stcnepal long ad

बैदेशिक रोजगार पत्रकार समाजमा भट्टराई

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई सर्वसम्मतले निर्वाचित भएका छन् । समाजको भदौं २७ गते आइतबार सम्पन्न १२ औ साधारणसभाले आगामी कार्यकालका लागि भट्टराईको अध्यक्षतामा सर्वसम्मतले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

रोजगार मिडियामा आवद्ध भट्टराई यसअघि समाजको बरिष्ठ उपाध्यक्ष थिए । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे , उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे, कोषाध्यक्षमा मनुका कुँवर रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाई निर्वाचित भएका छन। सल्लाहकारहरुमा मदन कुमार श्रेष्ठ, रुद्र खडका, मधुजंग पाण्डे, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन ।

समाजका अध्यक्ष हरिबहादुर थापाको सभापतित्वमा सम्पन्न साधारणसभामा प्रमुख अतिथिका रुपमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, विशिष्ट अतिथिका रुपमा श्रम तथा रोजगार सचिव सुर्यप्रसाद गौतम, अतिथिका रुपमा नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठ, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा समाजद्धारा प्रकाशित स्मारिका ‘श्रम तथा आप्रवासन, कोभिडपछि अवको बाटो’समेत विमोचन गरिएको थियो ।

कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथिका तथा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिरहेको यर्थाथताकाबीच अधिकांश नेपाली रहरले नभई वाध्यताले वैदेशिक रोजगारीमा जानुपरेको र अब ती नेपालीको सुरक्षाबारे सबै पक्षको ध्यान जान जरुरी रहेको बताएका थिए ।

उनले श्रम गन्तव्य मुलुकको अवस्था र सुरक्षित रोजगारीको बारेमा वैदेशिक रोजगारीमा जाने कामदारलाई सुसुचित गराउन सके धेरै समस्या हल हुने भन्दै यो भूमिका खेलिदिनका लागि संचारकर्मीहरुलाई आग्रह गरेका थिए ।

साधारणसभामा श्रम सचिव सुर्यप्रसाद गौतमले कोभिडले आर्थिक गतिविधी ठप्प बनाउदासमेत रेमिट्यान्सकै कारण अर्थतन्त्र चलायमान बनेको भन्दै वैदेशिक रोजगारको क्षेत्रेले पुरयाएको योगदान प्रशंसनीय रहेको बताएका थिए ।

उनले वैदेशिक रोजगारको क्षेत्रलाई सम्मानित, मर्यादित तथा प्रतिष्ठित बनाउन सरकार, नीजि क्षेत्र तथा सरोकारित निकाय सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउदै संचारमाध्यमलाई पनि नकारात्मक भन्दा सकारात्मक ढंगबाट विषय उठान गर्न आग्रह गरेका थिए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा भएका राम्रा र नराम्रा पक्ष औल्याइदिएर समाजले सदैव मार्गदर्शन गरेकोमा आभार व्यक्त गर्दै वैदेशिक रोजगारीमा जाने परिपाटी रोकेर रोक्न नसकिने विषय रहेको र दक्ष जनशक्ति उत्पादनमा जोड दिन सके स्वदेशमै पनि यस्ता जनशक्तिको धेरै खाँचो रहेको र यसरी विदेशिदा कामदार पनि सुरक्षित हुनेमा जोड दिएका थिए ।

महासचिव श्रेष्ठले यस कार्यमा सरकारसँग आफुहरु सहकार्यको लागि तयार रहेको समेत बताएका छन ।

नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले वैदेशिक रोजगारको विषयमा कलम चलाउनेहरु ढिलै भएपनि संस्थागत भएको भन्दै खुसी व्यक्त गर्दै वैदेशिक रोजगारीको क्षेत्र मर्यादित र सम्मानित बनाउन संचारमाध्यमले हरेक कोणबाट औल्याउनुपर्ने बताए ।

बरिष्ठ उपाध्यक्ष विष्टले यस क्षेत्रमा कलम चलाइरहदा पहिलो प्राथमिकता र केन्द्रविन्दुमा श्रमिकको हितलाई राख्नुपर्ने तथा व्यवसायीका समस्या पनि उठाउदै नीति निर्माण तहलाई झकझकाउने काम गर्नुपर्नेमा जोड दिएका छन् ।

वैदेशिक रोजगार तथा आप्रवाशनको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था समाजले भोलिका दिनमा अझ सशक्तढंगबाट अगाडि बढ्ने जनाएको छ ।