वैशाख २ गतेबाट सर्वसाधारणका लागि सीवाइसी नेपाल लघुवित्तको आइपीओ बिक्री खुला हुने
काठमाडौं । सीवाइसी नेपाल लघुवित्तको वैशाख २ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला हुने भएको छ । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
यस अनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा वैशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले सीवाइसी नेपालको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस’ प्रदान गरेको छ ।
जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल प्रबन्धक रहेको छ ।























