आजको मौसम : तीन प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिमी भूभागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक/दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका एक/दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। आगामी तीन दिन मौसममा सुधार आउने सङ्केत नदेखिएको मौसमविद्हरूले जनाएका छन् ।





















