सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नु पर्छ: चन्द्रप्रसाद ढकाल
ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यार्थीलाई आफूले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन् ।
आज बागलुङ नगरपालिका(१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयको ७४औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले उनले विद्यालयले मुलुकका ठूला र राष्ट्रिय व्यक्तिहरू उत्पादन गरेको बताए ।
ढकालले विद्यालयको शैक्षिकस्तर र भौतिक पूर्वाधार विकासमा सबैको साथ आवश्यक रहेको उल्लेख गरे ।
विद्यालयका पूर्वविद्यार्थी समेत रहेका अध्यक्ष ढकालले विद्या नै सबैभन्दा ठूलो धन भएकाले यस शाश्वत सत्यलाई बुझेर विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र सिङ्गो समुदाय शैक्षिक सुधारमा लाग्नुपर्नेमा जोड दिए । सैद्धान्तिकरुपमा आर्जन गरेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर व्यावहारिक सीपको विकास गरी उद्यमी बन्न उनको सुझाव थियो ।
अध्यक्ष ढकालले भने, “यो विद्यालयले मुलुकका महत्त्वपूर्ण भूमिकामा रहेर काम गर्ने जनशक्ति उत्पादन गरेको छ, सबै तहमा रहेकाले अब यस विद्यालयको शैक्षिक र भौतिक विकासका लागि लाग्नुपर्ने भएको छ, अब विद्यार्थीले आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर सिर्जनशील बन्नुपर्छ र उद्यमी बन्नेतर्फ ध्यान दिन जरुरी छ ।”
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले पालिकालाई आगामी वर्ष पूर्णबालबालिकमैत्री घोषणा गर्ने गरी काम भइरहेको बताए । सोहीअनुसार विद्यालयको शैक्षिक गतिविधि, भौतिक संरचना सुधार भइरहेको उनको भनाइ थियो ।