stcnepal long ad
global ime bank long

शिक्षक हुन चाहनेहरुको क्षमतामा गम्भिर प्रश्न, ५ प्रतिशत मात्रै उत्तीर्ण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । शिक्षक सेवा आयोगले बुधबार सार्वजनिक गरेको प्राथमिक तहको लाईसेन्स नतिजाले शिक्षक हुन चाहनेहरुको क्षमतामा गम्भिर प्रश्न उब्जाएको छ । आयोगले गत असोजमा लिएको परीक्षाको सार्वजनिक नतिजा अनुसार परीक्षाका सहभागी ६६ हजार ५ सय ६७ जना मध्ये ३ हजार ८ सय ८२ परीक्षार्थी मात्रै उत्तीर्ण भएका छन् ।

यो जम्मा ५ दशमलब ८३ प्रतिशत हो । परीक्षामा सहभागी ५ हजार भन्दा धेरै उम्मेद्वारले उत्तर पुस्तिकामा केही पनि नलेखेको आयोग श्रोतले जनाएको छ । परीक्षामा प्रदेश १ बाट सहभागी ९ हजार ८ सय ११ मध्ये ९ सय ३ जना मात्रै उत्तीर्ण भएका आयोगले जनाएको छ । यसै गरी प्रदेश २ बाट सहभागी १० हजार ६ सय ८९ मध्ये ३ सय ४९, बाग्मतीबाट सहभागी ८ हजार ४८ मध्ये ६ सय ६० र ७ हजार १ सय ३२ सहभागी गण्डकी प्रदेशबाट जम्मा ५ सय २१ मात्रै उत्तीर्ण भएका छन् ।

यसैगरी प्रदेश ५ बाट परीक्षामा सहभागी ११ हजार १ सय ३१ मध्ये ८ सय २७, कर्णालीबाट १२ हजार ७० मध्ये ३ सय ७० र सुदुरपश्चिमबाट सहभागी ७ हजार ६ सय ८१ मध्ये २ सय ५२ मात्रै उत्तीर्ण भएका आयोगले जनाएको छ । प्राथमिक तहका शिक्षक हुन १२ कक्षा उत्तीर्ण हुनु पर्छ । १२ कक्षा पास भएका विद्यार्थीको उत्तरपुस्तिका हेर्दा उनीहरुमा परीक्षाको तयारी गर्नु पर्छ भन्ने भावना क्रमशः हराउँदै गएको भन्दै आयोगका अध्यक्ष ताना गौतमले चिन्ता व्यक्त गरे ।

लोकसेवा आयोगमा सहभागी विद्यार्थीको तथ्याङ्क हेर्दा यस्तो विकराल अवस्था नदेखिए पनि शिक्षक हुन चाहनेहरुको अवस्थाले हाम्रो शैक्षिक उत्पादनमा गम्भिर भएर सोचनु पर्ने अवस्था आएको उनको भनाई छ ।

‘हाम्रा शैक्षिक संस्थाहरुले कस्ता विद्यार्थी उत्पादन गरिरहेका छन् भन्ने प्रष्ट चित्र देखाएको छ, यसले समग्र शिक्षा प्रणालीमै प्रश्न उठाएको छ’ उनले भने ‘परीक्षा प्रणाली कडा भएर यस्तो भयो भन्न पनि सकिन्छ तर उत्तरपुस्तिकाहरु हेर्दा परीक्षार्थीमा परीक्षा प्रतिको गम्भिरता देखिदैंन यो चिन्ताको विषय हो ।

‘ गत फागुन र चैतमा सार्वजनिक निम्न माध्यमिक तथा माध्यमिक तहको नतिजा पनि सन्तोषजनक थिएन । विषयगत रुपमा सार्वजनिक ती तहका परीक्षामा पनि सरदर १७ १८ प्रतिशतको हाराहारी मात्रै उत्तीर्ण भएको आयोग श्रोत बताउँछ ।

शिक्षक हुन ईच्छुक व्यक्तिहरुको यस्तो अवस्थाले शैक्षिक प्रणालीको समग्र सुधारमा केन्द्रित हुन ढिलो गर्न नहुने संकेत देखाएको बताउँछन् आयोगका प्रशासकीय प्रमुख बैकुण्ठ अर्याल ।

‘नतिजा पटक्कै सन्तोष जनक देखिएन, यस्तो हुनुका पछाडी हाम्रो शैक्षिक प्रणालीको दोष हो की, विद्यालय वा विश्व विद्यालयको शैक्षिक कृयाकलापमा पो केही सुधार गर्नु पर्ने हो भन्ने विषयमा सोच्नु पर्ने बनाएको छ’ उनले भने ‘शिक्षामा सुधारका लागि बालबालिका पढाउने जनशक्ति उत्पादनको प्रवेश विन्दुमै ध्यान दिईएन भने अवस्था झन् विकराल हुन सक्ने देखाएको छ ।’

IME Lifesidebar
kumari