संस्कृत भाषाको महत्त्व
भाषा विचार विनिमयको एक महत्त्वपूर्ण साधन हो । भाषा मानव जीवनको प्रमुख आधार हो । भाषा विना मानिस पशु समान हुन्छ । भाषा नै शिक्षा एवम् ज्ञानको प्रमुख आधार हो । भाषाको कारणले नै मानिस संसारको सबैभन्दा सर्वश्रेष्ठ प्राणी बनेको छ । भाषाको विस्तार एवम् विकास नै मानिसको आफ्नो विकास हो ।
भाषाको कारणले नै मानिसले आफ्नो पूर्वजहरूको भाव, विचार एवम् अनुभवहरूलाई सुरक्षित राख्न सफल भएको छ । समाजिक ज्ञान र सामाजिक एकता भाषाकै कारणले सुरक्षित छ । भाषा धेरै प्रकारका छन् । विशेषतः यहाँ संस्कृत भाषाको महत्त्व र आवश्यकतालाई देखाउन खोजिएको छ ।
संस्कृत शब्द सम्+ कृ+ क्त प्रत्यय लागेर यस शब्दको निर्माण भएको छ । सम्को अर्थ उत्कृष्टता हुन्छ । संस्कृत शब्द आफैमा अर्थपूर्ण छ । त्यसैले यसलाई सबै भाषाहरूको राजा अर्थात् उत्कृष्ट भाषाको रुपमा चिनिन्छ । संस्कृत भाषा इतिहासकै सबैभन्दा प्राचीन भाषाको रुपमा परिचित छ । सबै भाषाहरूको जननी भाषा पनि हो । ज्ञान, विज्ञान र साहित्यको विशाल भण्डार रहेको उच्च बौद्धिक र परिष्कृत संस्कृत भाषा प्राचीन समयमा बोलिचालीको लोकभाषा पनि हो ।
संस्कृत भाषा इतिहासकै सबैभन्दा प्राचीन भाषाको रुपमा परिचित छ । सबै भाषाहरूको जननी भाषा पनि हो ।
यसै कारणले विश्वमा आफ्नो छुट्टै अस्तित्त्व स्थापित रहेको छ । यस भाषाको क्षेत्र विशाल छ । देवभाषाको दर्जा दिइएको संस्कृत भाषा आफैमा पूर्णरुपले सक्षम छ । सबैभन्दा रोचक कुरा के छ भने संस्कृत भाषा देश, काल र परिस्थिति अनुरुप बदलिदैन जस्तो छ त्यस्तै रुपमा प्रयोग र उच्चारण हुन्छ । अरुभाषा जस्तो देश, काल र परिस्थिति अनुसार शब्दहरू लुप्त हुँदैनन् ।
संस्कृत भाषा भाषा मात्रै होइन संस्कार र सामाजिक आदर्शको निर्मल दर्पण हो । सर्वे भवन्तु सुखिनः, वसुधैव कुटुम्बकम्, मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव, अतिथिदेवो भव, अहिंसा परमो धर्मः, आचारः परमो धर्मः आदि अमूल्य उपदेशहरू छन् ।
वैदिककाल देखि आजसम्म संस्कृत वाङ्मयको धारा अविछिन्न गतिले प्रवाहित भइरहेको छ । आधुनिकयुगमा आङ्गल ( अङ्ग्रेजी) भाषाको प्रभुत्वको समक्ष पनि संस्कृत भाषाको मह र दिव्यता दिन प्रतिदिन बड्दै गइरहेको छ । संस्कृत भाषाको विविध आयाम र प्रकार छन् । संस्कृत भाषा जति महत्त्वपूर्ण छ त्यति नै व्यापक र गम्भीर छ ।
संस्कृत भाषाले सुरुदेखि आजसम्म आफ्नो अपनत्व कायम गरेको छ संस्कृत भाषाको महत्त्व लाई बुझेर नै संस्कृत भाषाका लागि विदेशीहरू मरिहत्ते गर्छन् । यसबाट संस्कृत भाषाको महानता प्रष्ट हुन्छ । संस्कृत भाषाको तह धेरै तलदेखि अति उच्चतम तहसम्म विभक्त छ ।
संस्कृत भाषा कुनै परिधिमा बाँधिएको भाषा होइन, यसको विशालता,महानता एवम् दौड अनन्तसम्म छ । भाषाविना सृष्टि अपुरो र संसारका मानिस असहाय बन्न पुग्छन् । त्यसैले संसारको व्यवहार चलाउन र प्रत्येक जीवनलाई समुज्ज्वल बनाउन भाषा अपरिहार्य छ ।
आध्यात्मिक साहित्य सबै संस्कृत भाषामा छ । आध्यात्मिक सिद्धान्तलाई प्रचारप्रसार गर्नको लागि आविष्कृत भएको हो । अध्यात्मलाई बुझ्न सर्वप्रर्थम संस्कृत भाषालाई बुझ्नुपर्छ । अध्यात्ममा पूरा मनोविज्ञान लुकेको छ । मानिसलाई सही मार्गदर्शन गर्ने एउटै मार्गदर्शक भनेको अध्यात्म हो । चेतनाको उत्कृष्ट मुहान अध्यात्म हो । अध्यात्मको उत्घोस छ कि अहम् मा बस्नुहुन्छ भने तपाई अस्वस्थ्य हुनुहुन्छ । तपाई स्वस्थ्य हुन अहम् बाट गिर्नुपर्छ र समर्पण चाहिन्छ ।
मानिसले आफूलाई सभ्य, सुसंस्कृत र असल व्यक्ति ठहर गर्न पनि संस्कृत शिक्षा नै आवश्यकता रहेको छ । नैतिकवान्, मर्यादित, कर्तव्यवान्, आदर्शवान्, स्वास्थ्य जीवन जिउने उपाय, इतिहास सम्बन्धि ज्ञान हासिल गर्न, धर्म, कर्म, साहित्य, कला, वैज्ञानिक, प्रविधि लगायतका विभिन्न महत्त्वपूर्ण ज्ञानहरू प्राप्त गर्नको लागि पनि संस्कृत शिक्षाको अध्यायन र अनुसन्धान गर्नुपर्ने हुन्छ ।
नासाले समेत संस्कृतको खोजमा लागेको कुरा त पुरानो भइसक्यो । यति सम्म कि सूर्यको किरणबाट आउने अनडिसेवल आवाजहरू नै ओम् हो जुन संस्कृतकै मूल मन्त्र हो भनेर प्रमाणित गरिसक्यो ।
संसार परिर्वतनशील छ, जो हामी देखिरहेकै छौँ ।
समयानुसार संसारका संरचना र नीति, नियम सबै परिवर्तन, परिमार्जन हुँदै कोल्टे फेर्दै गएको देखिन्छ तर संस्कृत भाषाको दौड अघि बढ्दै गए पनि पूर्ण रूपमा भाषा अलि धिमा गतिमा अघि बढेको पाइन्छ । वर्तमान परिप्रेक्ष्यमा शिक्षामा आएको आधुनिकीकरणले संस्कृत भाषालाई धरापमा पारेको छ । विश्वमा प्रचलित भाषाहरूमध्ये सबैभन्दा प्राचीन श्रेष्ठ, सरल, सव्य संस्कृत भाषा हो । संस्कृत भाषा आफैमा वैज्ञानिक,दिव्य एवम् समृद्ध भाषा हो ।
हामीलाई संस्कृतको जति ज्ञान प्राप्त हुनुपर्ने त्यति ज्ञान प्राप्त हुन सकेको छैन । भाषाको क्षेत्रमा आमूल परिवर्तन आउनुपर्ने आएको देखिँदैन । तसर्थ भाषालाई विश्वमा प्रचारप्रसार गर्नु अत्यन्त आवश्यक छ ।