजल पाइने मेडिकल रहेनछ ।

एउटा स्याउ खुवाए आमालाई अनि अलिकति पानी ! तर त्यसले कामै गरेन, आमाले फेरि वान्ता गर्नु भयो । आमालाई गाह्रो भयो भनेर अगाडिको दुवै सिटमा आमालाई सहज तरिकाले सुत्ने माहोल बनाएर म रातभर घरी क्याबिन, घरी पछाडिको सिट गर्दै ओहोर – दोहोर गरिरहेको थिए ।

बसले मुग्लिन पछि फेरि आफ्नो गति लिन लाग्यो, म आमालाई अगाडिको सिटमा बसालेर फेरि पछाडिको सिटमा गए । आँखा झुलेर निद्राको लागि तड्पिरहेको थियो । तराईको होली २७ गते भएकाले गर्दा २८ गते बिहान सम्म पनि बाटो खुला थियो, ट्रकहरु पनि कम गुडेको थिए ।

पछाडिको सिटमा भर्खर के झुल्न मात्र लागेको थिए , बसले कुरिनटारमा झ्याप्प ब्रेक लगाइहाल्यो । एक युवती दाया बाया नहेरेर सिधै पछाडिको सिटमा लम्किदै आइन् । म चुपचाप बीचको सिट छोडेर कुना तर्फ सरे । निद्राले व्याकुल बनाइरहेको अवस्थामा म फेरि आँखा चिम्म गरेर निदाउन प्रयास गरे ।

आँखालाई आराम मिलिरहेको थियो – तर कानले साइडमा त्यो युवती गुई – गुई बोलेको सुनिरह्यो । मनमनै रिस उठ्यो, रात्रि बसमा अनिदो भएर यात्रा गरिरहेको केही हेक्का नराखेर ती युवती पल्लो कुनाको युवासँग गफ लडाउदै थिइन् । गाडीवाला पनि उस्तै अनि खचाखच भरिएको लामो दूरीको बसमा बीच बाटोबाट चढ्ने पनि उस्तै, मनमनै रिस उठिरह्यो । म यता मुर्मुरिरहे, उता तिनीहरू खित्का छोडेर हास्न लागे, कस्तो अचम्मको केटी रहिछे ! बसमा भर्खर चढेर पनि एकैछिनमा नचिनेको केटा संग हासोको ताल मिलाईरहेको छे !! बस त त्यसको बाउको जस्तो, साइडमा रातभर अनिदो मपनि छु भन्ने सोच्न पर्छ नि !, फेरि मलाई जो पायो त्यही सँग बोल्न नि मनपर्ने । बन्द आँखा, तर खुला कान !, नचाहदा नचाहँदै पनि तिनीहरूका गफ सुन्नुपर्ने मलाई , हे भगवान ! कुरा फेरि विश्वभरिको ज्ञानले भरिपूर्ण जस्तो । ” नेपालको जडीबुटी, जलश्रोत , र अन्य प्राकृतिक श्रोतको नेपाललाई सदुपयोग नै गर्न आएन, विदेशमा यस्तो भएको भए यस्तो हुन्थ्यो, त्यो त्यस्तो हुन्थ्यो ।”

अझ त्यसपछि आयो कोरोनाको कुरा, ती युवतीले नेपालमा पशुपतिनाथको कारण कोरोना आउनै नसक्ने भन्दै बसमै ट्रोल सुनाउन लागिन् । हे दैव, अब म के गरु ??? अब त ती युवती अङ्ग्रेजीमा पनि बोल्न लागिन्, साइडको केटा चुपचाप सुनिरहेथ्यो … अघि सम्म हिरो बनेर गफ लगाइराथ्यो, बल्ल ठिक्क भएछ भन्दै खुचिङ गर्न भ्याए अहिले त ! तिनीहरूको गफको चक्करमा मेरो निद्रा कता हरायो हरायो ।

अब मपनि भलाकुसारीमा सामेल हुनु बाहेक अरु विकल्प देखेन । “First impression is Last impression” मनमा राख्दै तुटेफुटे अङ्ग्रेजीमा मपनि ती युवती सँग बात मार्न लागे । गूगल पनि आफैले बनाएको जसरी अब त एकोहोरो मतिर खनिन लागिन् ।

नेपालमा पाइने जडीबुटीको प्रकार देखि लिएर , बागमतीको मन्थन सम्म भन्न भ्याइन् । म त ट्वाँ परिरहे । एकछिन पछि आफ्नो घर परिवारको बारेमा पनि भन्न लागिन् ।

आमा नेपाली , बाउ थाइल्याण्डको भएर यति बगबग गर्न सक्ने भाकी रैछिन । कुरामा पनि पुरा उदारवाद छ । न लाज न सर्म ! कुरा गर्दा गर्दै आफूले भित्री वस्त्र लगाको छैन भनेर मेरो मुख तिर हेर्न लागिन् । म त रातोपिरो भइहाले ! त्यतिकैमा दिमागमा एउटा बत्ती बल्यो, पक्कै पनि यो केटी पाकेटमार हुनुपर्छ, हेर्दा सुन्दर देखिने , अनि चिल्ला कुरामा फसाएर पर्स लुट्ने ।

आफ्नो मोबाइल र पर्स ज्याकेटको देब्रे बाट दाहिने पाकेटमा सारे । अनि त्यो केटीको ध्यान मबाट हटाउनको लागि एक – दुईजना साथीहरुलाई नि फोन घुमाए , मरिगए उठाएनन् कसैले ।

अब म यो केटी सँग कसरी तर्केर बस्ने होला भनेर सोचिरहे !! मेरो मौनतालाई छिचोल्दै उसले भनी ” मेरो मोबाईलको चार्ज सक्किन लागेको छ, मद्दत गर्दिनुहोस् न ! ” मैले पनि यही हो मौका भनेर, प्लगमा लाइन छोडिदिनको लागि भनेर आउँछु भनेर अगाडि क्याबिनमा गए ।

त्यहाँ त झनै बिजोक रैछ , हेर्दै कोरोना लागेका जस्ता मान्छे ! मर्नु भन्दा बौलाउनै बेस भनेर फेरी पछाडिको सिटमा गए । निराश मुहार लिएर, चार्ज गर्दा हुन्छ अब भनेर कुनाको सिटमा जिउ ल्यान्ड गरे ।

हे भगवान यो केटी एकछिन सम्म नबोल्दे हुन्थ्यो भनेर मनमनै नाम सुनेको सबै भगवानहरुलाई प्रार्थना गरे ।। प्रार्थना उल्टो भयो, ती युवती त अब झनै मसँग नजिक हुँदै टासिन लागिन्। ” तपाई नभइदिएको भए, आज मेरो यात्रा कति कठिन हुन्थ्यो, थ्याङ्क यु सो मच ” भन्दै मेरो शरीरमा आफ्नो हात पुर्याउन लागिन् । ”

तिमी यस्तो छाडा हौला भन्ने मैले सोचेकै थिएन, म तिमीले चाहेको जस्तो केटा होइन, अब मसँग बोल्ने कोशिस नगर ! ” यति भनेर मैले उनको हात हटाइदिए , अनि आँखा चिम्म गरे, पर्स राखेको गोजी फेरि छामे अनि त्यसमै हात राखेर पल्टिए, दिमाग चौकन्ना बनाएर !

IME Lifesidebar
kumari