साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश दिने

काठमाडौं । निजी क्षेत्र,सर्वसाधारण र सरकारको लगानी अर्थात पिपिए मोडलको नमुना र उदाहरणयुक्त पब्लिक कम्पनीका सञ्चालन हुँदै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५८ ओैं साधारणबाट शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ ।
कर्पोरेशनले आर्थिक वर्ष २०८०/८१ मा आर्जित गरेको १ अर्ब ४ करोड ९७ लाख रुपैयाँ मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने निर्णय चैत्र १५ गते शुक्रबार सम्पन्न भएको ५८ ओैं साधारण सभाबाट पारित गरेको कर्पोरेसन स्रोतले बताएको छ।
कर्पोरेसनका सञ्चालक समितिका अध्यक्ष प्रदीपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न ५८ ओैं साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सानीको विवरण, नगद प्रवाह विवरणका साथै लेखा नीतिउपर छलफल गरी पारित गरेको थियो ।
अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ को कारोबार समष्टिगतमा मूल्याङ्कन गरी व्यापारिक कारोबार सन्तोषजनक रहेको र वित्तीय क्षेत्रको लगानी पनि उपलब्धिमूलक रहेको विवरण प्रस्तुत गरेका थिए ।
सो आर्थिक वर्षमा नुन, खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुको गरी १३ अर्ब ३५ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार गरेको उनले जानकारी दिएका थिई।
कर्पोरेशनले गत असोज ११,१२ र १३ गते रोशी र सुनकोशी नदीलगायतमा आएको भीषण बाढीले गरेको जनधनको क्षतीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा कर्पोरेशन र कर्मचारीहरूका तर्फबाट ६० लाख रुपैयाँ आर्थिक सहयोग रकम उपलब्ध गराएको थियो ।
कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी खास वस्तुहरूमा लागत मूल्यभन्दा कम मूल्यमा सामान बिक्री गरी सामाजिक उत्तरदायित्वसमेत वहन गरेको थियो। यसैगरि दशैं,तिहार र छठ पर्वको बेलामा सहुलियत मुल्यमा दैनिक उपभोग्य वस्तु बिक्री गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका थिए ।
कर्पोरेशनले सरकारबाट प्राप्त अनुदानमा आवश्यक मात्रमा रासायनिक मल बिक्री गर्नुका साथै रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न गैर–अनुदानित रासायनिक मल एमुनियक सल्फेट र सिङ्गल सुपर फस्फेट मल कृषकहरूलाई उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरि अध्यक्ष श्रेष्ठले नेपाल सरकारको नीतिको अवलम्बन गर्दै मुलुकभर गुणस्तरीय वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न नवीनतम् एवं सिर्जनशील कारोबार खोजी गर्दै व्यापार विविधीकरणतर्फ उन्मुख रहेको बताएका छन ।
साल्ट ट्रेनिङ कर्पोरेसनले सुपथ मुल्यमा वस्तु तथा सामान बिक्री गरेर राम्रो मुनाफा आर्जन गरि आफ्ना सेयर धनीलाई आर्थिक मन्दीको अवस्थामा पनि १० प्रतिशत लाभांश दिएर सन्तुष्ट पारेकामा सबै सेयर धनीहरूले सञ्चालक र व्यवस्थापकलाई धन्यवाद दिएका छन ।