फोडेनको ह्याट्रिकमा सिटी विजयी
लन्डन फिल फोडेनको ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सोमबार ब्रेन्टफोर्डलाई ३–१ ले हराएको छ । यो नतिजापछि लिग तालिकाको शीर्ष तीनमा रहेका टिमबीच दुई अंकको दुरी मात्र कायम रह्यो ।
सिटीको ४९ अंक भएको छ र आर्सलनको पनि समान अंक रहेको छ । लिभरपुल दुवै टिम भन्दा दुई अंकले अगाडि छ । तर सिटीले यी दुई टिमको तुलनामा एक खेल कम खेलेको छ ।
यो नतिजासँगै डिफेन्डिङ च्याम्पियन सिटी प्रिमियर लिगकै इतिहासमा घर बाहिरका चार खेल लगातार जित्ने पहिलो टिम बनेको छ । यी चारै खेलमा सिटी सुरुमा पछाडि रहेको थियो ।
ब्रेन्टफोर्डले पनि निल मउपेयको गोलले अग्रता लिएको थियो । त्यसपछि इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीले आफ्नो ह्याट्रिक पूरा गरे । उनले पहिलो हाफको इन्ज्युरी समय, ५३ र ७० औं मिनेटमा गोल गरे ।