stcnepal long ad
global ime bank long

उद्घाटनको दुई सातामै तामाकोसी बन्द

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । पूर्ण तयारीबिनै हतारोमा उद्घाटन गरिएको माथिल्लो तामाकोसीको पहिलो र दोस्रो युनिट दुवैमा समस्या देखिएपछि विद्युत उत्पादन बन्द भएको छ । ४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको यो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट उत्पादन सुरु गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असार २१ मा उद्घाटन गरेका थिए ।

दोलखाको बिगु–१ स्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ।
‘उद्घाटन गर्दा पहिलो युनिटबाट करिब १० मिनेटजति ८ मेगावाट विद्युत् उत्पादन भएको थियो,’ आयोजना स्रोतले भन्यो, ‘प्राविधिक समस्या देखिएपछि लगत्तै पहिलो युनिट बन्द भएको छ ।’ आफ्नै पालामा निर्माण पूरा भएको सन्देश दिन ओलीले पूर्ण परीक्षण नै नगरी आयोजना उद्घाटन गरेका थिए

उद्घाटनको चाँजोपाँजो चाँडो मिलाउन प्रधानमन्त्री कार्यालयले आयोजना व्यवस्थापनलाई दबाब दिँदै आएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी आदेश दिनुअघि नै ओलीले आयोजना उद्घाटन गर्ने इच्छा राखेपछि प्रधानमन्त्री कार्यालयले उद्घाटनको व्यवस्था मिलाउन ताकेता गरेको थियो ।

‘आफ्नै पालामा माथिल्लो तामाकोसी आयोजनाको निर्माण पूरा भएको सन्देश दिन प्रधानमन्त्रीले उद्घाटनको हतारो गर्नुभएको थियो,’ आयोजना व्यवस्थापन स्रोतले भन्यो, ‘उद्घाटन गर्नुअघि पूर्ण परीक्षण नगर्दा अहिले प्राविधिक समस्या देखिएको हो ।’

माथिल्लो तामाकोसीको दोस्रो युनिट पनि मंगलबारदेखि राष्ट्रिय प्रणालीमा जोडिएको थियो तर अहिले दोस्रो युनिट पनि बन्द रहेको भार प्रक्षेपण केन्द्र स्रोतले जानकारी दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीका अध्यक्ष हितेन्द्रदेव शाक्यले आयोजनाको पावर ट्रान्सफर्मरमा समस्या देखिएपछि अहिले कुलेखानी जलविद्युत् आयोजनामा लगेर मर्मत गर्ने काम भइरहेको बताए ।

परीक्षण उत्पादनका क्रममा प्राविधिक समस्या आउने भन्दै उनले यो ‘सामान्य खालको समस्या’ भएको दाबी गरे । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले साउन १५ बाट मात्र आयोजनाले व्यावसायिक उत्पादन थाल्ने भएकाले अहिले परीक्षणका क्रममा सामान्य प्राविधिक समस्या आएको बताए । उनले साउन १५ भित्र आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन सुरु हुने जानकारी दिए ।

माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत् आयोजनास्थलबाट २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यु खिम्ती सबस्टेसन हुँदै खिम्ती–ढल्केबर प्रसारण लाइन मार्फत राष्ट्रिय प्रणालीमा जोडिएको छ । यो आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि वर्षायाममा नेपाल विद्युत्मा आत्मनिर्भर हुनेछ । उच्च माग हुँदा र सुक्खायाममा विद्युत् माग धान्न भारतबाट आयात भइरहेको छ । चैत–वैशाखमा आन्तरिक आयोजनाको उत्पादन घट्दा प्राविधिकले देशभित्र खपत हुने कुल विद्युत्को ६५ प्रतिशतभन्दा बढी ऊर्जा भारतबाट आयात गर्नुपरेको थियो ।

पाँच वर्षमा निर्माण सक्ने लक्ष्यका साथ २०६७ मा सुरु भएको आयोजनाको उत्पादन थाल्ने मिति ६ वर्ष पर धकेलिएको थियो । आयोजनाको तयारी २०६० सालतिरबाटै थालिएको थियो ।

भूकम्पपछि आयोजनास्थलमा गएको पहिरो र त्यसपछिको नाकाबन्दीका कारण साढे दुई वर्ष निर्माण बिथोलिएको थियो । यस्तै, ठेकेदारको ढिलासुस्ती र कोभिडका कारण आयोजना निर्माण चार वर्ष प्रभावित भएको आयोजनाका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताए ।

हाइड्रोमेकानिकल उपकरण जडानका लागि ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याको रेलवे एन्ड इन्जिनियरिङ लिमिटेडको कमजोर कार्यसम्पादनका कारण आयोजनाको गति निकै सुस्त बनेको थियो । भारतीय कम्पनीसँगको सम्झौता आयोजना व्यवस्थापनले असार १५ मा रद्द गरेको थियो । माथिल्लो तामाकोसी आयोजनाले वार्षिक २ हजार २ सय ८१ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ । आजको कान्तिपुर दैनिकबाट

IME Lifesidebar
kumari