stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दुईदिने बिदाका अवसर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

नेपालमा तत्कालीन प्रधानमन्त्री देवशमशेरले शनिबार सार्वजनिक बिदा दिने प्रचलन आरम्भ गरेका थिए । आजसम्म मुलुकमा यसैले निरन्तरता पाएको छ । यसमा क्रमभङ्गताका लागि पटक पटक आइतबारसमेत सार्वजनिक बिदा थपिएका छन् । ती छोटा अवधिमै संशोधन भएका छन् । वर्तमान सरकारले २०८२ साल चैत २३ गते सोमबारदेखि सरकारी कार्यालय र शैक्षिक संस्था बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने र हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने घोषणा गरेको छ । यसले सार्वजनिक बिदाका विषयमा बहस निम्तिएको छ ।

सरकारी स्पष्टीकरण

नेपाल सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असामान्य परिस्थितिका कारण हप्तामा दुई दिन बिदा दिने घोषणा गरेको छ । इजरायल–अमेरिका र इरानबिच हाल युद्ध जारी जस्तै छ । दुई साताका लागि विराम भए पनि युद्ध टुङ्गिएको छैन । यसका कारण एकातिर पेट्रोलियम पदार्थको उत्पादन घटेको छ भने अर्कातिर यसको ढुवानीमा समेत गम्भीर अवरोध उत्पन्न भएको छ । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता, अन्तर्राष्ट्रिय ऊर्जा सङ्कट र इन्धनको खपत घटाउन सरकारले यो निर्णय लिन बाध्य भएको भनिएको छ । किनकि यो आलोचनाको विषय बन्न सक्दैन ।

दुईदिने बिदाका फाइदा

नेपाल सरकारका कार्यालय र शिक्षण संस्था दुई दिन बिदा भएपछि यसको असर सबै क्षेत्रमा पर्ने छ । यसबाट सवारीसाधन कम गुड्ने छन् । वातावरण प्रदूषण नियन्त्रणमा सघाउ पुग्ने छ । पेट्रोलियम पदार्थको आयात कम भएपछि नेपालको व्यापार घाटामा कमी आउने छ । यसबाट सरकारी कर्मचारीलगायतले दुई दिनको बिदा उपयोगबाट लाभ लिने छन् । यसबाट आन्तरिक पर्यटन विस्तार हुने छ । यसको माग निजी क्षेत्रबाट भइरहेको छ । यसबाट घरायसी काम दुरुस्त हुने छन् । कर्मचारीलगायतको पढाइलेखाइमा मद्दत पुग्ने छ । आमनेपालीको दैनिक जीवनमा केही सुबिस्ता विस्तार हुने छ ।

दुईदिने बिदाका बेफाइदा

विगतमा दुई दिन बिदा हुँदा केही सरकारी कर्मचारी र विद्यार्थी बरालिएको पाइएको थियो । मदिरा सेवन गर्ने र तास खेल्नेको समय लम्बिएको थियो । यसै गरी स्कुल र कलेज बन्द गर्न पल्किएका विद्यार्थी थप कुलतमा फसेका थिए । दुर्गम स्थानबाट बल्लतल्ल सदरमुकाम वा काठमाडौँ आइपुगेकाहरू दुई दिन बिदाका कारण रणभुल्लमा परेका थिए । वैदेशिक रोजगारीमा जाने पनि यसै गरी जिल्लिएका थिए । थोरै मानिस र कम तलबबाट धेरै काम लिनुपर्ने निजी क्षेत्र र गैरसरकारी क्षेत्र पीडामा थियो ।

विद्यार्थीको पढाइ

देवशमशेरको शनिबार बिदा दिने प्रचलनले वर्षमा ५२ दिन बिदा हुन्छ । नेपाल सरकारले वर्षमा करिब ३५ दिन विभिन्न चाडपर्व र उत्सवमा बिदा दिने गरेको छ । स्कुलमा जाडो र गर्मीको बिदा कम्तीमा १५/२० दिनको हुन्छ । यस अतिरिक्त परीक्षा तयारीको बिदा, रिजल्ट कुर्ने बिदा, वार्षिकोत्सव, सरस्वती पूजालगायतका बिदा पनि कम्तीमा १५/२० दिनको हुन्छ ।

यसमा आइतबारको ५२ दिन बिदा थपिँदा विद्यार्थीका वार्षिक बिदाको योगफल करिब १८० दिन हुन आउँछ । सरसर्ती अन्य मुलुकलाई चियाउँदा वार्षिक रूपमा भारतमा २१० दिन, जापान र कोरियामा २३० दिन, बेलायतमा १९० दिन, अमेरिकामा १८० दिन, फ्रान्समा १६० दिन र नेपालमा १८५ दिन पढाइ हुने अनुमान गरिन्छ ।

कोभिडको समयमा लकडाउन हुँदा स्कुलले अनलाइन कक्षा सञ्चालन गरेका थिए । सरकारले प्रतिविद्यार्थी प्रतिमहिना पाँच सयको इन्टरनेट सेवा शुल्क प्रदान गरेको थियो । यसैप्रकारको कुनै वैकल्पिक प्रबन्ध नगरे विद्यार्थीको पढाइ चौपट हुने छ ।

बिदा मिलान

संसारका दुई तिहाइ मुलुकमा शनिबार र आइतबार बिदा दिने प्रचलन छ । ती मुलुकमा सामान्यतः अन्य बिदा हुँदैन । हाम्रो चाडपर्व र दिवसको बिदालाई अधिकतम १० दिनमा झार्नु पर्छ । हालका सुविधारूपी बिदालाई कर्मचारीले आलोपालोका रूपमा लिन पाउने प्रबन्ध गर्न सकिन्छ । यसबाट सरकारी कार्यालय खुला नै रहन्छ । नेपालको कानुनमा बिदा अधिकार होइन, सहुलियत हो भनिएको छ । यसको प्रबन्ध कार्यालय प्रमुखबाट हुने नै छ ।

यसै गरी कर्मचारीलाई महिनाको एक दिन ‘क्याजुअल’ बिदाको सुविधा छ । यो उपयोग नगरेमा ल्याप्स हुन्छ । कर्मचारीले मासिक साढे दुई दिन घर बिदा पाउँछन् । यसको सञ्चिति १८० दिनभन्दा बढी भएमा ल्याप्स हुन्छ । यसबाट कर्मचारीले ‘फोर्स लिभ’ लिने गरेका छन् । यसरी बिदा उपयोग नगरेमा सोबापत औसत तलबको दरले नगद दिने प्रणाली अवलम्बन गरेमा कर्मचारी नियमित काममा आउने छन् । यस्तै प्रबन्धले विकसित मुलुकमा हप्तामा दुई दिन बिदा दिइएको छ ।

सेवाग्राहीको मर्का

सेवाग्राहीका लागि सातै दिन र चौबिसै घण्टा सेवा पाउनु खुसीको कुरा हो । विश्वमा यो चलनचल्तीमा छ । यस अनुसार सार्वजनिक सेवा अनलाइनबाट उपलब्ध गराइन्छ । वर्तमान सरकारले ‘अनलाइन प्री अप्वाइन्टमेन्ट’ लिन पाउने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । यसै गरी ‘गभर्मेन्ट कुरियर सिस्टम’ बाट राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र घरमै ल्याइदिने पनि सरकारी प्रतिबद्धतामा परेको छ । यी असम्भव विषय होइनन् । प्रयास गरेमा सफलता हासिल हुने विकसित मुलुकले प्रमाणित गरिसकेका छन् ।

हाल नेपाल प्रहरीले चरित्रसम्बन्धी प्रमाणपत्र अनलाइनबाटै उपलब्ध गराउँछ; जसअनुसार वैदेशिक रोजगारीमा आवश्यक पर्ने अनुमतिपत्र अनलाइनबाट उपलब्ध गराउन कुनै बाधा पर्दैन । आमाबुवा दुवै जना वंशजको नाताले नेपालको नागरिक रहेको, निजको सन्तान नेपालमै जन्मिएको र नेपालमै पढिरहेकालाई अनलाइनबाट नागरिकता दिन कुनै बाधा छैन । स्कुल, कलेज र विश्वविद्यालयबाट जारी हुने मार्कसिट र चारित्रिक प्रमाणपत्र अनलाइनबाट पठाइदिए हुन्छ । यसरी अधिकांश सेवा सहजै जनतालाई अनलाइनबाट प्रदान गर्न सकिन्छ । यसका लागि उपयुक्त विद्युतीय कानुनका अतिरिक्त सरकारी मानिस र आमजनताको सोचाइमा परिवर्तन ल्याउन जरुरी छ ।

‘माइन्डसेट’ मा परिवर्तन

पङ्क्तिकार प्रशासन सुधार अनुगमन समितिको संयोजक हुँदा केही सरकारी कार्यालयका सेवा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सिफ्टमा कर्मचारी खटाई प्रदान गर्न सिफारिस गरेको थिएँ । सो अनुसार काठमाडौँ उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, वैदेशिक रोजगार कार्यालय, यातायात कार्यालयलगायतमा कर्मचारी बिहान ६ बजेअघि नै पुगी सेवा प्रवाह आरम्भ गरेका थिए । नतिजा भने पूर्णतः निराशाजनक भयो । सामान्यतः अपवादबाहेक सेवाग्राही बिहान र साँझ सेवा लिन आएनन् । कर्मचारी सेवाग्राही कुरेर बसे । त्यसका कारण करिब छ महिनापछि यो सेवा बन्द भयो । सरकारी पदाधिकारी र सेवाग्राही जनताको ‘माइन्डसेट’ परिवर्तन नभई दुईदिने बिदा सफल हुन कठिन छ ।

आवश्यक पूर्वाधार

विकसित मुलुकमा बिहानै खुलेका कार्यालय साँझ मात्रै बन्द हुन्छन् । त्यहाँ कर्मचारी उक्त समयमा काम गर्न रमाएका छन् । कारण, उनीहरू बिहान घरमा पेटभरि ‘ब्रेकफास्ट’ खान्छन् । दिउँसो ‘लन्च’ खाने बानी परेको छ । उनीहरू ‘लन्चबक्स’ घरमै तयार पार्छन् । कार्यालयमा खाना तताउने उपकरण उपलब्ध हुन्छ । लन्च खाने समय छुट्याइएको हुन्छ ।

लन्च खाने मेचटेबुल हुन्छ । चिया, कफी जस्ता सामग्री कार्यालयले उपलब्ध गराउँछ । ‘म्याक्रोओभन’ र फ्रिज कर्मचारीका लागि उपलब्ध हुन्छ । किनेर खान ‘क्याफ्टेरिया’ वा क्यान्टिनको व्यवस्था हुन्छ; जहाँ सहुलियत मूल्यमा गुणस्तरीय खाना उपलब्ध हुन्छ । नेपालमा पनि सरकारी कार्यालय, विद्यालयलगायतमा सहुलियतपूर्ण मूल्यमा दिउँसोको खाना खानेलगायतका प्रबन्ध गर्न सकिए भविष्यमा पनि दुईदिने बिदालाई निरन्तरता दिन सजिलो हुने छ ।

मजदुरका पीडा

समाजमा कैयौँ मानिस दैनिक काम गरेर हातमुख जोर्ने गर्छन् । यस्ता मानिसलाई दुईदिने बिदाले समस्या पर्न सक्छ । दैनिक ज्यालादारीका कर्मचारीले शनिबार चार दिन कट्टी गरी २५/२६ दिनको तलब पाइरहेकामा भविष्यमा महिनामा आठदेखि १० दिनको तलब कट्टा हुन सक्छ । यो भनेको एक तृतीयांश तलब कट्टी हुने हो । यस पाटोबाट पनि समस्याको समाधान खोजिनु पर्छ ।

स्टक मार्केटको कारोबार

हाल नेप्सेको कारोबार हप्तामा पाँच दिन हुने गरेको छ । हप्तामा कार्यालय नै पाँचदिने भएपछि नेप्से कारोबार चार दिन मात्रै हुने हो कि भन्ने चर्चा र चासो बढेको छ । यस्ता विषयमा पनि समुचित सम्बोधन हुन जरुरी छ ।

निजी र गैससको चासो

सरकारी कार्यालय र विद्यालय हप्तामा पाँच दिन खुल्ने भएपछि निजी क्षेत्र, गैरसरकारी क्षेत्रलगायतमा तरङ्ग पैदा भएको छ । ती निकाय सरकारी लयमा चल्ने वा आफ्नै समयसारिणीमा चल्ने भन्ने दुबिधा हुनु स्वाभाविकै हो । विश्वव्यापी अनुभवका आधारमा मुलुकभित्रका सबै निकायमा हप्तामा दुई दिन बिदा दिँदा नै काममा सामञ्जस्य हुन्छ ।

अनुत्तरित प्रश्न

इजरायल–अमेरिका तथा इरानबिचको युद्ध हाल दुई हप्ताका लागि रोकिए पनि यो युद्ध दीर्घकालका लागि अन्त्य गर्ने प्रयास भइरहेको छ । नतिजा सकारात्मक गोरेटोमा छ । यसपछि नेपालका सरकारी कार्यालय र  विद्यालय आइतबार पनि  खुल्छन् कि अब  भविष्यमा  पनि हप्तामा दुई दिन नै बिदा हुन्छ भन्ने प्रश्न निरुत्तरित छ । यसलाई स्पष्ट पार्दै अघि बढ्दा नयाँ कार्यसंस्कृतिको विकासमा मद्दत्त पुग्ने छ ।

निष्कर्ष र सिफारिस

विश्वमा देखिएको विषम परिस्थितिका कारण नेपालमा हाल हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिइएको छ । यसलाई भविष्यपर्यन्त निरन्तरता दिनुपर्ने अभिमत छ पङ्क्तिकारको । यसका लागि हाल नेपालमा कायम भएका चाडपर्व, दिवसलगायतका करिब ३५ दिनको वार्षिक बिदालाई अधिकतम सात वा १० दिनमा सीमित गर्नु पर्छ ।

स्कुलमा विद्यार्थीका जाडो र गर्मी बिदा, परीक्षाका बिदा, वार्षिकोत्सव बिदालगायतलाई अधिकतम १५ दिनको सीमाभित्र राख्नु पर्छ । नेपालभरि तराई, पहाड, हिमाल तथा हिउँद र वर्षा सबै समयमा कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म कायम गर्नु पर्छ ।

यो व्यवस्था सरकारी निकाय र सरकारी स्कुलका साथै निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सहकारी, अन्तर्राष्ट्रिय सङ्घ संस्थालगायत सबैका लागि समान रूपमा लागु हुनु पर्छ । यसरी कामकाजमा सहभागी हुने पेसाविद् र आमनेपालीले बिहान ‘ब्रेकफास्ट’ खाने र दिउँसो ‘लन्च’ खाने नयाँ संस्कृतिको क्रमश: विकास गर्नु पर्छ ।

prabhu mahalaxmi
kumari