एएफसी २३ वर्ष मुनिको एसिया कप छनोटमा नेपाल इरानसँग पराजित

काठमाडौं । ताजिकिस्तानमा जारी एएफसी २३ वर्ष मुनिको एसिया कप छनोटमा नेपालले कमजोर शुरुआत गरेको छ । नेपाल बलियो प्रतिद्धन्द्धी ईरानसँग ४–० ले पराजित भयो । अर्पण कार्कीको कप्तानीमा मैदानमा उत्रिएको नेपालले मध्यान्तरसम्म गोल रहित बराबरी खेलेको थियो ।
खेलको १७ औं मिनेटमा पाएको पेनाल्टीलाई पनि ईरानले गोल गर्न सकेको थिएन । तर मध्यान्तरपछि भने नेपालले चार गोल खायो । नेपालको जुनसुकै उमेर समूहमा पनि मध्यान्तरपछिको खेल खस्किँदै आएको छ ।
हारसँगै नेपालको एसिया कपमा छानिने सम्भावना कमजोर भएको छ । नेपाल यसअघि ईरानसँग सन् २०१५ मा ५–० ले पराजित भएको थियो ।
छनोटको समूह बी मा रहेको नेपालले दोस्रो खेलमा बिहीबार ताजिकिस्तानसँग र तेस्रो खेलमा आइतबार लेबनानसँग खेल्नेछ । समूहको शीर्ष तथा दोस्रोमध्ये उत्कृष्ट चार टोलीले एएफसी २३ वर्ष मुनिको एसिया कप खेल्न पाउने छन् ।