stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

टोखा नगरपालिकाद्वारा राहत सङ्कलन मापदण्ड तयार

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल चैत्र १८, २०७६ मंगलबार

काठमाडौँ । टोखा नगरपालिकाले राहत सङ्कलन मापदण्ड तयार गरेको छ । टोखाको विपद् व्यवस्थापन समितिको बैठकले राहत सङ्कलन तथा वितरणका लागि मापदण्ड तयार गरेको हो । कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर नगरपालिकाका प्रमुखले संयोजन गर्ने गरी नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नेपाल, प्रदेश र स्थानीय सरकारले परिभाषित गरेको कार्यविधिलाई एकीकृत गरेर त्यसका आधारमा समिति गठन गरिएको जानकारी दिनुभयो ।

मापदण्डका आधारमा सङ्कलन भएको राहत नगरपालिकाको संयोजनमा गरिब, निमुखा र विपन्न परिवारलाई वितरण गरिने व्यवस्था मिलाएका छौँ,” उहाँले भन्नुभयो ।

टोखाले तत्कालका लागि भैपरी आउने सम्भावित घटनालाई दृष्टिगत गर्दै प्रत्येक वडामा रु एक लाख रकम पठाउने निर्णय गरेको छ । प्रत्येक वडाबाट राहत वितरण गर्नेगरी मापदण्ड निर्माण गरिएको नगर प्रमुख अधिकारीको भनाइ छ ।

नगरपालिकाले राहत वितरणका लागि प्रत्येक वडामा ‘वडा स्वयम्सेवक दल’ गठन गर्ने भएको छ । आफ्नो वडाका व्यक्तिलाई घरबाट बाहिर ननिस्कन र राहत वितरणलाई प्रभावकारी बनाउन वडा स्वयम्सेवक दल निर्माण गर्न लागिएको हो । नगरपालिका भित्र रहेर खान नपाएका गरिब, निमुखा तथा विपन्न परिवारलाई बिहान ५ देखि ८ बजेसम्म राहत वितरण गर्न लागिएको नगर प्रमुख अधिकारीले बताउनुभयो । राहत मापदण्डअनुसार कुपन बनाएर कुपन अनुसार राहत वितरण गर्ने तयारी भएको छ । सो नगरपालिकामा ११ वडा छन् ।

विदेशबाट आएका ६ जना क्वारेन्टाइनमा

नगरपालिकाले विदेशबाट भर्खरै नेपाल आएका व्यक्तिको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । विशेषत  विदेशबाट आउने व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको सम्भावना धेरै हुने भएपछि विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।

हालसम्म विदेशबाट आउने ६ जनालाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाका उपप्रमुख डङ्गोलले जानकारी दिनुभयो । “तिलिङ्गाटार माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा विदेशबाट आएका ६ जनालाई राखेका छौँ”, उहाँले भन्नुभयो । टोखाले हाल आफ्नो नगरपालिकाभित्र ३८ श्ययाको क्वारेन्टाइनस्थल निर्माण गरिसकेको छ । नगरपालिकाले तिलिङ्गाटार माविमा २५, टोखा प्राथमिक स्वास्थ्य केन्द्र टोखा बजारमा १० र झोर स्वास्थ्य चौकीमा तीन श्ययाको क्वारेन्टाइन निर्माण गरेको हो ।

नगरपालिका भित्र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालनमा छ । उक्त अस्पतालले ३० श्ययाको क्वारेन्टाइन निर्माण गरिसकेको अस्पतालका अध्यक्ष दीपक कुँवरले राससलाई जानकारी दिनुभयो । टोखाले गम्भीर प्रकारको ज्वरो आए उक्त बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउँदै आएको छ ।

नगरपालिकाभित्रका २० स्थानमा हात धुनका लागि पानीका धारा जडान गरिएको छ । नगरपालिकाका सबै चोकमा पानीका धारा जडान गरिएको हो ।

नगरपालिकाका प्रमुख अधिकारीले सरकारले नै कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चैत २५ गतेसम्म लकडाउन घोषणा गरेकाले लक डाउनको समयमा कोही पनि घरबाट बाहिर ननिस्कन आग्रह समेत गर्नुभएको छ ।(रासस)

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long