डिप्रोक्स लघुवित्तको नाफा घट्यो
आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा डिप्रोक्स लघुवित्तको नाफा घटेको छ । यसअवधिमा नाफा ८.०१% ले खस्किएर २६ करोड ४२ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले २८ करोड ७२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस असरको न्यनीकरणका लागि लक डाउन गरिए पश्चात त्यसको प्रत्यक्ष प्रभाव लघुवित्त कम्पनीहरुमा पनि देखिएको छ ।
लक डाउनका कारण कर्जा असुली लगायतका कामहरु ठप्प हँुदा लक्ष्य अनुसार प्रगति हुन नसकेको डिप्रोक्सको भनाई छ । यसअवधिमा कम्पनीको खराब कर्जा ह्वातै बढेको छ भने सञ्चालन नाफा घटेको छ ।
यसले पनि खुद नाफामा प्रत्यक्ष असर गरेको हो । चैत मसान्तसम्म खराब कर्जा १.७% ले बढेर २.५८% पुगेको छ ।
यता, सञ्चालन नाफा भने ३२.३३% ले घटेर २६ करोड २० लाख ३० हजार रुपैयाँमा खुम्चिएको छ । यता, खुद ब्याज आम्दानी भने बढेको छ । चैत मसान्तसम्म डिप्रोक्सको प्रतिसेयर आम्दानी वार्षिक ३५ रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ९४ पैसा रहेको छ ।

























